logo
२०८१ बैशाख २८ शुक्रवार



सिरहाका विद्यालय पुनः बन्द

शिक्षा |


सिरहाका विद्यालय पुनः बन्द


सन्तोष सुवेदी

सिरहा, असोज १९ गते । सार्वजनिक यातायातका साधन खुलेलगत्तै सञ्चालनमा आएका सिरहाका संस्थागत विद्यालय जिल्ला प्रशासन कार्यालय सिरहाको निर्देशनमा सोमबारदेखि पुनः बन्द गरिएको छ ।

लहान नगरपालिकाले गत असोज ७ गतेदेखि नगर क्षेत्रका विद्यालय सञ्चालन गर्न स्वीकृति दिएपछि सोही मितिदेखि लहानमा संस्थागत विद्यालय सञ्चालनमा आएको थियो । पछि अन्य स्थानीय निकायले समेत विद्यालय सञ्चालन गर्न फुकुवा गरेपछि गत असोज ११ गतेदेखि जिल्लाभरीका निजी तथा आवासीय शैक्षिक संस्थाहरु सञ्चालनमा आएको थियो ।

तर विद्यालयले स्वास्थ्य मापदण्ड पुरा नगरेकाले आफ्ना बालबालिकालाई विद्यालय पठाउँदा कोरोनाको जोखिम बढ्न सक्ने भन्दै गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार जारी गरेको २४ घण्टे उर्दीपछि सिरहाका विद्यालयहरु सोमबारदेखि पुनः बन्द भएका छन् । अभिभावकहरुले विद्यालयले मुख्य गेटमा सेनिटाइजर राखेको देखाइएपनि कक्षाकोठा र खेलकुदको समयमा कुनै पनि स्वास्थ्य मापदण्ड नअपनाइएको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले उक्त उर्दी जारी गरेको बताइएको छ ।

‘प्रशासनले गोप्य रुपमा गरेको निगरानीको आधारमा सञ्चालनमा रहेका अधिकांश विद्यालयमा स्वास्थ्य मापदण्ड नपु-याइएकोले विद्यालय बन्द गर्न लगाएको हौं’, सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले भन्नुभयो–कोरोना कहरको बीच विद्यालय सञ्चालन गरेको खण्डमा जुनसुकै विद्यार्थी पनि संक्रमणको सिकार हुन सक्ने भएकोले विद्यालय बन्द गर्नु आवश्यक थियो । प्रमुख जिल्ला अधिकारी कणेलले जिल्ला प्रशासन कार्यालय सिरहाको सूचनालाई बेवास्ता गरी विद्यालय सञ्चालन गरेको पाइएमा सरुवा रोग संक्रमण ऐन २०२० अनुसार कारबाही चलाउने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?