logo
२०८१ असोज ८ मंगलवार



प्रभावकारी बन्दै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम

शिक्षा |
प्रदेश |
समाज |


प्रभावकारी बन्दै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम
विद्यार्थीहरुलाई सेनेटरी प्याडको बारेमा जानकारी दिँदै स्वास्थ्यर्मी (नर्स) शारदा सापकोटा



केदार तिमल्सिना
बनेपा, असोज २१ गते । विद्यालयमा प्रवद्र्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक सेवा प्रदान गर्नेलगायतका उद्देश्यले बागमती प्रदेश सरकारले सुरु गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बनेको छ । काभ्रेमा आर्थिक वर्ष २०७६/७७ देखि काभ्रेका नौ विद्यालयबाट ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु भएको हो ।
जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा देखिने विभिन्न स्वास्थ्य समस्याको समयमा नै उपचार भएको छ भने विद्यार्थीहरुले आफ्ना समस्या समेत प्रष्टसँग राख्न सक्ने भएका छन् ।

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू भएपछि महिनावारी हुँदा आफ्नो समस्या शिक्षकसँग राख्न नसक्ने छात्राहरु अहिले विद्यालयमा कार्यरत स्वास्थ्यकर्मी (नर्स)सँग निर्धक्क राख्न सक्ने भएका छन् । उनीहरु महिनावारीका समयमा आवश्यक पर्ने सेनेटरी प्याड प्रयोगको बारेमा जानकार समेत भएका छन् भने आफूमा देखिएका समस्याहरु नर्ससमक्ष गएर पोख्न सक्ने भएका छन् ।

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू भएको धुलिखेलमा रहेका सञ्जीवनी माध्यमिक विद्यालयका प्रधानाध्यापक लोेकेन्द्र ढकालले यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताउनुहुन्छ । उहाँले कार्यक्रम लागू हुनुभन्दा अघि आफूमा आएको समस्या भन्न लजाउने विद्यार्थीहरु कार्यक्रम सुरु भएपछि निर्धक्क भन्न सक्ने भएको बताउनुभयो । ‘कार्यक्रम नहुँदा विद्यार्थीका समस्या हामीसम्म आइपुग्दैनथ्यो, अहिले विद्यालयमा नर्सको व्यवस्थापन भएपछि उनीहरुका सबै समस्या नर्समार्फत् हामीसम्म आइपुग्ने गरेका छन्’ प्रधानाध्यापक ढकालले थप्नुभयो । उहाँले कार्यक्रमबाट दैनिक रुपमा विद्यालयमा अध्ययनरत करिब दश जना विद्यार्थीले विभिन्न समस्याको उपचार सेवा पाउने गरेको बताउनुभयो । उहाँले विद्यालयमा अध्ययनरत छात्राहरुका लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था समेत गरिएको बताउनुभयो ।

जिल्लाको पनौती नगरपालिका–३ मा रहेको कुशादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद भुजुले विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परीक्षण, उपचार, स्वास्थ्य शिक्षा प्रदान गर्ने भएकोले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो । उहाँले विगतमा आफ्ना समस्या राख्न नसक्ने विद्यार्थीहरु कार्यक्रम लागू भएपछि आफ्ना समस्याहरु नर्स समक्ष राख्न सक्ने भएको बताउनुभयो । उहाँले महिनावारी भएको समयमा सेनेटरी प्याडको प्रयोग गर्न नजान्ने छात्राहरु अहिले निर्धक्क रुपमा प्याड माग्न र प्रयोग गर्न सक्ने भएको बताउनुभयो । उहाँले विद्यालयमा रहने स्वास्थ्यकर्मी (नर्स) ले विद्यार्थीहरुमा आउने स्वास्थ्य समस्याको प्राथमिक उपचार तथा विभिन्न विषयमा स्वास्थ्य शिक्षा दिने काम गर्ने गरेको बताउनुभयो ।

सञ्जीवनी माध्यमिक विद्यालयमा कार्यरत स्वास्थ्यकर्मी (नर्स) सचिता बिष्टले विद्यालयम अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सरसफाई, विभिन्न रोगहरुको बारेमा स्वास्थ्य शिक्षा प्रदान गर्नुको साथै उनीहरुमा देखिने विभिन्न रोगहरुको प्राथमिक उपचार गरिँदै आएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई मनोपरामर्श समेत गरिने बताउनुभयो । उहाँले कार्यक्रम लाग्ू भएपछि सेनेटरी प्याड प्रयोग गर्ने छात्राहरुको सङ्ख्या बढ्नुको साथै आफ्ना समस्या भन्न सक्ने भएको बताउनुभयो । उहाँले विद्यार्थीको उपचारका लागि एउटा कोठाको व्यवस्था गरिएको बताउँदै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम विद्यार्थीको समस्या राख्ने थलो समेत भएको बताउनुभयो ।

कुशादेवी माध्यमिक विद्यालयका कार्यरत नर्स शारदा सापकोटाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जङ्क फुड (पत्रु खाना)को बेफाइदा, विभिन्न रोगहरुको बारेमा स्वास्थय शिक्षा दिने काम हुने गरेको बताउनुभयो । उहाँले फोहोर व्यवस्थापन, वातावरणीय सरसफाई, पोषण, व्यक्तिगत सरसफाईको बारेमा शिक्षा प्रदान गर्नुको साथै विद्यार्थीमा देखिने समस्याको प्राथमिक उपचार गरिँदै आएको बताउनुभयो । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा काभ्रेका १३ स्थानीय तहका २६ विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम विस्तार गरेको थियो । हालसम्म प्रदेश सरकारले काभ्रेका ३५ सामुदायिक विद्यालयमा यो कार्यक्रम लागू गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?