logo
२०८१ असोज ७ सोमवार



उच्च शिक्षामा त्रिविको पृथक् पहिचान

शिक्षा |


उच्च शिक्षामा त्रिविको पृथक् पहिचान



गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा आफ्नो पृथक् पहिचान र गरिमामय इतिहास निर्माण गर्न सफल भएको बताउनुभएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवन अस्तव्यस्त रहँदा पनि विश्वविद्यालयले वैकल्पिक विधिको प्रयोग गरी आफ्नो शैक्षिक तथा अनुसन्धानसम्बन्धी गतिविधिलाई निरन्तरता दिएकोमा आफू हर्षित भएको उहाँले चर्चा गर्नुभएको छ ।
त्रिभुवन विश्वविद्यालयको ६२औँ वार्षिक दिवस बैठकलाई आइतबार पठाउनुभएको शुभकामना सन्देशमा प्रम देउवाले कठिन परिस्थितिमा पठनपाठन र परीक्षाका नयाँ विकल्पको प्रयोगबाट उच्च शिक्षामा दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालयले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो ।
आगामी दीक्षान्त समारोहमा दीक्षित हुन योग्यता पुगेका विद्यार्थीलाई प्रम देउवाले बधाई ज्ञापन गर्नुभयो । त्यस अवसरमा विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले वार्षिक दिवसको बैठकको अध्यक्षता गर्ने अधिकार उपकुलपति प्रा।डा। धर्मकान्त बाँस्कोटालाई दिनुभएको थियो ।
कार्यक्रममा उपकुलपति बाँस्कोटाले कोभिड–१९ को महामारीको जटिल परिस्थितिका बीच पनि एसियाली विश्वविद्यालयमा गत वर्षको तुलनामा १००औंँ स्थान माथि स्तरोन्नति प्राप्त गर्न विश्वविद्यालय सफल भएको जानकारी दिनुभयो । विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानमा सूचना प्रविधि र विद्युतीय कक्षामा उल्लेखनीय सफलता हासिल गरिएको, पाठ्यक्रम विकास केन्द्र, परीक्षा नियन्त्रण कार्यालय र डिन कार्यालयहरूमा अनलाइन माध्यमबाट आवेदन बुझाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा।डा। शिवलाल भुसालले कोरोना भाइसका कारण सिर्जित जटिल परिस्थितिका कारण विश्वविद्यालयको वार्षिक दिवस बैठक अनलाइन माध्यमको सहयोगमा गर्नुपर्ने अवस्था आएको बताउनुभयो । वार्षिक दिवस बैठकमा ५९औंँ ग्रेस लिस्टको सङ्क्षिप्त विवरण प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा।डा। पेशल दाहालले ग्रेस लिस्टमा सहभागी २९ हजार ७२९ मध्ये साधारणतर्फ २३ हजार ८४८ ९८०।२२ प्रतिशत० र प्राविधिक शिक्षातर्फ पाँच हजार ८८१ ९१९।७८ प्रतिशत० विद्यार्थी रहेको जानकारी गराउनुभयो । उहाँले कोरोना भाइरसले उब्जाएको विषम परिस्थितिका कारण समयमा परीक्षा हुन नसक्दा र ट्रान्सक्रिप्ट लिन नसक्दा धेरै विद्यार्थीको नाम ग्रेस लिस्टमा पर्न नसकेको जानकारी दिनुभयो ।
बैठकले २०७७ असार १ गतेदेखि २०७८ जेठ मसान्तसम्म तोकिएका सम्पूर्ण आवश्यकता पूरा गरी ट्रान्सक्रिप्टसमेत लिइसकेका विद्यार्थीलाई ग्रेस लिस्टमा समावेश गरिएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?