logo
२०८१ असोज ५ शनिवार

  शैक्षिक गतिविधि चलायमान राख्ने नयाँ प्रयास  



पूर्वाञ्चल विश्वविद्यालय ‘टाइम बाउण्ड होम एक्जाम’ लिँदै

शिक्षा |


पूर्वाञ्चल विश्वविद्यालय ‘टाइम बाउण्ड होम एक्जाम’ लिँदै


इश्वरचन्द्र झा
काठमाडौँ, भदौ १६ गते । नेपालमा पहिलो पटक पूर्वाञ्चल विश्वविद्यालयले प्रविधिमा आधारित परीक्षा प्रणालीको अभ्यास गर्न लागेको छ । यसअघि काठमाडौँ विश्वविद्यालयले प्रविधिमै आधारित रहेर लकडाउनकै समयमा परीक्षा सञ्चालन गरेपनि पूर्वाञ्चल विश्वविद्यालयले परिचय गराएको ‘टाइम बाउण्ड होम इक्जाम’को अवधारणा पहिलो पटक अभ्यास गर्न लागिएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा. डा. सूर्यराज सङ्ग्रौलाले परीक्षाको कार्याविधिलाई आजै अन्तिम रुप दिइने जानकारी दिनुभयो । ‘टाइम बाउण्ड होम इक्जाम’ अन्तर्गत परीक्षार्थीले घरमै बसेर परीक्षा दिन पाउने छन् । परीक्षा नियन्त्रक डा. सङ्ग्राैलाले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने र समय अनुकूल प्रविधिलाई अभ्यासमा ल्याउन यसप्रकारको परीक्षा प्रणाली परिचय गराएको बताउनुभयो ।

कान्तिपुर सिटी कलेजका प्रोग्राम संयोजक राजिव तिमल्सिनाले समयानुकूल परीक्षा पद्धतिमा परिवर्तन ल्याउनु आवश्यक देखिएकोले विश्वविद्यालयको निर्णय स्वागतयाेग्य रहेको प्रतिक्रिया दिनुभयो । पूर्वाञ्चलमा आबद्ध उक्त कलेजले इन्जिनियरिङ्ग, सूचना प्रविधिसँगै मानविकी र व्यवस्थापन सङ्कायतर्फ पठनपाठन गराउँदै आएको छ । संयोजक तिमल्सिनाले कलेजमा अध्ययनरत करिब सात सय नियमित विद्यार्थी विश्वविद्यालयको परीक्षामा सहभागी हुने जानकारी दिनुभयो ।

विश्वविद्यालयले हाल सेमेष्टर प्रणालीमा आधारित नियमिततर्फका विद्यार्थीले मात्रै प्रविधिमा आधारित परीक्षामा सहभागी हुन पाउने निर्णय गरेको छ । इन्टरनेटको पहुँचमा नभई सहभागी हुन नसक्ने विद्यार्थीको हकमा समेत विश्वविद्यालयको कार्याविधिले स्पष्ट व्यवस्था गरेको छ । जसबमोजिम सहभागी हुन नसकेका विद्यार्थी अर्को पटक भौतिक उपस्थित भएर परीक्षा दिँदा नियमितमै गणना हुनेछन् ।

परीक्षा लिने कलेजले हाल विद्यार्थीहरूको तथ्याङ्क अद्यावधिक गर्न जुटेका छन् । संयोजक तिमल्सिनाले विद्यार्थीको इन्टरनेटमा पहुँच, परीक्षामा सहभागी हुन सक्ने वातावरण लगायतबारेमा तथ्याङ्क जुटाउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

प्राज्ञिक परिषद् र कार्यकारी परिषद्को बैठकले निर्णय गरेपछि परीक्षा नियन्त्रकले नियमिततर्फको परीक्षाको मिति निर्धारण गरेको छ । असोज पहिलो साताबाट सुरु हुने परीक्षा प्रविधिमा आधारित हुनेछ । यद्यपि परीक्षाको विषय तालिका मिति प्रकाशन भइसकेको छैन ।

सकारात्मक र नकारात्मक पक्ष रहेपनि समयानुकूल निर्णयले विद्यार्थीको भविष्य खुला गर्ने हुनाले विश्वविद्यालयको निर्णय स्वागत्योग्य रहेको तिमल्सिनाले बताउनुभयो । परीक्षा खुला हुने भएकोले विद्यार्थीले नोट्सको सहयोग लिन पाउनेछन् । परीक्षा नियन्त्रक डा. सङ्ग्राैला भन्नुहुन्छ, “परीक्षा खुला हुने भएपनि सबै परीक्षार्थीले एउटै मार्क्स पाउने सम्भव हुन्न, विद्यार्थी क्षमताको मूल्याङ्कन सकभर उचित नै हुनेमा विश्वस्त छौँ ।”

देशकै सबैभन्दा पुरानो र ख्यातिप्राप्त त्रिभुवन विश्वविद्यालय परीक्षा सञ्चालन सम्बन्धमा अन्यौलमा रहेको छ । हजारौँ छात्रछात्रा शैक्षिक सत्र नै खेर जाने चिन्तामा छन् । तर पूर्वाञ्चल विश्वविद्यालयले प्रविधिमा आधारित परीक्षा प्रणालीको अवधारणा ल्याउँदै परीक्षाको मिति सार्वजनिक गरेपछि त्रिभुवन विश्वविद्यालयमाथि समेत दबाब परेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयले इन्जिनियरिङ्ग, व्यवस्थापन र मानविकी सङ्कायको विभिन्न विधामा सम्बन्धन दिँदैआएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. सूर्यराज सङ्ग्राैलाका अनुसार विश्वविद्यालयको पाठ्यक्रम हाल १२८ क्याम्पसमा पठनपाठन भइरहेको छ । विश्वविद्यालयको आठ वटा आङ्गिक क्याम्पस छन् ।

नियमित परीक्षा नहुँदा पूर्वाञ्चल विश्वविद्यालयका इन्जिनियरिङ्गतर्फका करिब दुई हजार पाँच सय विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । व्यवस्थापनतर्फका करिब तीन हजार र मानविकी सङ्कायतर्फका करिब दुई हजार विद्यार्थीको शैक्षिक सत्र अन्योलमा परेको थियो । विश्वविद्यालयमा इन्जिनियरिङ्गका २७ विधाको पठनपाठन हुँदै आएको छ । मानविकी सङ्कायतर्फ मात्रै ६४ वटा ‘प्रोग्राम’ छन् ।

के हो कार्याविधि ?
विश्वविद्यालयले परीक्षा कार्याविधि तयार गरिसकेको छ । ‘टाइम बाउण्ड होम एक्जाम’मा प्रत्येक कलेजलाई परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा पहिला प्रश्न पत्र इमेलमा पठाइनेछ । कलेजले उक्त प्रश्नपत्र परीक्षाको निर्धारित समयभन्दा १५ मिनेट पूर्व परीक्षार्थीको इमेलमा पठाउनेछन् । परीक्षार्थीले उत्तरपुस्तिकामा प्रश्नको उत्तर तोकिएको समयभित्र लेख्नुपर्नेछ । र उत्तरपुस्तिकाको तस्बिर वा स्क्यान गरेर परीक्षार्थीले कलेजलाई पठाउनुपर्नेछ । विश्वविद्यालयको कार्याविधिमा उत्तरपुस्तिकाको तस्बिर संलग्न गर्न वा स्क्यानका लागि विद्यार्थीलाई अतिरिक्त समय प्रदान गर्ने व्यवस्था गरिएको नियन्त्रक डा. सङ्ग्राैलाले प्रष्ट्याउनुभयो ।
परीक्षा नियन्त्रक डा. सङ्ग्राैलाले कलेजले उक्त उत्तरपुस्तिका इमेलमै पठाउने र विश्वविद्यालयले प्रिन्ट गरेर परीक्षणका लागि विषय शिक्षक कहाँ पठाउने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?