logo
२०८१ बैशाख ७ शुक्रवार

  कहिले खुल्छन् काठमाडौंका विद्यालय ?  



मन्त्रिपरिषद्को निर्णय कुर्दै महानगर, माघको पहिलो हप्ताबाट खोल्ने तयारी

शिक्षा |
पढ्नै पर्ने |


मन्त्रिपरिषद्को निर्णय कुर्दै महानगर, माघको पहिलो हप्ताबाट खोल्ने तयारी


मुकुन्द गैरे
काठमाडौं, पुस २४ गते । काठमाडौं महानगरपालिकाले नगर भित्रका विद्यालय माघको पहिलो हप्ता भित्रबाट खोल्ने तयारीमा लागेको छ । मन्त्रिपरिषद्को बैठकले खोल्ने निर्णय गरे माघको पहिलो हप्ताबाट विद्यालय खोल्ने अन्तिम तयारीमा जुटेको काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

विद्यालयको सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले मन्त्रिपरषद्मा सिफारिस पठाएको र यसै निर्णयको कुरेर बसेको महानगरका शिक्षा विभाग प्रमुख ढकालले बताउनुभयो । मन्त्रिपरिषद् वैठकले काठमाडौं महानगरपालिकाका विद्यालय खोल्ने निर्णय गरे स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निजी, सामुदायिक विद्यालय खोल्न अनुमती दिने महानगरको तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

शिक्षा मन्त्रालयले बनाएको विद्यालय कार्य ढाँचा अनुसार स्वास्थ्य मापदण्ड अनुसार स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्ने र साथै नगरले पनि आफनो कार्य ढाँचा बनाएर अगाडि बढ्ने उहाँले बताउनुभयो । विद्यालय सुचारु गर्दा अनुगमनलाई प्रभावकारी बनाउने महानगरको तयारी छ । कोरोनाको जोखिमालाई मध्यनजर गरेर विद्यालय सुचारु हुँदा केन्द्र स्तर र वडा कार्यालयबाट अनुगमन गर्ने गरि गृहकार्य भइरहेको समेत शिक्षा विभाग प्रमुख ढकाल बताउनुहुन्छ ।

अनुगमन गर्नको लागि वडा, केन्द्रमा पनि उपमेयरको अध्यक्षतामा कमिटी रहेको महानगरको भनाई छ । अनुगमन गर्दा वडा स्तरबाट गरियो भने बढी प्रभावकारी हुने उहाँ बताउनुहुन्छ । स्वास्थ्यका मापदण्ड पुरा गरेको वा नगरेको हेरेमा मात्र विद्यालय खोल्न दिने ढकाल बताउनुहुन्छ ।  विद्यालय खोल्ने वा नखोल्ने सम्बन्धमा मंसिर महिना देखि नै सरोकारवाला निकाय संग निरन्तर गरिरहेको उहाँ बताउनुहुन्छ ।

सामुदायिक विद्यालयका प्रमुख, प्यापसन, एनप्यापसन, अभिभावक संघ, शिक्षा विद् लगायत स्वास्थ्य विद्हरु संग छलफल गरे पछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र संग छलफल गरेको महानगरका शिक्षा प्रमुख ढकाल बताउनुहुन्छ ।

     महानगर भित्र ७३२ विद्यालय तीन लाख विद्यार्थी

काठमाडौं महानगरपालिका भित्र विद्यालय सुरु भए पछि ३ लाख विद्यार्थीले अध्ययन गर्ने छन् । महानगर भित्र सामुदायिक विद्यालय ९१ र निजी विद्यालय ६४१ रहेको महानगरपालिकाका शिक्षा प्रमुख ढकालले गोरखापत्र अनलाइनलाई बताउनुभयो । महानगरमा सामुदायिकमा भन्दा निजी विद्यालयमा विद्यार्थीको संख्या धेरै मात्रमा रहेका छन् ।

देशका धेरै ठाउमा खुल्न थाले शैक्षिक संस्था 

पछिल्लो समय नेपालमा कोरोनाको संक्रमणको दर कम भएसँगै अरु क्षेत्रसंगै शैक्षिक संस्थाहरु पनि खुला गरि पठनपाठन धेरै ठाउमा सुरु भइसेको छ ।  यसैबीच धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा समेत स्कुल, कलेज सुचारु हुन थालेका छन् । ललितपुर महानगरपालिकाले ललितपुर महानगरभित्रका शैक्षिक संस्थाहरु सुचारु गर्ने निर्णय गरिसकेकोे छ । विद्यार्थीहरु घरमा अनलाइन माध्यमबाट पढ्दा असहज भएको भन्दै आम अभिभावकको गुनासो आएपछि हालको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर शैक्षिक संस्था खोल्ने निर्णय भएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन बताउनुहुन्छ ।

स्कुल, कलेज सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड मान्नु अनिवार्य गरेर वडा कार्यालयले अनुमति दिने गरी खुला गरेको उहाँले बताउनुभयो । हालको अवस्थामा सवै शैक्षिक संस्था खोल्न दिने र कोरोनाको संक्रमणको जोखिम बढ्यो भने अर्को निर्णय लिने समेत प्रवक्ता महर्जनको भनाइ छ ।
साथै सामुदायिक विद्यालयमा कोरोनाबाट जोगिनका लागि चाहिने स्वास्थ्य सुरक्षाका सामाग्री महानगरपालिकाले निःशुल्क उपल्वध गराउने निर्णय गरेको समेत प्रवक्ता महर्जनले बताउनुभयो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी देशका धेरै ठाउँमा स्कुल, कलेज सुचारु हुन थालेको बताउनुहुन्छ । कोरोना जोखिमलाई विचार गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भौतिक उपस्थितिमै पठनपाठन हुने क्रम दिन प्रतिदिन बढिरहेको उहाँले बताउनुभयो ।

कक्षा सञ्चालन गर्दा विद्यार्थीको संख्या कम गराएर दुई सिफ्ट र जोर बिजोर प्रणालीबाट सुरु भइरहेको समेत अध्यक्ष पुरीले जानकारी दिनुभयो । दीर्घरोगी बिरामी भएका विद्यार्थीलाई छुट्टै कक्षा र अनलाइन कक्षाबाट सुविधा दिएर पढाइ भइरहेको उहाँ बताउनुभयो । चैत्र महिनाभित्र सेसन सिध्याएर सेसन खेर जान दिन हुन्न भनेर तयारीका साथ धेरै ठाउँमा पढाइ भइरहेको उहाँले जानकारी दिनुभयो ।सरकार पनि यसै योजनाका साथ अगाडि बढेको उहाँको भनाइ छ ।

कक्षा सुचारु भएका ठाउँका विद्यार्थीहरु भौतिक रुपमा उपस्थित भएर पढ्न पाउँदा उत्साहित भएको अध्यक्ष पुरी बताउनुुहुन्छ । कोरोनाको महामारीमा पनि हालसम्म सामुदायिक विद्यालयका विद्यार्थीले ४० देखि ६० र निजी क्षेत्रमा ७५ प्रतिशत विद्याथीले अनलाइन कक्षा लिएको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य मापदण्ड पाल्ना गर्नु अनिवार्य

यता जनस्वास्थ्य विद् डा.शरद वन्त नेपाल कोरोना जोखिममै रहेको बताउनुहुन्छ । जोखिममा रहँदा पनि सधैंभरि व्यापार व्यावसाय काम बन्द गरेर यसको समाधानको विषय नभएको उहाँ बताउनुहुन्छ । यसैबीच अरु व्यापार व्यावसायसँगै शैक्षिक संस्था पनि सधैभरि बन्द गर्नुपर्छ भन्ने आफनो मान्यता नरहेको जनस्वास्थ्यविद् डा. वन्त बताउनहुन्छ ।

शैक्षिक संस्था सुचारु संगै जनस्वास्थ्यका मापदण्ड पालना गर्न अतिनै जरुरी हुने उहाँको सुझाब छ । घरदेखि स्कुलसम्मको जाने र फर्कनसम्मको अवस्थामा बढी कसरी सुरक्षित हुन सकिन्छ भनेर सरकारले जारी गरेका मापदण्ड पालना गर्नु अनिवार्य जस्तै रहने उहाँ बताउनुहुन्छ ।थोरै संख्यामा कक्षा सञ्चालन गर्ने , सिफ्ट वा पहिलाको भन्दा समय घटाएर अर्थात् कसरी सुरक्षित तरिकाले पढाउन सकिन्छ भनेर सचेत भएर सञ्चालन गर्नु र्नेमा उहाँको जोड छ ।

यसको साथै खाजा खाने समयमा पनि विद्यार्थीको भिडभाड हुने भएकोले त्यसमा पनि ध्यान दिन आवश्यक रहेको जनस्वास्थ्य विद् डा. वन्त बताउनुहुन्छ । सवै सचेत भएर स्वास्थ्यका मापदण्ड पाल्ना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले मापदण्ड पालना गरे मैरे लागि हो भन्ने सोच्यो भने सुरक्षित रहन सकिने उहाँ बताउनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप