बाबुराम शर्मा
चरीकोट, कात्तिक ३ गते । वैतेश्वर गाउँपालिका– ४ काब्रे स्थितको हनुमन्तेश्वर माध्यमिक विद्यालयले वाग्मती प्रदेशले आयोजना गरेको एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम अन्तर्गत बाख्रापालन सुरु गरेको छ ।
सामुदायिक माध्यमिक विद्यालयमा उद्यम प्रवद्र्धनमार्फत युवाको उद्यमशीलता विकासका लागि आर्थिक सहायता अनुदान दिने कार्यक्रममा छनौटमा परेपछि विद्यार्थीमार्फत बाख्रापालन सुरु गरिएको हनुमन्तेश्वर माविका प्रधानाध्यापक गोपालध्वज श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदेसमार्फत प्राप्त ६ लाख रुपियाँमा यो कार्यक्रम सञ्चालन गरिएको छ । बाख्रापालनका लागि कक्षा ६–८ बाट ६१ विद्यार्थीको दर्खास्त परेकोमा २० जना छनौट भएका छन् । प्रधानाध्यापक श्रेष्ठले जानकारी दिँदै भन्नुभयो, “५० प्रतिशतका बोयर जातका बाख्रा उपलब्ध गराइएको छ । औषतमा प्रतिबाख्रा ३० हजार परेको छ ।”
बजेट अपुगभएपछि २० जना कृषक विद्यार्थीबाट छ–छ हजार रुपियाँ डाउन पेमेन्ट लिएर र नपुग विद्यालयले व्यहोरी ९६.६ प्रतिशतको बोयर जातकै एक लाख ९५ हजार रुपियाँमा आवश्यक बोका खरिद गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रमको ढाँचाअनुसार यी बाख्राबाट उत्पादित पाठापाठी एक वर्षमा ४० किलो तौलको हुनुपर्ने र पाँच वर्षमा लगानी फिर्ता हुनुपर्ने छ । लगानी फिर्ता नगरे प्रमाणपत्र रोक्न सक्ने कार्यक्रममा उल्लेख छ । फिर्ता आएको रकम बिउँ पूजीका रुपमा अरु विद्यार्थीलाई लगानी गर्दै जानुपर्ने प्रावधान रहेको उहाँले बताउनुभयो ।
विद्यालयले किसान विद्यार्थीलाई खोर व्यवस्थापन प्राविधिक प्रबोधीकरण तालिम र बोयर जातिकै बाख्रापालनबारे जानकारी प्रदान गरेको छ । बाख्राको बिमा गरिनुका साथै हरेक हप्ता बाख्राको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएकोउहाँले बताउनुभयो ।
विद्यार्थीलाई बाख्रापालनबाट भएको आम्दानीले पठनपाठनमा सजिलो हुने, विद्यार्थीको लगन तथा मेहेनत प्रत्यक्ष समुदायमा देखिने भएकाले कार्यक्रम फलदायी सावित हुने विश्वास गरिएको छ । बाख्रापालन वृद्धि हँुदै गएपछि दर्बिलो बनाउन विद्यालयले एकजना पशु प्राविधिकको समेत व्यवस्था गर्ने प्रधानाध्यापक श्रेष्ठले बताउनु भयो ।