logo
२०८१ असोज ४ शुक्रवार



नौ करोडको लागतमा विद्यालय निर्माण

शिक्षा |


नौ करोडको लागतमा विद्यालय निर्माण


मकवानपुर समाचारदाता

हेटौँडा, असार ३१ गते । मकवानपुरको थाहा नगरपालिका–११ स्थित टिस्टुङमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । अत्याधुनिक विद्यालय भवन निर्माणसँगै विद्यार्थीहरू भूकम्पले भत्किएको भवनमा त्रासका बीच पढ्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।
२०७२ सालमा आएको भूकम्पले विद्यालय भवन क्षतिग्रस्त बनेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जापानी सहयोग नियोग (जाइका)को ऋण सहयोगमा बागेश्वरी माध्यमिक विद्यालयको भवन निर्माण गरेको हो ।
आगामी साउन महिनाभित्र सम्पन्न गर्ने गरी २०७५ मङ्सिरबाट निर्माण सुरु गरिएको विद्यालय भवन तोकिएको समय अगावै निर्माण पूरा भएको छ । स्वच्छन्द÷खानी जेभी निर्माण कम्पनीको तर्फबाट निर्माण कार्यको संयोजन गर्दै आउनुभएका सुमन गोलेले कम्पनीले गत चैतमा नै सम्पन्न गर्ने गरी निर्माणको काम गरिरहेकोमा बन्दाबन्दीका कारण निर्माण कार्य तीन महिना धकेलिएको बताउनुभयो । उहाँले विद्यालय भवन निर्माण गर्ने स्थल परिवर्तनसँगै निर्माणकै क्रममा काम थपिएकाले निर्माणको समय लम्बिएको भन्दै विद्यालय हस्तान्तरणका लागि तयारी अवस्थामा रहेको छ भन्नुभयो । ग्याभिन जाली भर्ने, टेवा पर्खाल निर्माण, फर्निचर लगायतका एक करोड रुपियाँभन्दा बढीको काम थपिएको थियो ।
तीन तलाको तीनवटा विद्यालय भवन जाइकाको आठ करोड ९५ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको हो । करिब पाँच रोपनी जग्गामा निर्माण सम्पन्न विद्यालय भवनमा विज्ञान ल्याब, पुस्तकालय, कम्प्युटर कक्षा, ईसीडी कक्षाका लागि फर्निचर लगायतका पूर्वाधार पर्याप्त छ । बागेश्वरी माविसहित १२ वटा विद्यालय भवन प्याकेजमा निर्माण सुरु गरिएकोमा ११ वटा विद्यालय भवन निर्माण भएर विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण भइसकेको छ ।
विद्यालयका प्रधानाध्यापक वीरमान स्याङ्तान नयाँ विद्यालय भवन निर्माणसँगै भूकम्पले क्षतिग्रस्त विद्यालय भवन र टहरामा त्रासमा पढ्नु र पढाउने पर्ने बाध्यता हटेको बताउनुहुन्छ । भूकम्पले क्षतिग्रस्त पुरानै भवन र टहरामा त्रासका बीच विद्यार्थी पढ्दै आएका थिए । उहाँले अब निर्धक्कसँग पढ्न र पढाउन पाइने भइयो । गत शैक्षिक सत्रमा ५८० जना विद्यार्थी रहेको जानकारी दिँदै प्रधानाध्यापक स्याङ्तानले नयाँ शैक्षिक सत्र सुरु हुने वैशाखबाट नयाँ भवनमा पढाउने लक्ष्य बनाइएकोले बन्दाबन्दीका कारण धकेलिएको बताउनुभयो । उहाँका अनुसार दुई वटा भवनका १८ वटा कक्षामा पढाइ गरिने छ भने एउटा भवन प्रशासनिक लगायतका कार्यका प्रयोगमा ल्याइने छ ।
विद्यालयमा हाल माध्यमिक तहमा राहत शिक्षक तीन, निम्न माध्यमिक राहत शिक्षक तीन, प्राथमिक तहको दरबन्दीका छ र बाल विकासतर्फका एक जना शिक्षक अध्यापनरत छन् । विद्यालयमा साबिकको टिस्टुङ गाउँ विकास समिति अर्थात् हालको थाहा नगरपालिका ११ र १२ नम्बर वडाका बालबालिका अध्ययनरत छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?