logo
२०८१ मंसिर १० सोमवार

  बुढेसकालमा विद्यालय टेकेका आमाहरुको अनुभव  



'पढाई जस्तो ठूलो केही रहेनछ, सपनाको झोला बोकी आईरहेको छु'

शिक्षा |
पढ्नै पर्ने |


'पढाई जस्तो ठूलो केही रहेनछ, सपनाको झोला बोकी आईरहेको छु'


अमरराज नहर्की
तनहुँ, माघ २३ गते । तनहुँ सदरमुकाम दमौली निवासी ६९ वषर््िाया मिश्रीमाया जिसी बुढेसकालमा पनि जोस र जाँगरसाथ नियमित विद्यालय जानुहुन्छ ।
एसइई पास गर्ने धोको पुरा गर्न विद्यालयमा धाईरहेको उहाँ बताउनुहुन्छ । व्यास नगरपालिका–३ शान्तिनगर स्थित महर्षि वेदव्यास सस्कृत माध्यमिक विद्यालयमा ‘‘गृहिणी शिक्षा’’ कार्यक्रम सञ्चालनमा आएपछि उहाँको बुढेसकालमा पढ्ने धोको पुरा भएको छ ।

उमेर मिल्दो दौंतरीसँग पढ्न पाएकोले विद्यालय आउन सहज भएको मिश्रीमाया बताउनुहुन्छ । ‘‘समय शुभ रहे, शुभ दिन रहे एसईई पास गर्ने धोको छ”, मिश्रीमायाले भन्नुभयो, “पढाई जस्तो ठूलो कुरा केही रहेनछ, त्यही भएर सपनाको झोला बोकी विद्यालयमा आईरहेको छु ।”
मिश्रीमायासँगै अध्ययन गर्ने होमकुमारी श्रेष्ठ पनि तीन वर्षदेखि विद्यालयमा धाइरहनु भएको छ । उहाँको पनि एसईई पास गर्ने धोको छ । अङ्ग्रेजीको ज्ञान लिन विद्यालयमा आएको होमकुमारीले बताउनुभयो ।

“अङ्ग्रेजी नजान्दा विदेशमा काम गर्ने छोरासँग बोल्न कठिन भयो, शिक्षाको महत्व बल्ल बुभ्mदैछु सञ्चो र बिसन्चो थाहा पाउन पनि पढ्नु पर्ने रै’छ’’, होमकुमारीले भन्नुभयो । पढ्न उमेर बाधक बन्दैन भन्ने कुरा उक्त विद्यालयमा पुग्दा प्रष्ट हुन्छ ।
विद्यालयमा २२ आमाहरुले अध्ययन गर्दै आउनु भएको र अधिकांश ६० वर्ष उमेर काटेकाहरु रहनुभएको महर्षि वेदव्यास सस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक तोयानाथ निरौलाले जानकारी दिनुभयो ।

आमाहरु बिहान १० देखि दिउँसो ३ बजेसम्म पढ्दै आउनु भएको विद्यालयले जनाएको छ । दमौलीकी चिजामाया गौलीले सो विद्यालयबाट कक्षा ८ उत्तिर्ण गर्नु भएको छ । ‘‘ ख्याल ख्यालैमा ८ कक्षा उर्तिण भईयो, समय जान बेर लाग्दो रहेनछ क्याम्पस पढ्ने धोको छैन, एसईई दिने रहर भने पुरा भएको छ’’, चिजामायाले भन्नुभयो । कक्षा–८ पास गरे पछि खुला विद्यालय अन्तर्गत व्यास नगरपालिका–१ भादगाउँ स्थित निर्मल माध्यमिक विद्यालयबाट एसइई परिक्षाको लागि दरखास्त दिन पाइने भएकाले आमाहरु नियमित रुपमा पढ्ने गरेको विद्यालयका पूर्व प्रधानाध्यापक माधव खनालले जानकारी दिनुभयो ।
सोही विद्यालयबाट कक्षा ८ उत्तिर्ण गरी एसईई दिने तयारी गरिरहनु भएकी ३८ वर्षिया देवी पाटामगरको भने क्याम्पस पढ्ने धोको छ । “विद्या विना संसार अध्यारो भन्ने बुझेर र पढ्नको लागि उमेर बाधक बन्दैन भन्ने लागेर अध्ययन गर्न थालेको हुँ’’, देवीले गोरखापत्रसँग भन्नुभयो । व्यास नगरपालिका–१२ कमलबारीकी ऋषीमाया आले दैनिक ४० रुपियाँ भाडा खर्चेर विद्यालय धाइरहनुभएको छ । एसईई पास गर्ने इच्छा भएकाले विद्यालयमा आएको उहाँले बताउनभुयो । ‘‘मोबाईल चलाउन र अङ्ग्रेजी शिक्षा नजानेर धेरै दुःख पाईयो, एसएलसी परीक्षा दिने धोको पुरा गर्न पढ्न आएको हुँ’’, ऋषीमायाले भन्नुभयो ।

व्यास नगरपालिका–३ निवासी आशा थापा अङ्क अक्षर चिन्दा खेरी बादल फारेर घाम लागेको महशुस भईरहेको बताउनुभयो । पहिला सानोमा पढ्न नपाएको र अहिले आँखा नदेख्ने उमेरमा पनि पढ्न पाउँदा खुसी लागेको र उस्तै उस्तै साथी पाउँदा रमाईलो हुने गरेको आशा बताउनुहुन्छ ।
‘‘उमेर ढल्किदै गएकोले सिक्न कठिन भएपनि मिसले झर्को नमानी पढाउनु भएकोले सहज भएको छ’’, आशाले भन्नुभयो । शिक्षिका बिनु श्रेष्ठ आमाहरुले पढ्नको लागि अल्छि नगर्ने गरेको बताउनु भयो ।

वि.सं. २०६७ साल देखि सो विद्यालयमा आमाहरु पढ्दै आउनु भएको विद्यालयले जनाएको छ । ‘‘ध्यान दिएर पढ्ने गरेकोले दुई जनाले एसईई परीक्षा दिनु हुने भएको छ’’, शिक्षिका बिनुले भन्नुभयो । विर्सने भए पनि कोशिस निरन्तर गर्ने, घरमा पढ्ने विद्यालयमा पनि एक छिन बस्न नमानी पढ्ने गरेको बिनु बताउनुहुन्छ । व्यास नगरपालिका–१ बस्नु हुने कमला पोख्रेल नातीहरुसँगै अध्ययन गर्नु भएको छ । “भगवानको हातको कुरा हो बाँचियो भने एसईई दिउँला भन्ने छ’’, कमलाले भन्नुभयो । मङ्सिरदेखि अध्ययन गर्दै आएकोमा अहिले नेपालीमा नाम लेख्न सक्ने भएको उहाँले जानकारी दिनुभयो । व्यास नगरपालिका–१ हाईस्कुलटार निवासी ६१ वर्षिया अमृता आले साक्षर बनेर दैनिक हिसाब किताब राख्न सजिलो बनाउन विद्यालयमा आएको बताउनुभयो ।
विद्यालयका शिक्षक नरेन्द्र न्यौपाने आमाहरुले विद्यालयमा पढ्न आउँदा विद्यार्थीहरुमा सकरात्मक सोचाईको विकास गर्न मद्धत पुगेको बताउनुहुन्छ । ‘‘आमाहरुले बुढेसकालमा समेत जाँगर गरेर पढ्नु भएको छ हामीले अल्छि गर्नु हुँदैन भन्ने भावानाको विकास गराएको पाईएको छ’’ शिक्षक न्यौपानेले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?