logo
२०८१ असोज ६ आईतवार



भौतिक उपस्थितिमै पढ्न पाउँदा विद्यार्थी खुसी

शिक्षा |


भौतिक उपस्थितिमै पढ्न पाउँदा विद्यार्थी खुसी
तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले स्थित पवित्रा माध्यामिक विद्यालयमा अध्ययनको लागि आएका विद्यार्थीहरु । तस्विर–अमरराज नहर्की



अमरराज नहर्की
तनहुँ, पुस १५ गते । तनहुँका सबै विद्यालयहरुमा प्रत्यक्ष रुपमा पठनपाठन सञ्चालन गरिएको छ । कुनै पनि विद्यार्थीको पढाइ अबरुद्ध नबनाउन प्रत्यक्ष विधि नै उपयुक्त भएकाले भौतिक उपस्थितिमै पठनपाठन गरिएको विद्यालयहरुले जनाएका छन् । सरकारले कोरोना महामारीको जोखिम मूल्याङ्कन गरी विद्यालय पुनःसञ्चालनका आधार तय गरेपछि सुरक्षाका मापदण्ड पालना गरी १० वटै स्थानीय तहमा प्रत्यक्ष विधिमै शैक्षिक गतिविधि हुन थालेको शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत भरत बरालले जानकारी दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ सुरक्षाको मापदण्ड अपनाई प्रत्यक्ष पढाइ सञ्चालन गर्ने आधार तयार गरे बमोजिम सञ्चालनमा आएको बराल बताउनुहुन्छ । एउटा बेन्चमा दुई जना मात्रै बस्ने, मास्क र सेनिटाईजरको व्यवस्था गर्ने, पार्थना, खेलकुद गतिविधि सञ्चालन नगर्ने जस्ता मापदण्ड अपनाएर शैक्षिक गतिविधि भएको उहाँले बताउनुभयो । व्यास नगरपालिका ३ देउरालीनगर, विसघरेस्थित शिवपाञ्चायन विद्यालयका सहायक प्रधानाध्यापक टीकाराम दाहालले स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गरी प्रत्यक्ष कक्षा सञ्चालन भइराखेको बताउनुभयो । कुनै विद्यार्थीको इन्टनेटको पहुँच नपुग्ने, कतिपयको मोबाईल पनि नहुने, मोबाईल भए पनि पर्याप्त मात्रा नहुने जस्ता समस्याले सबैको पढाई सुनिश्चित हुने अवस्था नआएकाले प्रत्यक्ष विधिमा पढाई सञ्चालन गरिएको दाहालले जानकारी दिनुभयो ।

मन्त्रालयबाट विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ आएपछि र आ–आफ्नो पालिकामा कोरोना संक्रमणको अवस्थालाई मूल्याङ्कन गरी सिकाई सहजीकरण निर्देशिका समेत तयार गरी पठनपाठनलाई सुचारु गरिएको स्थानीय पालिकाहरुले बताएका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले कोभिड १९ पछि वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिनु चुनौतीपूर्ण भएका बेला जनस्वास्थ्यको मापदण्ड पालना गरी विद्यालय सञ्चालन भईराखेको जानकारी दिनुभयो । विद्यार्थी सङ्ख्या बढी भएमा समूह विभाजन गरेर व्यवस्थापन गर्न सकिने र स्वास्थ्य सुरक्षाका सामाग्रीको प्रयोग तथा मापदण्ड पालनामा सबै विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी तथा अभिभावकलाई पनि सचेत गराउँदै आएको अध्यक्ष थापाले बताउनुभयो ।
मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन कार्यविधिलाई आधार बनाई गाउँपालिकाको शिक्षा समितिले समेत आवश्यक मापदण्ड र निर्देशिका तयार गरी विद्यालय सञ्चालन गर्न थालिएको आँवुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो ।

अध्यक्ष थापाका अनुसार स्कुल बसबाट आवतजावत गर्नेलाई एक सिटमा एक विद्यार्थी राखेर प्रत्यक्ष शैक्षिक गतिविधिमा सामेल गराउने गरिएको छ । सदरमुकाम दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले गत साउनदेखि नै अनलाइनबाट शैक्षिक गतिविधि गर्दै आएकोमा त्यसलाई रोकेर प्रत्यक्ष विधिबाटै सञ्चालन गरेको छ । यस विद्यालयमा झण्डै दुई हजार पाँच सय विद्यार्थी अध्ययन गर्छन् । धेरै विद्यार्थी भएकाले तीन सिफ्टमा कक्षा सञ्चालन गरिएको प्रधानाध्यपक इन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । कक्षा ११ र १२ का विद्यार्थीलाई बिहान र दिउँसो दुई सिफ्ट गरी भौतिक दूरी कायम गरी प्रत्यक्ष विधिबाट सञ्चालन गरिएको प्रधानाध्यापक पौडेले जानकारी दिनुभयोे ।

विद्यार्थीहरुलाई बाटोमा आवतजावत गर्दा समेत भौतिक दूरी कायम गर्न, काक्षाकोठामा तोकिएको स्थानमा भौतिक दूरी कायम गरी बस्न, मास्क अनिवार्य लगाउन, सम्भव भए सेनिटाइजर समेत लिएर आउन, खाजाको व्यवस्था घरबाटै लिएर आउन, शुद्ध पिउने पानीको व्यवस्था घरैबाट बोटलमा भरेर ल्याउनुपर्ने जस्ता नियम बनाइएको प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो ।
बिरामी भएको वा ज्वरो आएको अवस्थामा विद्यार्थीहरुलाई विद्यालयमा उपस्थित नहुन, शरीरको तापक्रम नापेर मात्रै कक्षामा प्रवेश गराउने व्यवस्था गरिएको दमौली स्थित बाराही आवासीय अङ्ग्रेजी माध्यामिक विद्यालयका प्रिन्सिपल डा.इश्वरचन्द्र वाग्लेले जानकारी दिनुभयो ।

सबै अभिभावकको चाहाना प्रत्यक्ष विधि नै रहेकोले सुरक्षाका मापदण्ड पालना गरि विद्यालय सञ्चालन गरिएको डा. वाग्लेले बताउनुभयो । ऋषिङ गाउँपालिका–१ झापुटार घर भई व्यास नगरपालिका–३ शिवपाञ्चायन माध्यामिक विद्यालयमा कक्षा–६ मा पढ्ने बबिता थापा मगर प्रत्यक्ष विधिबाट अध्ययन गर्न पाउँदा खुसी लागेको बताउनुभयो । ‘अनलाईनबाट धेरै कुरा कठिन भएको थियो, साथीसँग सोध्न पनि पाईएको थिएन प्रत्यक्ष विधि हुँदा सजिलो भएको छ’ उहाँले गोरखापत्रसँग भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?