logo
२०८१ असोज ७ सोमवार



कोरोना जोखिमबीच धमाधम खुल्न थाले विद्यालय

शिक्षा |
प्रदेश |


कोरोना जोखिमबीच धमाधम खुल्न थाले विद्यालय


कमल शर्मा
दैलेख, साउन ३१ गते । कोरोना सङ्क्रमणको जोखिमबीच जिल्लामा सामुदायिक र संस्थागत विद्यालय धमाधम विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालनमा आउन थालेसँगै बालबालिकाहरु समेत उत्साही बनेर विद्यालय जान थालेका छन् । जिल्लाको नारायण नगरपालिकाले भने यस अघि पठनपाठन सुरु गरिसकेको छ । नगरपालिकाले साउन २२ गतेदेखि नै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याएको हो ।
नारायण नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख हिमालयजंग शाहले सरकारले असार मसान्तबाट नयाँ शैक्षिक सत्र सुरु गरेदेखि विद्यालय बन्द भएको अवस्थामा जिल्लाको दुई वटा सामुदायिक रेडियोहरू रेडियो ध्रुवतारा र रेडियो ज्वालाबाट नगर रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो लामो समयदेखि बन्द रहेका नगरपालिकाभित्रका ३८ वटा सामुदायिक विद्यालयमा पठनपाठन सुरु गरिएको छ ।
नारायण नगरपालिका ७ मा रहेको वसन्त माध्यामिक विद्यालयका प्रधानाध्यापक धर्मराज खड्काले नारायण नगरपालिकाले विद्यालयमा स्वास्थ्य मापदण्ड अपनाउन प्रत्येक विद्यार्थी दुई सयका दरले रकम विद्यालयमा पठाएसँगै विद्यालय सञ्चालन गरेको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई स्वास्थ्य सामग्रीहरू मास्क सेनीटाइजर व्यवस्थापन गरी एक बेन्चमा दुई जना विद्यार्थी राखेर अध्यापन गराइरहेको बताउनुभयो ।
जिल्लाका अन्य स्थानीय तहले समेत विद्यालय सञ्चालनको तयारी गरेको जानकारी दिएका छन् । जिल्लाको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले विद्यालयहरू भदौ १ गते बाट सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले विद्यालयमा आवश्यक पर्ने मास्क सेनिटाइजार गाउँपालिकाले दिएर विद्यालय सञ्चालन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो हामीले विद्यालय सञ्चालन गर्दा सामाजिक दूरी कायम राख्छौ र विद्यालय नियमित रूपमा सञ्चालन गर्छौ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले जिल्लामा आइतबारसम्म ३ हजार ४ सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको र तीमध्ये ३ हजार ४ सय ३७ जना निको भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म कोरोना सङ्क्रमणबाट २९ जनाले ज्यान गुमाइसकेका छन् भने सक्रिय सङ्क्रमितकाे सङ्ख्या ३२ जना छ । हाल दैलेख अस्पतालको आइसोलेसनमा ८ जना उपचाररत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?