logo
२०८१ असोज ८ मंगलवार



'विकास र समृद्धिका लागि बालिका शिक्षा जरुरी'

शिक्षा |
पढ्नै पर्ने |


'विकास र समृद्धिका लागि बालिका शिक्षा जरुरी'
कार्यक्रममा सम्बाेधन गर्नु हुँदै डा. आरजु देउवा ।


गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २१ गते । बेलायती राजनीतिज्ञ, समाजसेवी तथा सांसद हेलेन ग्रान्टले बालिका गुणस्तरीय शिक्षासँगै जलवायु परिवर्तनको सचेतना आजको आवश्यकता भएको औँल्याउनु भएको छ । काठमाडौँको गोकर्णेश्वरस्थित नामी कलेजले बुधबार आयोजना गरको विशेष अन्तरक्रियामा बोल्नुहुँदै ग्रान्टले नेपाल सरकारको साझेदारीमा नेपालमा बालिका शिक्षासँगै जलवायु परिवर्तनका बिषयमा विविध कार्यक्रम सञ्चालनमा रहेका औँल्याउनु भएको हो ।
प्रधानमन्त्रीशेरबहादुर देउवापत्नी तथा प्रथम महिला डा.आरजु देउवाले अध्यक्षता गर्नुभएको सो अन्तरक्रियामा उहाँले महिला विद्यार्थीले कम्तिमा पनि १२ वर्षको गुणस्तरीय शिक्षा पाउनुपर्नेमा जोड दिनुभयो । विश्व अभियानसँग महिला शिक्षालाई जोड्दै उहाँले आगामी दशकसम्म विश्वभरीका कम्तिमा ४० लाख बालिकालाई विद्यालयसँग जोड्ने लक्ष्य रहेको बताउनुभयो । महिलाका लागि गुणस्तरीय शिक्षाको क्षेत्रमा बेलायतले पहल गरिरहेको जानकारी दिनुभयो ।
देशको सामाजिक आर्थिक परिवर्तनसँगै विकास र समृद्धिका लागि पनि बालिका शिक्षा जरुरी रहेको उहाँको भनाइ थियो । पछिल्लो समय कोभिड–१९ का कारण धेरै बालिका स्कुले शिक्षाबाट बन्चित हुनु दुखद रहेको उहाँले सुनाउनुभयो । त्यस्तै जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नमा नेपाल–बेलायतको सहकार्य अन्तर्गत विविध साझेदारीसँगै वित्तीय सहयोगको क्रम जारी रहेको उहाँले प्रष्ट पार्नुभयो । बालिका शिक्षा र जलवायु परिवर्तनसँग जोडिएको अभियानले अनुकुलन, नेतृत्व क्षमता र जलवायु परिवर्तन सम्बन्धि सचेतनाको अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले बेलायत सरकारका तर्फबाट नेपालमा शैक्षिक क्षेत्रमा विभिन्न सहयोग र सहकार्य अघि बढीरहेको औल्याउनुभयो । उहाँले नेपाल–बेलायत सम्बन्धलाई थप प्रगाढ पार्न र शिक्षाको स्तरोन्नतीका लागि हरेक पक्षबाट पहल गरिनुपर्नेमा जोड दिनुभयो ।
प्रथम महिला तथा कार्यक्रमका अध्यक्ष डा. आरजु देउवाले नेपाल बेलायत सम्बन्धको बारेमा प्रकाश पार्नुहुँदै बेलायती नेतृत्वलाई नेपालमा जलवायु परिवर्तन लगायत अन्य क्षेत्रमा गरिएको सहयोगका लागि धन्यवाद प्रकट गर्नुभयो ।
उहाँले वास्तविक धरातलमा अझै धेरै काम हुन बाँकी रहेकाले शिक्षाका माध्यमलेमात्र सोचेजस्तो परिवर्तन र रुपान्तरण सम्भव रहेको सुनाउनुभयो ।
कार्यक्रममा वातावरणविज्ञ डा.के.के.श्रेष्ठले महिला शिक्षाका माध्यमबाट जलवायु परिवर्तनको अनुकुलनमा टेवा पुग्नसक्ने प्रष्ट्याउनुभयो । उहाँले जलवायु परिवर्तनका कारण विश्वमा विभिन्न खालको समस्या बढेको जानकारी दिनुभयो । महिला शिक्षाको सवालमा विश्व नै सही दिशामा अग्रसर रहेको र नेपालका यसको महत्व झन बढी रहेको उहाँले बताउनुभयो । नेपालको सुदुरपश्चिमका महिला समेत अचेल आफ्नो समस्या आफै पहिचान गर्नसक्ने र त्यस्तो समस्याका बारेमा प्रधानमन्त्री कार्यालयमा जानकारी गराएर नीति निर्माणका लागि पहल गर्नसक्ने भएको उदाहरण उहाँले दिनुभयो ।
नेपालका धेरै स्रोत साधनको अभावका वावजुद पनि जलवायु परिवर्तनका समस्यासँग अनुकुलनको प्रयासमा महिलाहरु जुटेको समेत उहाँले जानकारी दिनुभयो ।
नामी कलेजले विश्वस्तरीय बिषयहरु अध्यापन गर्दै आएको छ । नर्थहेम्पटन विश्वविद्यालय बेलायतसँगको साझेदारीमा सञ्चालित नामी कलेज नेपालको महत्वपूर्ण शैक्षिक क्षेत्रका रुपमा पहिचान कमाएको कलेजले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?