logo
२०८१ असोज ४ शुक्रवार



त्रिविमा अनलाइन पठनपाठन : स्नातकोत्तरका पढ्दै, स्नातकको अत्तोपत्तो छैन

शिक्षा |
मुख्य समाचार |


त्रिविमा अनलाइन पठनपाठन :  स्नातकोत्तरका पढ्दै, स्नातकको अत्तोपत्तो छैन



शेषकान्त पण्डित

काठमाडौँ, जेठ २८ गते । त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा सञ्चालित स्नातकोत्तर तहको अनलाइन कक्षामा विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । स्नातक तहमा अनलाइन कक्षा सञ्चालन त के धेरै विद्यार्थीको अझै अत्तोपत्तो लाग्न सकेको छैन ।
कोरोना भाइरसको सङ्क्रमणपछि विश्वविद्यालयले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी अनलाइन कक्षा सञ्चालनमा ल्याउन वैशाख पहिलो साता क्याम्पसलाई निर्देशन दिएको थियो । विश्वविद्यालयको निर्देशनपछि धेरै क्याम्पसले विद्यार्थीको सेमेस्टर खेर नजाने गरी वैशाख दोस्रो साताबाटै अनलाइन कक्षा सञ्चालनमा ल्याएका थिए ।
पब्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख बलराम थापाले स्नातकोत्तर तहमा सञ्चालित अनलाइन कक्षा प्रभावकारी हुँदै गएको बताउनुभयो । क्याम्पसले व्यवस्थापनतर्फ एमबीएसमा प्रथम, दोस्रो र चौथो सेमेस्टरको पढाइ अनलाइनबाट सञ्चालन गरेको हो ।
क्याम्पस प्रमुख थापाका अनुसार चौथो वर्षका विद्यार्थीलाई प्रस्तावना लेखन तथा शोधपत्र लेखनको कक्षा चलाइएको छ । यसमा ८० प्रतिशत विद्यार्थीको सहभागिता छ । साथै पहिलो र दोस्रो सेमेस्टरका कक्षा पनि सञ्चालन गरिएका छन् र यसमा विद्यार्थीको परीक्षा हुन बाँकी रहेका विषयको मात्र पठनपाठन सञ्चालन गरिएको छ । यसमा झण्डै ५० प्रतिशत विद्यार्थीको सहभागिता छ ।
स्नातक तहमा भने अनलाइन कक्षाको प्रभावकारिता न्यून छ । स्नातकमा बीबीए तहको कक्षाको दोहो¥याएर पढाउने छ भने बीबीएस प्रथम वर्षमा क्याम्पसले अनलाइन कक्षा सञ्चालनमा त ल्याएका छन् तर एक हजार विद्यार्थीमा ३० विद्यार्थीको पनि सहभागिता छैन । स्नातक तहका विद्यार्थी पनि खोज्यौँ, धेरै पहाडी जिल्लाका विद्यार्थी घरमा पुगेका छन्, उनीहरूसित अनलाइनको पहुँच नभएका कारण कक्षा प्रभावकारी हुन सकेको छैन –क्याम्पस प्रमुख थापाले बताउनुभयो ।
शिक्षा शास्त्रको पठनपाठन हुने राजधानीको महेन्द्ररत्न क्याम्पसमा स्नातकोत्तर तहमा अध्यापन हुने नौवटा विषयमा वैशाखबाटै अनलाइन कक्षा सञ्चालन भइरहेको छ । शिक्षकलाई आवश्यक तयारी गरेर अनलाइन कक्षा सञ्चालन गरिएको उल्लेख गर्दै क्याम्पस प्रमुख कृष्णप्रसाद ढकालले केही विषयमा ८० प्रतिशतसम्म विद्यार्थीको सहभागिता रहेको जानकारी दिनुभयो ।
सो क्याम्पसमा पनि स्नातक तहको कक्षा सञ्चालन हुन सकेको छैन । क्याम्पसमा स्नातक तहमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने भए पनि अझै विद्यार्थीसित क्याम्पसले सम्पर्क स्थापित गर्न सकेको छैन ।
क्याम्पस प्रमुख ढकालले स्नातक तहका विद्यार्थीको अनलाइन कक्षा सञ्चालन गर्ने उद्देश्यले विद्यार्थीको अभिलेखीकरण गर्ने काम पूरा गरिएको जानकारी दिनुभयो । अनलाइनबाट विद्यार्थीको कक्षा चलाउन त सकिने भए पनि उनीहरू कहाँ पुगेका छन् भनेर फेला पार्न नै आफूहरूलाई समस्या भएको क्याम्पस प्रमुख ढकालले बताउनुभयो ।
व्यवस्थापन विषय अध्यापन हुने शङ्करदेव क्याम्पसमा एमबीएस कार्यक्रममा ६० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा जोडिएका छन् । क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले स्नातकतर्फ बीबीएस कार्यक्रम भने सञ्चालन हुन नसकेको जानकारी दिनुभयो । विश्वविद्यालयले लगानी नगरेको र क्याम्पस आफैँले सञ्चालन गरेको बीबीए, बीबीएम लगायतका कार्यक्रममा भने विद्यार्थीको उपस्थिति ९० प्रतिशतको हाराहारीमा रहेको छ । विश्वविद्यालयले विद्यार्थीको सेमेस्टर खेर नजाओस् भन्ने हिसाबले अनलाइन कक्षा सञ्चालन गरेको र त्यो सफल हुने उहाँको भनाइ छ ।
सेमेस्टर प्रणालीबाट स्नातकोत्तर तहको पठनपाठन हुने विश्वविद्यालयका केन्द्रीय विभागमा वैशाख दोस्रो साताबाटै अनलाइन कक्षा सञ्चालन गरिएको छ ।
केन्द्रीय विभागमा पीएचडी तथा एम.फिल तहमा अनलाइन कक्षा निकै प्रभावकारी भएको र झण्डै शतप्रतिशत विद्यार्थी सहभागी हुने गरेको समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. टीकाराम गौतमले जानकारी दिनुभयो । यसअघि ती तहका विद्यार्थीलाई अनलाइनबाटै अध्ययन सामग्री पठाउने गरिएको र विद्यार्थी पनि सहरमा बस्ने तथा प्रविधिमा पहुँच भएका कारण कक्षा सञ्चालन प्रभावकारी भएको जनाइएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?