logo
२०८१ असोज ७ सोमवार

  कोरोनाको त्रासबीच पठनपाठन  



शिक्षाविद् भन्छन्ः वैकल्पिक शिक्षण माध्यमबाट पढाइलाई निरन्तरता दिऔं

शिक्षा |


शिक्षाविद् भन्छन्ः वैकल्पिक शिक्षण माध्यमबाट पढाइलाई निरन्तरता दिऔं


सपना थामी
काठमाडौं, वैशाख ५ गते । पछिल्लो एक महिनामा विद्यालय तहका १० प्रतिशत बालबालिका दोस्रो चरणको कोरोना भाइरसबाट सङ्क्रमित भए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विद्यालय सञ्चालन नगर्न आग्रह गरे पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न अनुरोध गर्दैआएको छ ।
यसैगरी काठमाडौं महानगरपालिकाले पनि विद्यार्थी र शिक्षकमा कोरोना भए एक साता विद्यालय बन्द गर्न निर्देशन जारी गरेको छ । काठमाडौं उपत्यकासहित देशैभरमा दोस्रो चरणको कोरोना भाइरसको महामारीबाट विशेषगरी विद्यालय तहका बालबालिकाहरु सङ्क्रमित हुनेक्रम बढेकाले विद्यालय बन्द गर्ने अवस्था आए पनि वैकल्पिक शिक्षण पद्धतिअनुरुप विद्यार्थीको पढाई एवम् सिकाइलाई निरन्तरता दिन शिक्षाविद्हरुले सुझाएका छन् ।

विद्यार्थीको जीवन नै ठूलो
शिक्षाविद् प्राडा. मनप्रसाद वाग्लेले कोरोना महामारीको यो विषम परिस्थतिमा विद्यार्थीको जीवन अर्थात् स्वास्थ्य नै मुख्य रहेको बताउनुभयो । उहाँले विद्यार्थीलाई सङ्क्रमण हुन नदिनु ठीक हो कि, सङ्क्रमणपछि उपचार गर्नु ठीक ? भन्दै अहिलेको अवस्थामा विद्यालय बन्द गरेर वैकल्पिक शिक्षण पद्धतिलाई अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो ।
शिक्षा मन्त्रालयको शैक्षिक क्यालेन्डर प्रभावित हुनुभन्दा पनि पछिल्लो समय ससाना बालबालिका तथा स्कूले विद्यार्थीहरु कोरोना सङ्क्रमित र यसले आगामी दिनमा पार्ने असरप्रति डाक्टर वाग्ले चिन्तित हुनुहुन्छ । उहाँले विश्वव्यापीरुपमा फैलिएको पहिलो र दोस्रो चरणसम्मको कोरोना महामारीको असरप्रति बताउँदै आगामी तीन वर्षसम्मको स्थितिबारे सोचेर मात्रै शैक्षिकसत्रको बारेमा तयारी गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लगायत सरोकारवाला पक्षलाई सुझाउनुभयो ।

कार्यढाँचा प्रभावकारी कार्यान्वयनमा जोड
शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाले विद्यालय सञ्चालनसम्बन्धी निर्णय गर्ने स्थानीय तहलाई दिइएको अधिकार प्रभावकारीरुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । महामारीको समयमा विद्यालय सञ्चालन गर्ने सम्बन्धमा विद्यार्थी पढ्न र शिक्षक पढाउन डराउँछ कि डराउँदैन ? अभिभावकको धारणा के रहन्छ यसबारे विचार गर्नुपर्ने उहाँको सुझाव छ ।
विगत एक वर्षको महामारी अवधिमा भएको शैक्षिक गतिविधिलाई स्मरण गर्दै उहाँले विशेषतः गाउँ, स्थानीय तह र पालिकाहरुमा शिक्षकलाई परिचालन गर्न नसक्दा शैक्षिकसत्र पछाडि धकेलिएकोमा चिन्ता सुनाउनुभयो । विद्यालय सञ्चालन सम्बन्धी अधिकार स्थानीय तहलाई दिए पनि त्यस क्षेत्रमा राजनीतिक दलको नेतृत्व मुख्य रहेका कारण समस्याहरु उत्पन्न हुनेगरेको प्राध्यापक कोइरालाले बताउनुभयो ।

अभिभावकको चिन्ता
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले विद्यालय बाहिरबाट हुने अध्ययन–अध्यापन प्रभावकारी नहुने भन्ने गुनासो आएकाकारण विद्यालय बन्द गरिहाल्ने अवस्था नभएको बताउनुभयो । काठमाडौं लगायत शहरी क्षेत्रको जागिरे एवम् व्यवसायी अभिभावकले घरमा प्रभावकारीरुपमा आफ्ना छोराछोरीहरु नपढेका कारण विद्यालय सञ्चालनमा जोड दिएको उहाँले बताउनुभयो ।
ससाना उमेर समूहका बालबालिकाले अनलाईनमार्फत पढ्न सक्ने अवस्था नै नरहेको र माध्यामिक तहको विद्यार्थीहरु पनि घरबाट पढ्नभन्दा पनि साथीभाइसँग रमाउन बढी रुचाएको गुनासो आएकोले यसबारे निजी विद्यालयहरुबीच पनि छलफल गरेर अघि बढ्ने बताउनुभयो । “गर्न त, शिक्षा मन्त्रालयले भनेअनुसार नै गर्छौ तर अभिभावकहरुको गुनासोलाई पनि सम्बोधन गर्दै अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?