logo
२०८१ जेष्ठ ७ सोमवार



स्वदेशमै गुणस्तरीय शिक्षाको बहस

शिक्षा |


स्वदेशमै गुणस्तरीय शिक्षाको बहस


चाँदनी हमाल

काठमाडौँ, वैशाख २१ गते । नेपालको परम्परागत सीप र ज्ञानसँग जोड्दै विश्वका नयाँ सिकाइलाई शिक्षा क्षेत्रमा केन्द्रित गरी रोजगारमैत्री बनाउन सकिने निष्कर्ष विज्ञहरूले निकालेका छन् ।
परराष्ट्र मन्त्रालयले शनिबारदेखि सुरु गरेको साताव्यापी वेबिनार शृङ्खलाको बहसमा स्वदेशी र विदेशी विज्ञले देशको मौलिक सीपलाई आधुनिक शिक्षाको कसी लगाउँदै उपयोगी शिक्षा दिने वातावरण स्वदेशमै बनाउनुपर्नेमा जोड दिएका हुन् ।
विदेशमा रहेका नेपालीको सीप, ज्ञान र अध्ययनलाई नेपालको समृद्धिमा प्रयोग गर्ने उद्देश्यसहित ब्रेनगेन सेन्टरको आयोजनामा भएको सेमिनारको पहिलो शृङ्खलामा ‘उच्च शिक्षा र अनुसन्धान तथा अन्तर्राष्ट्रिय प्रवृत्ति र स्थानीय सहकार्य’ विषयमा बहस केन्द्रित थियो । युट्युब, फेसबुक र जुुम साइटबाट प्रत्यक्ष प्रसारण हुने गरी समूहगत शैलीको वेबिनारमा स्वदेशका अनुभव र विदेशका सिकाइको आदानप्रदान गरिएको थियो । ब्रेनगेन सेन्टर परराष्ट्र मन्त्रालयअन्तर्गत नीति, योजना, विकास कूूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखाअन्तर्गत छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निर्देशन र रेखदेखमा ब्रेनगेन सेन्टरका संयोजक सन्तोष गौतमले स्वदेश र विदेशमा रहनुभएका विज्ञलाई एकै थलोमा ल्याउने सहजीकरण गर्नुभएको छ । बहसका क्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष शिवलाल भुसालले त्रिभुवन विश्वविद्यालय विश्वका विभिन्न क्षेत्रसँग सहकार्य गरेर उच्च शिक्षा प्रभावकारी बनाउन प्रयासरत रहेको जानकारी दिनुभयो ।
अमेरिकाका विज्ञ श्याम शर्मा, कृष्ण विष्ट लगायतले पाँच सय प्राध्यापकलाई भर्खरै मात्र अनलाइन कक्षा प्रभावकारी बनाउने तालिम दिएको जानकारी दिँदै उहाँले थप आठ हजारलाई दक्ष बनाउने अभियानमा सक्रिय रहेको स्पष्ट पार्नुभयो ।
विज्ञ केशव भट्टराईले भूगोल र सहरी विकास, विशाल सिटौलाले नर्वेको द्वन्द्व व्यवस्थापन र शान्ति, रामहरि सुवेदीले साइबर सेक्युरिटी, फिजिक्समा मेग महत, रामचन्द्र राई, नरेशमान शाक्य, रुद्र काफ्ले, मुकेश धमला लगायतले आफ्ना सिकाइ नेपालका लागि योगदान गर्नुभएको थियो । केशव महर्जन, दिवाकर आचार्य, आलोक बोहरा लगायतले पनि विभिन्न विश्वविद्यालयसँग जोडिएर त्रिविलाई सहयोग गरेको उहाँको जनाउनुभयो । अबको दिनमा नेपालको परम्परागत ज्ञान र सीपसँग जोडेर आधुनिक शिक्षालाई अघि बढाउनुपर्नेमा जोड दिइएको छ । काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. अमिना सिंहले गुणात्मक शिक्षामा जोड दिनुभयो । लिटल एन्जल कलेजका स्मृति पन्तले कृषि, पर्यटन र शिक्षासम्बन्धी परियोजनामा अमेरिकाको अध्ययन प्रभावकारी रहेको बताउनुभयो । काठमाडौँ विश्वविद्यालय डा. बालचन्द्र लुइँटेलले आधुनिक शिक्षाका विद्यार्थीलाई सामाजिक सेवातर्फ लानुपर्ने सुझाउनुभयो । “नवउदारवादी सोचलाई अझ फराकिलो बनाउँदै विज्ञान र प्रविधिसँग मानविकी विषय जोड्नुपर्छ भन्नेमा लागेका छौँ”, उहाँले भन्नुभयो ।
सन् २०१५ देखि आईसीटीसँग पनि विद्यालय शिक्षा कसरी जोड्न सकिन्छ भन्नेमा आफ्ना परियोजनाले ध्यान दिएको उहाँले बताउनुभयो । खुला विश्वविद्यालय बेलायतका डा. पृथ्वी श्रेष्ठले बेलायतको उच्च शिक्षाको क्षेत्रमा देखिएको प्रवृत्तिका बारेमा जानकारी दिनुभयो । रोजगारमूूलक शिक्षामा धेरै अध्ययन र कार्यान्वयन भएकाले नेपालमा पनि त्यो लागूू गर्न सकिन्छ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । पहिलेको जस्तो कागजी शिक्षा नभएर दिगो असर विद्यार्थीमा होस् र जे सिकेर जान्छ काम गर्ने ठाउँमा उपयोगी होस् भन्नेमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
काठमाडौँ विश्वविद्यालयका प्राध्यापक रोशनी राजवंशीले विद्यार्थी गुणस्तरीय शिक्षाकै लागि विदेशिएको औँल्याउँदै त्यो खालको शिक्षा स्वदेशमा दिने वातावरण बनाउन विदेशी विज्ञले सघाउन सक्ने विचार राख्नुुभयो । अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ हेल्थका विज्ञ डा. रोशनलाल श्रेष्ठले नेपालको शिक्षाले बहुआयामिक क्षेत्रमा मिलेर काम गर्ने बानी बसाल्नुपर्ने बेला आएको सुझाव दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?