logo
२०८१ असोज ६ आईतवार



मदन भण्डारी विज्ञान–प्रविधि विश्वविद्यालय : आगामी वर्षबाट पठनपाठनको तयारी

शिक्षा |


मदन भण्डारी विज्ञान–प्रविधि विश्वविद्यालय : आगामी वर्षबाट पठनपाठनको तयारी


केशवराज पौडेल

काठमाडाँैं, माघ २७ गते । काभ्रेपलाञ्चोक र मकवानपुरमा निर्माणाधीन मदन भण्डारी विज्ञान–प्रविधि विश्वविद्यालयले आउँदो वर्षबाट अध्यापन गर्न सक्ने गरी पूर्वाधारको विकास गरेको छ ।
मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष डा. राजेन्द्रध्वज जोशीले ऐन तर्जुमा भएमा आगामी सन् २०२२ बाट अर्गानिक एग्रिकल्चर, फरेन्ट बायोमटिरियल र आर्टिफिसियल इन्टेलिजेन्सको स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्न सकिने बताउनुभयो । संसदमा विचाराधीन रहेको विधेयक प्रतिनिधि सभा विघटन भएपछि पुनः प्रक्रियामा जान समय लाग्ने भएको छ ।
काभ्रेमा भवन निर्माणको काम सुरु भएको छैन । कानुन तर्जुम भएसँगै आउँदो वर्षबाट केही कक्षा विभागका रूपमा रहने चित्लाङबाट गर्ने तयारी छ । चीन सरकारको सहयोगमा मकवानपुरको चित्लाङ र काभ्रेको पाँचखाल नगरपालिकामा मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालयको काम गर्ने तयारी गरिएको थियो ।
चीन सरकारबाट सहयोग आउने सङ्केत नदेखिएपछि मकवानपुर र काभ्रेपलाञ्चोकमा आन्तरिक स्रोतबाटै काम गर्ने तयारी थालिएको हो । चित्लाङमा जग्गा कम भएपछि त्यसलाई उपयुक्त हुने स्थान काभ्रेको पाँचखाल देखिएपछि केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक र चित्लाङमा विभाग रहने गरी काम अगाडि बढाइएको हो ।
भौतिक पूर्वाधारका पाँचखाल र नमोबुद्ध नगरपालिकामा ११ हजार ६१ रोपनी जग्गा व्यवस्थापनको काम सकिएको छ । “जग्गाको विषयमा मन्त्रिपरिषदमा टेबुल भइसकेको छ । हामीलाई निर्देशन आउनेबित्तिकै जग्गा अधिग्रहण सुरु गर्छाैं,” काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार विकास समितिका नाममा मालपोत कार्यालय काभ्रेपलाञ्चोकले जग्गा हस्तान्तरण गरिसकेको छ ।
व्यक्तिका नाममा रहेको ७१४ रोपनी जमिन अधिग्रहणको तयारी गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले यसको विधेयक संसद्को सामाजिक विकास समितिबाट प्रतिनिधि सभामा पेस भइसकेको जानकारी दिनुभयो । प्रतिनिधि सभा विघटन भइसकेपछि अब त्यसका बारेमा संसदीय प्रक्रियाअनुसार अगाडि बढ्नेछ ।
सरकारले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा एक खर्ब ३४ अर्ब ५० करोड ८७ लाख रुपियाँ बजेट विनियोजन गरेर विज्ञानका क्षेत्रमा नवप्रर्वतन नीतिसम्बन्धी कार्यदल गठन गरी सुझाव सङ्कलन सुरु गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?