logo
२०८१ बैशाख ६ बिहीवार



चिकित्सा शिक्षा : अदालतको आदेशपछि परीक्षा तय

शिक्षा |


चिकित्सा शिक्षा : अदालतको आदेशपछि परीक्षा तय


सरोज ढुङ्गेल

काठमाडौँ, पुस ३ गते । सर्वोच्च अदालतले चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षा गर्न आदेश दिएपछि पुस १८ गतेदेखि परीक्षा सञ्चालन हुनेभएको छ ।
स्नातकोत्तर तहमा आरक्षणसम्बन्धी मुद्दा सर्वोच्च अदालतले बुधबार टुङ्ग्याएपछि चिकित्सा शिक्षा आयोगले परीक्षाको मिति तोकेको हो । परीक्षा सात महिना ढिलाइ हँुदा तयारी अवस्थामा रहेका विद्यार्थी अन्योलमा रहेको समाचार गोरखापत्रले मङ्सिर २० गते प्रकाशित गरेको थियो ।
चिकित्साशास्त्र स्नातकोत्तर तहमा अध्ययन गर्नका लागि आठ हजार चिकित्सक तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा छन् । गत जेठ महिनामा हुनुपर्ने स्नातकोत्तर तहको प्रवेश परीक्षा हालसम्म हुन सकेको थिएन ।
जेठ महिनामा हुने परीक्षा चिकित्सा शिक्षा आयोगले गत असोज २७, २८ र २९ गतेका लागि तय गरेको थियो । आयोगविरुद्ध विभिन्न मुद्दा अदालतमा परेपछि परीक्षा रोकिएको थियो ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा. श्रीकृष्ण गिरीले अदालतले परीक्षा गर्न आदेश दिएसँंगै पुस १८, १९ र २० गते परीक्षा सञ्चालन हुन लागेको जानकारी दिनुभयो । प्राडा. गिरीले स्नातकोत्तर तहको परीक्षामा अर्थोपेडिक, न्युरो सर्जरी लगायतका विषयमा परीक्षा लिइने बताउनुभयो ।
यसअघि विदेशी विद्यार्थी भर्नाको विषय, चिकित्सा शिक्षा ऐनमा समानुपातिक कोटा नछुट्याएका कारण, सरकारी चिकित्सकले सरकारी सेवामा कार्यरत अस्थायी, करार र प्रतिष्ठान र विकास समितिमा कार्यरत चिकित्सक सरकारी चिकित्सकसरह मान्यता नदिन सर्वोच्चमा मुद्दा हालेका थिए ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?