logo
२०८१ जेष्ठ ७ सोमवार



विद्यालय गुणस्तरीय पढाईको साथी, ‘शिक्षक डायरी’

शिक्षा |
प्रदेश |


विद्यालय गुणस्तरीय पढाईको साथी, ‘शिक्षक डायरी’


चाँदनी आचार्य
लम्की(कैलाली) असोज २१ गते । चुरे गाउँपालिकाबाट कक्षा ८ पास गरेर कालिका माध्यमिक विद्यालय राजीपुरमा कक्षा ९ मा पढ्न पुगेकी गीता जैशी अहिले १२ कक्षामा अध्ययनरत् हुनुहुन्छ । गीताले यसअघि पढेको विद्यालय पनि सामुदायिक नै हो । तर यहाँको पढाइ, वातावरण र शिक्षकको पढाउने शैली उहाँलाई असाध्यै मन प¥यो ।

‘हाम्रो विद्यालयमा बोर्डिङकोभन्दा राम्रो भौतिक संरचनासहित सुविधा छन्,’ गीताले भन्नुभयो, ‘मैले पढ्ने विद्यालयमा सीसी क्यामेरा जडान छ, स्मार्टबोर्ड छ, अनलाइन क्लासको व्यवस्था छ । त्योभन्दा महत्वपूर्ण कुरा त यहाँ विद्यार्थीको लक्ष्य र भावना बुझेर पढाउने हुनाले एक दिन पनि कक्षा छोड्न मन लाग्दैन ।’

सरकारले सामुदायिक विद्यालयका लागि प्रत्येक वर्ष करोडौं रकम अनुदान दिएको छ तर सदुपयोग गर्ने नगर्ने सम्बन्धित विद्यालयको हात हुने गीताको तर्क छ । उहाँलाई अझ राम्रो लाग्ने पक्ष शिक्षक डायरीले ल्याएको नियमित्ता हो । उहाँले कक्षाभित्र पस्दा शिक्षकको हातमा मार्कर, डस्टरमात्र होइन, डायरीसमेत हुँदा प्रत्येक दिन पढाउने विषयवस्तुबारे अझ सहजतासाथ पढाइ हुन्छ ।

‘शिक्षक डायरीले गर्दा हाम्रो पूरा पढाई भएको छ, कक्षामा पढाउने विषयवस्तुमा पनि गन्थन होइन, मुख्य विषयवस्तुमा केन्द्रित हुन सजिलो बनाएको छ,’ उहाँको अनुभव छ, ‘शैक्षिक क्यालेण्डरले सानो बहानामा विद्यालय बन्द हुने काम पनि बन्द गरेको छ ।’

गीतामात्र होइन, यस विद्यालयमा कक्षा १० मा अध्ययनरत् कुमार बडैला पनि कक्षा ५ देखि यहीँ पढिरहनु भएको छ । शिक्षक डायरी लागू भएपछि प्रत्येक विषय घण्टीमा शिक्षकहरु नियमित उपस्थित भई अध्यापन गराएको उहाँले बताउनुभयो । शिक्षकले पूर्वतयारी गरेर डायरीमा आज पढाउने विषयवस्तु लेखेर ल्याउने हुँदा पाठको मुख्य विषयवस्तु आउने भएकाले पढ्न सजिलो हुने रैछ, कुमारले अनुभव सुनाउनुभयो ।

गीता र कुमारजस्ता गौरीगंगा नगरपालिका सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थीको शैक्षिक सुधारमा विभिन्न कार्यक्रममध्ये शिक्षक डायरी गुणस्तर सुधारमा सहयोगी भएको धेरै विद्यार्थीको बुझाई छ ।

ऐनाको रुपमा डायरी
महादेव मावि गौरीगंगा– ९ शंकरपुरका शिक्षक हर्कबहादुर ताडीले नगरपालिकाले शिक्षकका लागि कक्षामा जानुभन्दा पहिले पूर्वतयारीका लागि डायरी दिनुका साथै शैक्षिक सामग्री राख्न झोलासमेत उपलब्ध गराएकोमा खुसी व्यक्त गर्नुभयो । ‘स्थानीय सरकारले शिक्षक विद्यार्थीका समस्या बुझेर काम गर्दा खुसी लागेको छ, शिक्षण गर्दा चाहिने सामग्री राख्न सजिलो भयो, डायरीले दैनिक पाठ्ययोजना बनाउन सजिलो बनाएको छ’ ताडीले भन्नुभयो ।

यही कारण बालबालिकाको पठनपाठन कार्यमा सुधार हुनुका साथै शिक्षकका लागि तयारी गर्ने माध्यमसमेत बनेको शिवालिक आधारभूत विद्यालय मसुरियाका प्रअ खगेन्द्र खातीले अनुभव सुनाउनुभयो । ‘सरकारले विद्यालयको भौतिक पूर्वाधारमा सहयोग गरेको छ । गुणस्तर सुधारका लागि शिक्षक डायरी लागू गराएर अर्को राम्रो काम ग¥यो,’ प्रअ खातीले डायरीबारे टिप्पणी गर्दै भन्नुभयो, ‘बिनायोजना, बिना तयारी कक्षामा जानेका लागि डायरी ऐना सावित भएको छ ।’

नगरपालिकाकै उत्कृष्ट विद्यालय कालिका मावि राजीपुरका प्रअ युवराज कंडेलले शिक्षक डायरी सुरुका दिनमा झन्झटिलो मानेर प्रयोगमा ल्याउन गाह्रो भएको बताउनुभयो । ‘यसको महत्वपूर्णबारे थाहा भएपछि प्रयोगमा ल्याइयो, पाठ्ययोजना, कार्यपात्रो, विशिष्टीकरण तालिका डायरीमा भएअनुसार शिक्षकले गर्नुपर्ने हुँदा व्यावहारिक रुपमा उपलब्धिमूलक देखियो,’ प्रअ कडेल भन्नुभयो ।

निर्वाचनका बेला गरेका प्रतिबद्धता र निर्वाचनपछि जनप्रतिनिधिका रुपमा विभिन्न कार्यक्रममा बोल्ने क्रममा गरेका बाचालाई अभिभावकहरुले भुलेका छैनन् । तर अभिभावकले सरकारी विद्यालयको गुणस्तर सुधारमा अझै सरकारकोभन्दा विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको भूमिका कमजोर रहेको दोष लगाएका छन् ।

गौरीगंगा नगरपालिका ९ का अभिभावक केशवनारायण सापकोटा सरकारले पछिल्लो समय शिक्षामा राम्रै लगानी गरेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा पढाउने बातावरण बनाउन शिक्षकले राम्रोसँग पढाएर परिणाम सुधार्नु पर्ने सुझाव दिनुभयो । ‘स्थानीय सरकार आएपछि आशा पलाएको छ, सुविधा सम्पन्न शैक्षिक भवन बनेका छन्, सरकारी विद्यालयमा पढाउने शिक्षकका सुविधा थपिएका छन्, सापकोटाले भन्नुभयो ।


शिक्षक डायरीले सिकाएको पाठ
गौरीगंगा नगरपालिकाको शिक्षा शाखा प्रमुख काभ्रेको पनौती नगरपालिकाबाट हरिश पन्त सरुवा भएर यहाँ आउनुभयो । शिक्षक डायरी कार्यक्रम पनौतीमा पनि लागु गरिएको थियो । यसले शिक्षणमा सहयोगी हुने उहाँको अनुभव थियो । ‘शिक्षकका लागि अति उपयोगी लाग्यो र नगरमा प्रस्ताव राखेको हुँ,’ पन्तले भन्नुभयो ।

पनौतीका विद्यालयमा शिक्षक डायरी कार्यक्रमले शैक्षिक गुणस्तर सुधारमा राम्रो भूमिका खेलेको उहाँको बुझाई छ । त्यही सिकाई यहाँ प्रयोगमा ल्याएको उहाँले बताउनुभयो । शिक्षक डायरी र क्यालेण्डरले कक्षा १ देखि १२ सम्मको सम्पूर्ण शैक्षिक जानकारी, पाठ्ययोजना, गाइडलाइनको काम गर्ने उहाँको अनुभव छ ।

सामुदायिक विद्यालयमा अध्यापन गराउने ४१७ शिक्षक र ४० संस्थागत शिक्षकलाई डायरी उपलब्ध गराइएको छ । कार्यक्रम लागू भएका विद्यालयको शिक्षा शाखाले अनुगमनबाट राम्रो प्रतिक्रिया आएको उहाँले बताउनुभयो । जिल्ला शिक्षा एकाइ प्रमुख कैलालीका बैकुण्ठ सुवेदीले ‘शिक्षक डायरी’ शिक्षकका लागि महत्वपूर्ण शैक्षिक सामग्री रहेको बताउनुभयो । यसको सदुपयोग निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो ।

डायरीको प्रभावकारिता
संविधानको मौलिकहक अन्तर्गत धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था गरिएको छ । संविधानको अनुसूची ८ अन्तर्गत माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई हुने व्यवस्था गरेको छ । गौरीगंगा नगरपालिका नगरप्रमुख भीमबहादुर देउवाले नगरपालिकामा ‘गौरीगंगा शिक्षा नियमावली २०७४’, ‘शिक्षा ऐन २०७६’ तथा विभिन्न कार्यविधि बनाएर अघि बढेको बताउनुभयो । नगरभित्रका ४२ सामुदायिक र २२ संस्थागत विद्यालयमा गुणस्तर सुधारसँगै संस्थागत विद्यालयलाई समेत जिम्मेवार बनाउने कार्य नीतिगत रुपमा अघि बढेको उहाँले बताउनुभयो ।

नितीगत रुपमै शैक्षिक सुधारलाई जोड दिदै शिक्षक डायरी, झोला, शैक्षिक क्यालेन्डरजस्ता ‘शिक्षा सहयोगी सामग्री’ उपलब्ध गराएको उहाँको भनाई छ । यो कार्यक्रम नयाँ भएको र गत आ.व.मा मात्र लागू गरिएको भएपनि दीर्घकालिनरुपमा प्रभावकारी हुने नगर प्रमुखको विश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?