logo
२०८१ असोज ८ मंगलवार



देउसी भैलोको रकम एम्बुलेन्स खरिददेखि विपन्नको उपचार र शिक्षामा खर्च

शिक्षा |
समाज |


देउसी भैलोको रकम एम्बुलेन्स खरिददेखि विपन्नको उपचार र शिक्षामा खर्च
देउसी भैलोको रकमबाट विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै । तस्विर - सिराज खान । नेपालगञ्ज



सिराज खान
नेपालगञ्ज, कात्तिक २७ गते । बाँके जिल्लामा विभिन्न संघसंस्थाले देउसी भैलो खेलेर संकलन गरेको रकमलाई एम्बुलेन्स खरिददेखि विपन्न र असहायको उपचार तथा शिक्षामा खर्च गरेका छन् ।
कोहलपुरस्थित समाजसेवा संस्था नेपालले एम्बुलेन्स खरिदका लागि देउसी भैलो खेलेर १२ लाख ५९ हजार रुपियाँ संकलन गरेर उत्कृष्ट कार्य गरेको छ ।
एम्बुलेन्सको अभावले धेरै विरामीले समयमा उपचार नपाएर समस्या भोगेको हुँदा यस पटक एम्बुलेन्स खरिदका लागि भैलो खेलिएकोमा सबैको सहयोगले यति ठुलो रकम संकलन गर्न सकिएको संस्थाका अध्यक्ष विनोद थापाले बताउनुभयो ।
यस्तै, कोहलपुर ग्यालेरीले देउसी भैलो खेलेर संकलन गरेको रकमबाट कोहलपुर १३ सिमरीस्थित प्राथमिक विद्यालयमा अध्ययनरत १५० जना विपन्न र गरिब विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
ग्यालेरीका अध्यक्ष सरोजराज शाहीले शैक्षिक सामाग्री खरिद गर्न नसक्ने अति विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दा निकै सन्तुष्टि मिलेको बताउनुभयो । सो संस्थाले देउसी भैलो खेलेर ६५ हजार रुपियाँ संकलन गरेको थियो ।
सोही प्रकारले बागेश्वरी असल शासन क्लबले अति विपन्नको उपचार र अन्य आवश्यक काममा खर्च गर्ने भनि खेलेको देउसी भैलोबाट २ लाख ६६ हजार रुपियाँ संकलन गर्न सफल भएको छ ।
संकलित सो रकमबाट जानकी गाउँपालिका जुगुन भरियाका नागेश सोनी, कोहलपुरका कमल प्रसाद उपाध्याय र नेपालगञ्ज २२ पुरैनीका रोशनी खाँलाई उपचारका लागि जनहि १०÷१० हजार सहयोग गरिएको बागेश्वरी असल शासन क्लबका कार्यकारी निर्देशक नमस्कार शाहले बताउनुभयो ।
उनीहरुका आफन्तलाई प्रदेशसभाका सांसद कृष्णा के.सी. नमुनाले चेक हस्तान्तरण गर्नुभएको हो ।
सहयोग प्राप्त गर्ने नागेश मृगौला रोगबाट पीडित हुनुहुन्छ, उहाँ आमाले दिन थालेको मृगौला प्रत्यारोपणको तयारीमा हुनुहुन्छ । कोहलपुरका कमल प्रसाद उपाध्याय करेण्ट लागेर मेरुदण्ड भाँच्चिई उपचारार्थ लखनउमा रहनु भएको छ । नेपालगञ्जकी रोशनी खाँ आमा, बुवा गुमाएकी बालिका हुन् । उनको पढाईका लागि सहयोग गरिएको क्लबले जनाएको छ ।
सो कार्यक्रममा देउसी, भैलोमा सहयोग गर्ने डाक्टर राहुल थापा, मो. सफिक बेहना, डाक्टर कुमार शान शाह, सन्तोष गुप्ता, आशिर्वाद पेन्ट्सका नवनित डाँगी, गिता खत्री, शिवकुमार बर्मा, भीमकान्त लामिछाने, पुरण थारु, ईन्दिरा शाही, , कमल शाही, दिला शाह, गजेन्द्र शाही, निलबहादुर शाक्य, लोकेन्द्रबहादुर शाह, अम्विका काफ्ले, शोभा थापा मगर, शर्मिला थापा लगायतलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?