logo
२०८० चैत्र १५ बिहीवार



शिक्षण संस्था कोरोनाको उच्च जोखिममा

शिक्षा |
राष्ट्रिय |


शिक्षण संस्था कोरोनाको उच्च जोखिममा


सरोज ढुङ्गेल

काठमाडौँ, चैत १७ गते । नेपालमा केही दिनयता शैक्षिक संस्थाहरूमा कोरोना भाइरस फैलिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गोरखापत्रसंँग कुरा गर्दै पछिल्लो समय देखिएको भाइरस शैक्षिक संस्थामा केन्द्रित रहेको जानकारी गराउनुभयो ।
उहाँले कुन कुन विद्यालयमा भाइरस फैलिएको छ भन्ने प्रश्नमा विद्यालयका नाम भन्न नमिल्ने भन्दै अस्पताल भर्ना हुनेहरू शिक्षक तथा विद्यार्थी रहेको बत(ाउनुभयो । ती विद्यालयले जनस्वास्थ मापदण्ड नअपनाएका कारण कोरोना फैलिएको उहाँको भनाइ छ । शैक्षिक संस्थाहरूमा स्वास्थ्यका मापदण्ड नअपनाउँदा त्यहाँ कोरोना सङ्क्रमण बढिरहेको उहाँको भनाइ छ । शैक्षिक संस्थाहरूमा स्वास्थ्यका मापदण्ड कार्यान्वयन फितलो रहेकाले सङ्क्रमण बढेको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले बताउनुभयो ।
विद्यालयमा हात धुने तथा सेनिटाइज र अनिवार्य मास्क लगाउने व्यवस्थालाई कडाइका साथ लागू गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले अहिले टेकु अस्पतालमा भर्ना हुने सङ्क्रमितमा अधिकांश शिक्षक, होटलमा काम गर्ने व्यक्ति र तराईबाट रिफर गरिएका बिरामी रहेको जानकारी दिनुभयो । केही दिनयता सङ्क्रमण उकालोतर्फ लागिरहेकोमा आफूहरू चिन्तित रहेको भन्दै उहाँले अनिवार्य स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्नुभयो ।

सैनिक महाविद्यालय बन्द
यस्तै कोरोना सङ्क्रमण फैलिएपछि सैनिक महाविद्यालय बन्द गरिएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले सोमबारबाट महाविद्यालय पूर्ण रूपमा बन्द गरिएको बताउनुभयो । केही विद्यार्थी तथा प्रशासनमा कार्यरत जनशक्तिलाई कोरोना भाइरस देखिएपछि महाविद्यालय बन्द गर्नुपरेको उहाँको भनाइ छ ।
अरू कक्षा बन्द नै थियो, कक्षा १०, ११ र १२ पनि केही समयअघि सञ्चालन गरिएकोमा विद्यार्थी र कर्मचारीलाई कोरोना देखिएपछि बन्द गरिएको उहाँको भनाइ छ । नियन्त्रण गर्न नसक्ने गरी फैलिएको होइन, प्रवक्ता पौडेलले भन्नुभयो, “दोस्रो चरणको भाइरस फैलिन लागेकाले थप सतर्कता अपनाउँदै विद्यालय बन्द गराएका हौँ ।”
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?