logo
२०८१ असोज ४ शुक्रवार



सामुदायिक विद्यालयमा अनलाइन अध्यापन

शिक्षा |
मुख्य समाचार |


सामुदायिक विद्यालयमा अनलाइन अध्यापन


शेषकान्त पण्डित

काठमाडौँ, वैशाख १० गते । सर्वसाधारण विद्यार्थी अध्ययन गर्ने भनेर परिचय बनाएका सामुदायिक विद्यालयहरू पनि अनलाइन प्रविधिबाट पठनपाठन अगाडि बढाउन सक्षम रहेको पाइएको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण विद्यार्थीलाई अनलाइनबाट अध्यापन गराउन विद्यालयमा यसको पहुँचबारे भर्खरै तथ्याङ्क लिन प्रारम्भ गरेको बेला सामुदायिक विद्यालयले भने अनलाइन प्रविधिबाट पढाउन नै सुरु गरेका छन् ।
ललितपुरको आदर्श सौल युवक माविले केही दिनेदेखि विद्यार्थीलाई अनलाइन प्रविधिको माध्यमबाट पठनपाठन गराउन थालेको छ । विद्यालयका प्रधानाध्यापक सरोजभक्त आचार्यले एसईई दिने १६२ जना विद्यार्थीलाई चारवटा समूह बनाएर ग्रुप च्याट (समूह कुराकानी)बाट अध्यापन गराउने कार्य भइरहेको जानकारी दिनुभयो ।
विद्यार्थीलाई समूहमा नै प्रश्न पठाइदिएर गणित, अङ्ग्रेजी लगायतका विषयको अध्यापन गराएको जनाइएको छ । विद्यार्थीले समूहमै नजानेको कुरा सोध्ने र समूहमै छलफल गरेर अध्ययन गराउने गरिएको छ । कक्षा १० का प्रायः विद्यार्थी सम्पर्कमा रहेका र सिकाइलाई प्रविधिको माध्यमबाट निरन्तरता दिइएको जनाइएको छ ।
काठमाडौँको जनपथ माविले सामाजिक सञ्जालबाट एक सातादेखि विद्यार्थीलाई पढाउन थालेको छ । यस क्रममा अङ्ग्रेजी, गणित र अतिरिक्त गणित अध्यापन गराउने शिक्षकले पढाउने र गृहकार्यसमेत दिने गरेका छन् । हाल १५ जना विद्यार्थी यो माध्यममा जोडिएका छन् । काठमाडौँमा बसेका विद्यार्थी प्रविधिसँग जोडिए पनि बाहिरका विद्यार्थीसँग सम्पर्क हुन कठिनाइ भइरहेको बताइएको छ ।
डिल्लीबजारस्थित विजय स्मारक माविले प्रविधिबाट विद्यार्थीलाई पढाउन सुरु गर्दैछ । म्यासेन्जर या युट्युबबाट विद्यार्थीसँग सम्पर्क स्थापित गर्ने प्रयास गरिएको प्रअ डिल्लीप्रसाद शर्माले जानकारी दिनुभयो । शिक्षाविद् डा. विद्यानाथ कोइरालाले सङ्कटका बेलामा पनि शिक्षक चुप लागेर बस्न नहुने भन्दै प्रविधिको प्रयोग गरेर पढाउने विकल्प अगाडि बढाउनुपर्ने बताउनुभयो ।

रुचि जगाउने चुनौती
प्रविधिबाट पढाउन थाले पनि विद्यार्थीलाई अध्यापनमा रुचि जगाउन समस्या भएको प्रअहरूको भनाइ छ । कोरोनाको त्रासका कारण विद्यार्थीले पढ्नेतर्फ राम्रो वातावरण बनाउन नसकेको जनपथ माविका प्रअ जितबहादुर लामिछानेले जानकारी दिनुभयो । पढाइमा विद्यार्थीको रुचि र लगाव देखिन केही समय लाग्ने आकलन प्रअहरूको छ । प्रअहरूले आफ्ना विद्यार्थीलाई उत्प्रेरित गरिरहेका छन् ।
एसईईका विद्यार्थी धेरै मानसिक तनावमा देखिएको र दैनिक तीन÷चार जना विद्यार्थीले परीक्षाका बारेमा जिज्ञासा राख्ने गरेको विजय स्मारक माविका प्रअ शर्माले जानकारी दिनुभयो ।
ललितपुरको आदर्श सौल युवक माविले विद्यार्थीलाई मोबाइल प्रयोगमा प्रेरित गरेको जनाएको छ । विगतमा विद्यार्थीले फेसबुक मात्रै चलाउने, मोबाइलले कक्षामा समस्या ल्याउने तथा अभिभावकले समेत आफ्ना बालबालिका मोबाइल मात्र चलाउँछन् भन्ने गुनासो गरेपछि विद्यार्थीलाई मोबाइल प्रयोगमा निषेध गरिएको थियो । तर अब भने प्रविधिबाट केही कुरा सिक्न विद्यार्थीलाई मोबाइल प्रयोगमा प्रोत्साहित गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।

पहुँचबारे तथ्याङ्क आउँदै
शिक्षा तथा मानव विकास स्रोत केन्द्रले भने विद्यालयमा प्रविधिको पहुँच कस्तो छ भन्ने विषयमा भर्खरै तथ्याङ्क लिन सुरु गरेको छ । विद्यार्थीको सिकाइमा प्रविधिको प्रयोग तथा यसको पहुँच नपुगेका विद्यार्थीका लागि अलग्गै योजना बनाउन केन्द्रले नयाँ तथ्याङ्क लिन लागेको हो ।
यस क्रममा इन्टरनेटको पहुँच पुगेका विद्यालय, नेपाल टेलिभिजन तथा स्थानीय टेलिभिजनको पहुँच पुगेका विद्यालय, रेडियो नेपाल तथा एफएमको पहुँच पुगेका विद्यालय तथा कुनै पनि विद्युतीय माध्यमको पहुँच नपुगेका विद्यालयका बारेमा तथ्याङ्क लिइने भएको हो । केन्द्रका शाखा अधिकृत रुद्र भट्टराईले वैशाख १५ भित्र सबै विवरण आउने जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?