logo
२०८१ असोज ४ शुक्रवार



बौद्ध विश्वविद्यालयमा अनलाइन पढाई हुने

शिक्षा |


बौद्ध विश्वविद्यालयमा अनलाइन पढाई हुने



भैरहवा समाचारदाता
भैरहवा, बैशाख २ गते । लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसले अनलाईनको माध्यमबाट विद्यार्थीहरुलाई पढाउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण प्रत्यक्ष कक्षा सञ्चालन गर्न असमर्थ भएपछि अनलाइनको माध्यमबाट कक्षा सञ्चालन गर्न थालिएको विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले जानकारी दिनुभयो ।

“अनलाइन कक्षा सञ्चालन गर्नका लागि अहिले विश्वविद्यालयले शिक्षक अभिमुखीकरण कक्षाहरु सञ्चालन गरिरहेको छ”–रजिष्ट्रार आचार्यले भन्नुभयो । विश्वविद्यालयले सवै तह र संकायका विद्यार्थीहरुलाई सूचना प्रविधिको माध्यमबाट सिकाउने छ ।

विद्यार्थीहरुको समूह बनाउने र शिक्षकहरुलाई तयारी अवस्थामा राख्ने काम पूरा भएपछि केही दिनमा नै अनलाईन कक्षाहरु सुरु हुने विश्वविद्यालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले बताउनुभयो ।

विश्वविद्यालयले आफ्ना सवै शिक्षक तथा प्राविधिक कर्मचारीहरुलाई प्रशिक्षित गराइरहेको बताउँदै क्याम्पस प्रमुख न्यौपानेले विद्यार्थीहरुले घरमै बसेर शिक्षकसँग पढ्न पाउने र प्रश्न समेत सोध्न सक्ने व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो ।
विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न लागेपछि विद्यार्थीहरु समेत तयारी अवस्थामा रहेको लुम्बिनी बौद्ध विश्वविद्यालय विद्यार्थी कल्याणकारी परिषदका उपाध्यक्ष जयकिसन अधिकारीले बताउनुभयो ।

स्नातक र स्नाकोत्तर तह पढाइ हुने यस विश्वविद्यालयमा बौद्ध अध्ययन संकाय, मानविकी तथा समाजशास्त्र संकाय र विकास अध्ययन तथा एप्लाईड साईन्स संकायको पढाइ हुने गर्दछ । विश्वविद्यालयका सातवटा सम्वन्धन प्राप्त क्याम्पसहरुमा १२ सय बढी विद्यार्थीहरुले अध्ययन गर्ने गरेको विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ ।
बौद्ध दर्शन, साहित्य र संस्कृतिको अध्ययन गर्ने उद्देश्यका साथ यो विश्वविद्यालय वि.सं. २०६३ सालमा स्थापना भएको हो । यसको केन्द्रीय क्याम्पस लुम्बिनीमा रहेको छ । यस क्याम्पसमा नेपाली तथा विदेशी विद्यार्थीहरुले अध्ययन गर्दछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?