logo
२०८१ असोज ८ मंगलवार



दशवर्षे शैक्षिक गुरुयोजनाः कक्षा १–३ का विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री

शिक्षा |
प्रदेश |


दशवर्षे शैक्षिक गुरुयोजनाः कक्षा १–३ का विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री


बेलिना थापा
लमजुङ, असोज १७ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिका ले वडाभित्रका कक्षा १ देखि ३ सम्मका बालबालिकालाई दैनिक आवश्यक पर्ने शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

वडा समितिको आमभेलाले १० बर्षे शैक्षिक गुरुयोजना बनाएर शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । वडाध्यक्ष सुमन गुरुङका अनुसार वडा समितिले १० वर्षे गुरुयोजना निर्माण गरेको छ । दैनिक विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामग्री अभावका कारण बालबालिका विद्यालय आउनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले वडाले उक्त व्यवस्था गरेको छ ।

बालबालिकाले विद्यालयमा आवश्यक पर्ने किताब, कापी, पेन्सिललगायतको सामग्री वडाले उपलब्ध गराउने बताइएको छ । विद्यालय बाहिर कुनै पनि बालबालिका नहोस् र सबै शिक्षाको पहुँचमा पुगुन् भनेर बजेट विनियोजन गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो । यस्तै, कक्षा ८, ९ र १० का सबै विद्यार्थीलाई आवश्यक पर्ने अतिरिक्त किताब पनि निःशुल्क उपलब्ध गराइने भएको छ । नेपाल सरकारले उपलब्ध गराउने बाहेकको किताब खरिद गर्न नसक्दा पठनपाठनमा समस्या भएकाले वडाले सहयोग गर्ने बताएको छ ।

केही अतिरिक्त किताब धेरै मूल्य पर्ने र अभिभावकले खरिद गर्न नसक्दा विद्यार्थी विद्यालय आउन नसकेको समस्यालाई दृष्टिगत गरी उक्त सुविधा मिलाइएको गुरुङले बताउनुभयो । एसईई दिने विद्यार्थीलाई धेरै मात्रामा अतिरिक्त किताब आवश्यक पर्ने भएकाले उनीहरुलाई निःशुल्क उपलब्ध गराइने सोच बनाइएको वडाअध्यक्ष गुरुङले बताउनुभयो ।

शैक्षिक सामग्रीका लागि वडाले आर्थिक वर्ष २०७८–७९ मा ५ लाख रुपियाँ बजेट विनियोजन गरेको पनि वडाअध्यक्ष गुरुङले बताउनुभयो । हरेक वर्ष सोही बराबरको रकम विनियोजन गरिेने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो । वडाभित्र ७ वटा विद्यालय छन् । एउटा माध्यमिक विद्यालय, एउटा आधारभूत र ५ वटा प्राथमिक विद्यालय छन् ।

वडाले आफ्नो गुरुयोजनामा मर्स्याङ्दी४ हुँदै थुर्जु दूधपोखरीसम्म जाने टे«किङ बाटोको डीपीआर गरी सञ्चालनमा ल्याउने योजना बनाएको छ । यसका लागि पनि ५ लाख रुपियाँ बजेट विनियोजन गरेको वडाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?