logo
२०८१ असोज ८ मंगलवार



नवनिर्मित १२ कोठे विद्यालय भवन हस्तान्तरण

शिक्षा |
प्रदेश |


नवनिर्मित १२ कोठे विद्यालय भवन हस्तान्तरण


लोकेन्द्र जोशी
दार्चुला, मङ्सिर १२ गते । दार्चुलाको महाकाली नगरपालिका– ७ धापमा रहेको मालिकार्जुन नमुना मावि धापमा आइतबार १२ कोठे विद्यालय भवनको समुद्घाटन एबं हस्तान्तरण गरिएको छ । भारतीय राजदूतावासको सहयोगमा निर्माण भएको १२ कोठे भवनलाई निर्माण व्यवसायीको तर्फबाट सर्पराज बडूले महाकाली नगरपालिकाका अधिकृत नरसिह बडाललाई सो भवन हस्तान्तरण गर्नुभयो ।

भारतीय राजदूतावास काठमाडौँका नियोग उपप्रमुख नामग्य सी. खम्पाले मावि धापमा निर्माण भएको भवन एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो । भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका लागि उपप्रमुख खम्पा शनिबार नै दार्चुला आउनुभएको हो ।

तीन करोड १४ लाख रुपियाँ बजेट रहेकोमा टेण्डर प्रक्रियामार्फत निर्माण कम्पनीसँग घटाघटीमा दुई करोड ५३ लाख रुपियाँमा भवन निर्माण सम्झौता भएको विद्यालयका प्रधानाध्यापक सुन्द्रसिंह बुढाथोकीले जानकारी दिनुभयो । राजदुतावासका उपप्रमुख खम्पाको प्रमुख आतिथ्यतामा भएको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्टलगायत जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीको सहभागिता थियो ।

मालिकार्जुन नमुना माबि धापमा कक्षा १२ सम्मको पढाइ हुँदैआएको छ । प्राविधिक धारतर्फ कक्षा ९ देखि सिभिल इन्जिनियरिङ विषयको समेत पढाइ हुनेगरेको प्रधानाध्यापक बुढाथोकीले बताउनुभयो । मावि धाप सदरमुकाम नजिकै रहेको र पढाइ राम्रो हुने गरेकाले विद्यार्थीको आकर्षण बढिरहेको विद्यालयको भनाइ छ ।

भारतीय राजदूतावासका उपप्रमुख खम्पा भवन हस्तान्तरण गरेर दार्चुला सदरमुकाम खलङ्गा फर्किनुभएको छ । खलङ्गामा जिल्ला समन्वय समितिका पदाधिकारी, जनप्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ । सोमबार राजदूतावासको तर्फबाट दुहुँ गाउँपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण गरेर काठमाडौँ फर्किने कार्यक्रम रहेको प्रधानाध्यापक बुढाथोकीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?