logo
२०८१ बैशाख १३ बिहीवार



विद्यालयहरु भौतिक उपस्थितिमा सञ्चालन हुँदै, जोखिम कायमै

शिक्षा |


विद्यालयहरु भौतिक उपस्थितिमा सञ्चालन हुँदै, जोखिम कायमै


काठमाडौं,कात्तिक २४ गते । कोभिड–१९ का कारण शैक्षिक सत्र सुरुभएपछि नै बन्द भएका विद्यालयहरु दशैं, तिहार सकिएसँगै खुल्न लागेका छन् । विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने सम्बन्धित पालिकाहरुले तयारी गरिरहेका छन् ।
काठमाडौं उपत्यका तथा अन्य जिल्लाका कतिपय पालिकाहरुले दशैं सकिएसँगै विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गरेका थिए । तर, विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नभएको भनेर आलोचना समेत भएको थियो ।
सरकारले पनि अव विद्यालय खुल्न सक्ने कुरालाई दृष्टिगत गरी भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सबै विद्यालय पुनःसञ्चालन कार्यढाँचा,२०७७ मा भएको व्यवस्था पालना गर्न आग्रह गर्नुभएको छ ।
कार्यढाँचामा अनिवार्य मास्कको व्यवस्था गर्नुपर्ने, विद्यार्थीको ज्वरो नियमित मापन गर्नुपर्ने, हात धुने साबुन वा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विद्यार्थीबीच भौतिक दूरी कायम गर्नुपर्ने, धेरै विद्यार्थी भए सिफ्टमा पठनपाठन गर्नुपर्नेलगायत व्यवस्था उल्लेख छ ।
‘स्वास्थ्य मापदण्ड पालना भए, नभएबारे सम्बन्धित पालिकाहरुले अनुगमन गर्नेछन् । तर, यसअघि खुलेका धेरै विद्यालयले स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको छ’ उहाँले भन्नुभयो ‘साना कक्षाका बालबालिकाले मास्क साटासाट गर्ने, एउटै बोतलमा पानी पिउने तथा भौतिक दूरी पालना नगर्ने समस्या देखिएको छ ।’
विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरे, नगरेकाबारे जानकारी लिन उहाँले अभिभावकसँग पनि आग्रह गर्नुभएको छ । प्रध्यानाध्यापकले पनि अभिभावकलाई विद्यालयको अवस्थाको बारेमा जानकारी गराउन उहाँको आग्रह छ ।
अभिभावकले पनि विद्यार्थीलाई विद्यालय पठाउदा खाजा बाँडेर नखान सुझाउनुपर्ने उहाँको भनाइ छ । यता चिकित्सकहरुले पनि बालबालिकामा अझै कोरोना संक्रमणको जोखिम रहेकाले विद्यालयमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न सुझाव दिँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?