logo
२०८१ असोज ६ आईतवार



‘जोखिम कायमै छ, विद्यालय पुनःसञ्चालन नगर्नुस्’

शिक्षा |


‘जोखिम कायमै छ, विद्यालय पुनःसञ्चालन नगर्नुस्’
स्केच: केशवराज खनाल


काठमाडौँ, पुस ३ गते । कोभिड–१९ महामारीको जोखिम अझै कम नभएको भन्दै कामपाले तत्काल विद्यालय पुनः सञ्चालन नगर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेको छ । केही दिनअघि विज्ञसँगको छलफलमा कामपाले कम्तीमा पनि यही पुस एक महिना विद्यालय नखोल्न र वैकल्पिक अध्ययन अध्यापनको माध्यमलाई निरन्तरता दिन भनेको छ । काठमाडौँ उपत्यकामा भाइरसको सङ्क्रमण कुन अवस्थामा छ, यकिन छैन अहिले जाडो मौसम छ सामान्य अवस्थामा अहिले विद्यालय बन्द नै रहन्थे । यो मौसम भाइरस फैलिन उपयुक्त भएकाले पनि विद्यालय खोल्न हत्तारिनु हुँदैन छलफलमा विज्ञले सुझाव दिनुभयो ।

पछिल्लो समय पाँच हजारको परीक्षण गर्दा कम्तीमा पनि एक हजारमा भाइरस पोजेटिभ देखिएको भन्दै कामपाले तत्काल भौतिक सहभागितामा विद्यालय पुनःसञ्चालन नगरी वैकल्पिक माध्यमलाई नै निरन्तरता दिन सुझाएको हो । महामारी नियन्त्रणमा आइनसकेको अवस्थामा विद्यालयको शैक्षिक गतिविधि अगाडि बढाउन गत कात्तिक २० गते मन्त्रिस्तरीय निर्णयले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ स्वीकृत गरी स्थानीय तहलाई जिम्मा दिएको थियो ।

यही निर्णयलाई आधार मान्दै सञ्चालनमा आएका केही विद्यालय पनि सङ्क्रमण देखिएपछि पुनः बन्द रहेको भन्दै कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले अहिले कोभिडको डर कम भए पनि सङ्क्रमणको खतरा कम नभएको बताउनुहुन्छ । काठमाडौँ र ललितपुर र भक्तपुरका केही स्थानमा घनाबस्ती भएकाले जोखिम पनि बढी नै छ । यहाँ सङ्क्रमण हरेक दिन देखिएकै छ, विद्यालय सञ्चालन गरेपछि छात्राबास खोल्ने कुरा आउँछ । विद्यालयका सवारी चलाउने कुरा आउँछ । त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, विद्यालय खोल्न हतार गरेर भोलि थेग्न नसक्ने समस्या निम्त्याउनु हुँदैन । बरु वैकल्पिक शिक्षालाई नै मजबुद बनाउने ढकालले भन्नुभयो । हाल कामपामा ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालय छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?