logo
२०८१ असोज ६ आईतवार



भौतिक उपस्थितिमै पठनपाठन, ९८ प्रतिशत विद्यालय पुनःनिर्माण सम्पन्न

शिक्षा |


भौतिक उपस्थितिमै पठनपाठन, ९८ प्रतिशत विद्यालय पुनःनिर्माण सम्पन्न


विदुर आचार्य
चौतारा, मंसिर १६ गते । कोभिड–१९ संक्रमणका कारण ठप्प रहेको शैक्षिक सत्रको सुरुवात भएको छ । गत आइतबारबाट आंशिक रुपमा सुरु भएको पठनपनठन यो साताबाट जिल्लाका अधिकांश विद्यालयहरुमा पठनपाठन सुरु भएको स्थानीय तहहरुले जनाएका छन् । लामो समयदेखि बन्द रहेका जिल्लाका माध्यमिक, आधारभूत र बालशिक्षासमेत सञ्चालनमा आएका छन् । शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्ड अपनाई बन्द रहेका विद्यालय खोलेर कक्षा सञ्चालन गर्न अनुमति दिए सँगै स्थानीय सरकारले स्वास्थ्य मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गरेको जनाएका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाले विद्यालयमा अध्ययन अध्यापन शुरु गर्ने निर्णय गरेसँगै सबै सामुदायिक र निजी विद्यालय खुलेको नगरपालिकाका प्रशासकिय अधिकृत कृष्णप्रसाद पाण्डेले बताउनुभयो । ‘कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डलाई पूर्णरूपमा पालना गर्ने र भौतिक दूरी कायम गर्दै विद्यालय खोलेर आइतबारदेखि पढाइ शुरु गर्न भनेका छौँ ।’ पाण्डेले भन्नुभयो । अत्याधिक विद्यार्थीको चाप रहेको सदरमुकाम चौताराको कृष्ण रत्न गंगा माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा पाँचसम्म एक दिन र दोस्रो दिन कक्षा छ देखि १० सम्म पठनपाठन हुने गरी कक्षा सञ्चालन सुरु भएको विद्यालयले जनाएको छ ।
असोज महिनाको पहिलो साताबाट नै स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराई पठनपाठन सुरु गर्न मेलम्ची नगरपालिका र त्रिपुरा सुन्दरी गाउँपालिकमा नियमित पठनपनठन भैरहेको छ । ‘विद्यालयमा आवश्यक मास्क, सेनिटाइजर, थर्मलगन, सावुनलगायतका सामाग्री उपलब्ध गराई विद्यालय सुचारु गर्न भनेका छौ ।’ त्रिपुरासुन्दरी गाउँपालिका–३ का अध्यक्ष शुकदेब रिसालले भन्नुभयो । अध्यक्ष रिसालले स्वास्थ्य समस्या भएका र ज्वरो आएका विद्यार्थीलाई फर्काउने गरिएको वताउनुभयो ।
बलेफी गाउँपालिकामा अधिकांश विद्यालयमा पढाई सुरु भएको शिक्षा शाखा प्रमुख सलबहादुर पाण्डेले बताउनुभयो । ‘आइतबार बाट सबै विद्यालयमा पढाइ सुरु भएको छ’, प्रमुख पाण्डेले भन्नुभयो, । कक्षा १२ को परीक्षा सुरु भएसँगै विद्यालयमा निरन्तर कक्षा सञ्चालन भएको पाण्डेले बताउनुभयो ।
जिल्लाका सामुदायिक विद्यालय सँगै निजी विद्यालयहरुले पनि कक्षा सुरु भएको जनाएका छन् ।
विद्यालयमा हात धुने पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अनिवार्यरूपमा विद्यालयमा थर्मलगन राखी विद्यार्थीको तापक्रम जाँच गर्नेलगायत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन गर्न विद्यालयलाई स्थानीय तहले पत्राचार गरेको जनाएका छन् ।

विद्यालय निर्माण अन्तिम चरणमा

विनाशकारी भूकम्पले शतप्रतिशत ध्वस्त बनाएको सिन्धुपाल्चोकको विद्यालय भवन निर्माणले पूर्णता पाउने क्रम जारी छ । जिल्ला कार्यान्वयन एकाइ (शिक्षा) ले भौतिक निर्माणको काम ९८ प्रतिशतमा पुगेको जनाएको छ । भूकम्पमा परी जिल्लाभरका पाँच सय तीन विद्यालयमा क्षति पुगेको थियो । एकाइले अघिल्लो दुई आर्थिक वर्षमा दुई सय छ विद्यालय भवन निर्माण सम्पन्न भएको जनाएको छ । त्यस्तै जिल्लाभर दुई सय दश विद्यालय भवन गैह्र सरकारी संस्थाहरुले निर्माण सम्पन्न गरेका जनाएको छ । ‘आर्थिक वर्ष ०७६÷०७७ मा निर्माण सम्पन्न हुनुपर्ने ४२ विद्यालय लगडाउन र ढिला अक्तियारीका कारण निर्माणकै क्रममा छन । भारतीय दूतावासले निर्माण सुरु भएका नौ र चिनीया दूतावासले निर्माण गर्ने एक विद्यालय भवन निर्माणको क्रममा छन् ।’ जिल्ला कार्यान्वयन एकाइका प्रमुख यम खड्काले जानकारी दिनुभयो । निर्माणको क्रममा रहेका विद्यालय भवनको प्रगति नब्बे प्रतिशत माथि रहेको खड्का वताउनुहुन्छ । कार्यालयका अनुसार बिद्यालय भवन निर्माणको लागि चिनीया दूतावासद्धारा निर्माण गरिने दुई सहित उपयूक्त जग्गा अभावका कारण जिल्लाभरका चार बिद्यालय भवन निर्माण सुरुवातको प्रारम्भिक चरणमा छन् ।
‘जिल्लाभर तीन हजार ३९१ कक्षाकोठा तयार भई पठनपाठन सुरु भैसकेको अवस्था हो’, जिल्ला कार्यान्वयन एकाइका ईन्जिनियर अनिलकुमार यादवले भन्नुभयो, ‘५९२ कक्षाकोठा तत्काल निर्माण सम्पन्न हुने अवस्थामा पुगेका छन् ।’ यादवका अनुसार निर्माण सम्पन्न भएका विद्यालयमा खानेपानी, शौचालय, आवश्यक डेक्स वेन्च सहित भौतिक सामाग्रीको उपलब्धता छ । ‘उपयूक्त जग्गाको अभाव र दक्ष कामदारको परिपूर्ति नहुँदा विद्यालय निर्माण केही समस्या देखिएको हो । निर्माण सामाग्रीको पर्याप्तता र ग्रामीण सडकमा ढुवानी पनि विद्यालय निर्माणको क्रममा देखिएका समस्याहरु हुन् ।’ यादवले भन्नुभयो ।

भवन निर्माणपछि मर्जर

भूकम्पपछि क्षति पुगेका जिल्लाका पाँच सय तीन विद्यालय निर्माण सुरु भएको जिल्ला आयोजान कार्यान्वयन एकाइ (शिक्षा) को बिवरण छ । इकाइले जिल्लाभरका अधिकांश विद्यालय निर्माण सम्पन्न गरेको जनाएको छ । विद्यालय भवन निर्माण सम्पन्न हुँदै गर्दा कतिपय विद्यालयहरु विद्यार्थी नभएको भन्दै स्थानिय तहले मर्ज गरी सञ्चालन सुरु भएको छ । विद्यालय मर्ज गरेपछि निर्माण भैसकेका कतिपय विद्यालयहरु खाली भएका छन् । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ अनुसार यो वर्षको शैक्षिक सत्रको सुरुदेखि हालसम्ममा १६ विद्यालय स्थानिय सरकारले मर्ज गरेको जनाएको छ । मेलम्ची नगरपालिकाले सवैभन्दा बढी आठ विद्यालय यसै वर्ष मर्ज गरेको छ । पाँचपोखरी गाउँपालिकाले तीन र चौतारा साँगाचौकगढी नगरपालिकाले पाँच विद्यालय मर्ज गरेका छन् । विनासकारी भूकम्प ०७२मा जिल्ला भरका पाँच सय तीन विद्यालयमा क्षति पुगेको र पुननिर्माणको क्रम सुरु गरिएको कार्यालयको तथ्याङ्क छ । यो वर्ष १६ र अघिल्लो वर्ष आठ विद्यालय स्थानिय सरकारले मर्ज गरेको छ । मर्ज भई खाली भएका कतिपय विद्यालयको संरक्षणमा बेवास्ता बढेपछि वडा कार्यालयको संरक्षमा प्रयोग गरिने तत्कालिन ब्यवस्था सुरु गरिएको मेलम्ची नगर प्रमुख डम्वर अर्याल वताउनुहुन्छ । चौतारा साँगाचोकगढी नगरपालिका–४को सेतीदेवी पञ्चकन्या माविमा गाभिएपछि खाली रहेको जाल्पादेवी आधारभूत विद्यालय भवनमा सेतीदेवीमा सञ्चालित प्राविधिक कक्षा सञ्चालनको तयारी रहेको विद्यालयले जनाएको छ । विद्यालय मर्ज भए पनि बालबिकास केन्द्र र बैकल्पिक कक्षा सञ्चालनमा भवन प्रयोग हुने जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी रमाकान्त अर्याल बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?