logo
२०८१ असोज ५ शनिवार



राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमबाट पठनसीपमा सुधार   

शिक्षा |


राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमबाट पठनसीपमा सुधार   
सांकेतिक तस्बीर


काठमाडौँ, असोज २७ गते। विद्यार्थीको सिकाइमा केन्द्रित भई शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यका साथ पाँच वर्षअघि शुरु गरिएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले सिकाइको दायरा फराकिलो भएको छ । कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइ सीपको विकासमा जोड दिएको सो परियोजनाको सन् २०१८ मा गरिएको मध्यावधि मूल्याङ्कनअनुसार उक्त तहका बालबालिकाको पठनसीप र बोध क्षमतामा राम्रो सुधार भएको जनाइएको छ ।

उक्त पाँचवर्षे परियोजनाबारे मन्त्रालयले दातृ निकायका प्रतिनिधिसहित सरोकार पक्षसँग गरेको तीनदिने छलफल कार्यक्रमको पहिलो दिन आज यसका उपलब्धिबारे अवगत गराइएको हो । विसं २०७२ मा अमेरिकी सहायता नियोग युएसएआइडी नेपालको प्राविधिक सहयोगमा सञ्चालित सो परियोजना १६ जिल्लाबाट शुरु भई हाल तेस्रो चरणमा मुलुकका ३५ जिल्लामा विस्तार भएको छ । चौथो चरणमा ७७ वटै जिल्लामा विस्तार गर्ने लक्ष्य छ । 

छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको जनाउँदै उक्त परियोजनाले बालबालिकाको पढाइ क्रियाकलापमा सहयोग गरेको पाउँदा खुशी लागेको बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले परियोजनाले उच्चशिक्षाका लागि दरिलो जग खडा गरेको उल्लेख गर्दै बालबालिका रमाउँदै पढ्दै गर्ने राम्रो अभ्यासको थालनी भएको बताउनुभयो ।

विद्यालय क्षेत्र सुधार कार्यक्रमको एक अङ्गका रुपमा लिइएको सो परियोजनाले सामुदायिक विद्यालयको सक्षमता र गुणस्तर सुधार गर्न प्राथमिकता दिएको मन्त्रालयका सहसचिव डा तुल्सीप्रसाद थपलियाले जानकारी दिनुभयो । पाँच वर्षमा कुल ७१ मिलियन अमेरिकी डलरमध्ये २५ मिलियन युएसएआइडीले र बाँकी नेपाल सरकार तथा विद्यालय क्षेत्र विकास कार्यक्रमको पुलिङ विकास साझेदारले व्यहोर्ने उल्लेख छ ।

शिक्षामा कार्यरत नागरिक समाजका प्रतिनिधिले भने यस्ता परियोजना सञ्चालन गर्दा स्थानीय तह र समुदाय तथा सबै पक्षलाई परिचालन गर्न र परियोजनाका सबै विवरण पारदर्शी गर्न माग गर्दै आएका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?