logo
२०८१ मंसिर ९ आईतवार



सिसडोलका विद्यार्थीलाई छात्रवृत्ति दिन ५० लाख रुपियाँ बजेट  

शिक्षा |
समाज |


सिसडोलका विद्यार्थीलाई छात्रवृत्ति दिन ५० लाख रुपियाँ बजेट  
फाइल फाेटाे


शर्मिला पाठक

काठमाडौँ, साउन १७ गते । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहाेर व्यवस्थापन हुँदै आएका नुवाकोट सिसडोलका प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न काठमाडाैँ महानगरले ५० लाख रुपियाँ छुट्याइएको छ । सिसडोलमा लामो समयसम्म फाेहाेर थुपारिँदा प्रत्यक्ष रुपमा पीडित विद्यार्थीका लागि छात्रवृत्ति दिने कामपाले जनाएको छ ।    
    
विगत वर्षमा राहत कोषमार्फत सहयोग गर्दै आएको कामपाले यस वर्षदेखि ५० लाख रुपियाँको वार्षिक बजेटमा नै समावेश गरेको छ । यस वर्षदेखि पीडित परिवारका पढ्न चाहने विद्यार्थीलाई कामपाले काठमाडौँमा नै ल्याएर पठनपाठनको व्यवस्था गर्नेछ ।     
    
यसरी प्रभावित स्थानबाट ल्याइएका बालबालिकालाई विद्यालयस्तर सम्मको शिक्षा पूरा गरिदिने काठमाडाैँ महानगरपालिकाको नीति रहेको छ । यसरी छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीमा सिसडोलमा थुपारिएका फाेहाेर सङ्कलन गर्न जाँदा ज्यान गुमाएका अभिभावकका छोराछोरी तथा फाेहाेर बोकेर गएको गाडीको दुर्घटनामा परी ज्यान गुमाउनेको छोराछोरी रहने छन् । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख कपरकुमार श्रेष्ठका अनुसार यसअघिका वर्षमा राहत कोषमार्फत अध्ययन गर्नेहरुमा दुई जना छन् ।    
    
हरेक वर्ष पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकालाई फाेहाेर व्यवस्थापन गर्न थप समस्या हुने गरेका भए पनि अहिले नियमित फाेहाेर व्यवस्थापन भएको दाबी छ । केही स्थानमा फाेहाेर उठेको छैन भन्ने जनगुनासो आएपनि सबै स्थानमा फाेहाेर उठेको कामपाको भनाइ छ । “अन्य समयमा भन्दा बर्सादको समयको फाेहाेर बढी उत्पादन हुने र समयसमयमा बाटो बिग्रने हुँदा कहिलेकाहीँ समस्या आए पनि अहिले समस्या छैन”, वातारण विभागका प्रमुख श्रेष्ठको भनाइ छ ।    
    
यदि कहीँ फाेहाेर नउठेको भए कामपाको हटलाइन नं १११८ मा फोन गर्न पनि विभागले आग्रह गरेको छ । समस्या फाेहाेर लानका लागि मात्रै होइन व्यवस्थापनको पनि उत्तिकै छ । हाल फाेहाेर व्यवस्थापन गरिरहेको स्थान सिसडोल भरिसकेकाले त्यस स्थानभन्दा केही तल फाेहाेर विसर्जन हुँदै आएको छ ।    
    
सिसडोलभन्दा दुई किलोमिटर पर एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम अघि बढ्न सकेको छैन । उक्त स्थान निर्माणका लागि करीब रु तीन अर्ब रकम र कम्तीमा दुई वर्षको समय लाग्ने अनुमान गरिएको छ । यही असारदेखि फाेहाेर कार्य शुरु गर्ने भने पनि कोरोना सङ्क्रमणको कारण भएको बन्दाबन्दीले गर्दा निर्माणको धेरै काम अझै बाँकी छ । लामो समयदेखि काम अघि नबढेपछि प्रत्येक वर्ष वर्षातको समयमा फाेहाेर विसर्जन कार्य समयास्याको विषय बन्दै आएको छ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फाेहाेर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । जसमा सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फाेहाेर लगिने गरिएको छ ।    
    
हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फाेहाेर लाने गरिएको छ । वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्टो पर्ने हुँदा लामो समयसम्म पनि फाेहाेर उपत्यकामा नै रहने समस्या कुनै नौलो भने होइन । उपत्यकाको अठार स्थानीय तहबाहेक नुवाकोटको ककनी गाउँपालिका र धादिङ जिल्लाको धुनिबेँसी नगर क्षेत्रको फाेहाेर पनि ल्यान्डफिल साइटमा आउने गरेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?