logo
२०८१ मंसिर ९ आईतवार



उदयपुरमा अनलाइन शिक्षण प्रभावकारी

शिक्षा |


उदयपुरमा अनलाइन शिक्षण प्रभावकारी


गाईघाट, असार १२ गते । उदयपुर जिल्लाको अधिकांश निजी तथा आवासीय विद्यालयहरूले शुरुआत गरेका अनलाइन शिक्षण प्रभावकारी हुन थालेको छ । असार महिना शुरु हुनासाथ जिल्लाका अधिकांश ती विद्यालयहरूले सो प्रविधिबाट घरघरमा बसेका विद्यार्थीलाई शिक्षण प्रक्रिया शुरु गरेका थिए । विद्यार्थी अनलाइन शिक्षाप्रति निकै आकर्षित हुन थालेको सम्बन्धित विद्यालय शिक्षक शिक्षिकाहरू बताउँछन् ।

त्रियुगा नगरपालिका–११ गाईघाट प्याराडाइज स्कुलका प्राचार्य बाबुराम आचार्यका अनुसार आफूहरूले जेठ महिनादेखि नै अनलाइन विधिबाट घरघरमा बसेका विद्यार्थीहरूलाई शिक्षण कार्य शुरु गरेको र अहिले प्रत्येक कक्षाका ८० प्रतिशतभन्दा बढी विद्यार्थीहरू अनलाइन शिक्षामा संलग्न रहेको बताउनुभयो ।

शुरुमा अनलाइन शिक्षण शुरु गर्दा पाँच प्रतिशत विद्यार्थीहरू मात्र सहभागी भएको भए पनि अहिले दैनिक अनलाइन शिक्षामा संलग्न हुने विद्यार्थीहरूको सङ्ख्या बढ्दैगएको उहाँले जानकारी दिनुभयो ।

पिसजोन एकेडेमीले पनि असारको शुरुदेखि नै आफ्ना विद्यालयमा आबद्ध विद्यार्थीहरूका लागि अनलाइन शिक्षा शुरु गरेपछि अहिले सत्तरी प्रतिशतभन्दा बढी विद्यार्थी अनलाइन शिक्षामा आबद्ध भएको विद्यालयका सहायक प्राचार्य प्रभात कर्ण जानकारी दिनुभयो । शुरुमा पाँच प्रतिशत विद्यार्थीमात्र अनलाइन शिक्षामा सहभागी भए पनि दश दिनभित्र यो सङ्ख्या वृद्धि भएर सत्तरी प्रतिशत पुगेको समेत उहाँले बताउनुभयो ।

गाईघाट क्यान्भास एकेडेमी स्कुल कक्षा ९ की छात्रा अस्मिता थापा अनलाइन पढाइको विषयमा आफू सन्तुष्ट रहेको र सबै पढेका विषयहरू आफूले प्रस्ट बुझ्ने गरेको बताउँछिन् । उहाँले भन्नुभयो “अहिले विद्यालयका सरहरूले हामी कक्षा ९ का विद्यार्थीहरूलाई गणित, विज्ञान,अङ्गे्रजी लगायतका विषयहरू अनलाइनबाट पढाइ रहनुभएको छ, घरमै अनलाइनमा बसेर सबै कुरा बुझिरहेका छौँ, अनलाइन पढाइबाट सन्तुष्ट छौँ ।”

त्रियुगा नगरपालिका–४ बगाहाका जयन्ता खड्काले अनलाइन शिक्षा प्रभावकारी नै देखिएको बताउनुभयो । निजी विद्यालयहरूको सङ्गठन प्याब्सन तथा एन प्याब्सन उदयपुरका अनुसार अहिले जिल्लामा एक सय दशवटा निजी तथा आवासीय विद्यालयहरू रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?