logo
२०८० चैत्र १५ बिहीवार

  प्राज्ञिक थलाे  



थेसिस किलोको १२ रुपियाँमा बिक्छ, वार्षिक आठ लाख कमाउँछ त्रिवि

शिक्षा |
पढ्नै पर्ने |


थेसिस किलोको १२ रुपियाँमा बिक्छ, वार्षिक आठ लाख कमाउँछ त्रिवि


काठमाडौं, मङसिर १२ गते । स्नातकोत्तर तहको शोधपत्र (थेसिस) विद्यार्थीले बुझाएको छ महिनापछि प्रतिकिलो १२ रुपियाँमा त्रिभुवन विश्वविद्यालयले बेच्ने गरेको छ । विश्वविद्यालय परीक्षा नियन्त्रक पुष्करराज जोशीका अनुसार राख्ने ठाउँको अभावमा छ महिना कटेपछि थेसिस बेच्ने गरिएको छ ।

विद्यार्थीले थेसिस विश्वविद्यालयमा तीन प्रति बुझाउनुपर्छ । एक प्रति क्याम्पसमा, एक प्रति केन्द्रीय पुस्तकालयमा र एक प्रति परीक्षा नियन्त्रण कार्यालयमा । वि.सं. २०५६ पछि मात्र थेसिस बेच्ने गरिएको उहाँको भनाइ छ । त्यो भन्दा पहिले पुराना भएका थेसिसहरु खाल्डोमा पुर्ने गरिएको बताउनुभयो ।

‘थेसिहरु धेरै जम्मा हुन्छन् राख्ने ठाउँको अभाव हुन्छ । छ महिना कटेपछि थेसिस कागज उद्योगलाई बेचिदिन्छौं, यसबाट विश्वविद्यालयलाई केही रकम पनि जम्मा हुन्छ र कागजको सही सदुपयोग हुन्छ,’ उहाँले भन्नुभयो । यसरी थेसिस बेचेवापत प्रतिवर्ष आठ लाख रुपियाँ विश्वविद्यालयमा जम्मा हुने जोशीले बताउनुभयो ।

वि.सं. २०५६ सालपूर्व थेसिस खाल्डोमा पुर्दा १२–१५ हजार खर्च हुन्थ्यो तर अहिले उद्योगलाई विक्री गर्दा केही पैसा पनि सङ्कलन हुने र कागजको पनि पुनः प्रयोग हुने हँुदा विक्री गरिएको जाशीको भनाइ छ ।

पहिले थेसिसहरु बेच्दा कतिपय चना–चटपट खानेहरुको हातसम्म पुग्दा व्यापक विरोध भयो । ‘अहिले हाम्रो निगरानी मै उद्योगमा कागज प्रशोधन गराउछौँ’ उहाँले भन्न्नुभयो ‘यो रकम विश्वविद्यालयलाई नै हुने भएकाले व्यक्तिगत रुपले बेचेकोजस्तो रुपमा नलिनुहोला ।’ यता विश्वविद्यालयका केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले पुस्तकालयमा उपलब्ध हार्ड कपी थेसिसलाई व्यवस्थापन गर्न समस्या भएको हुनाले नै पुराना थेसिसहरु बेचिने गरेको बताउनुहुन्छ ।

‘विद्यार्थीले दुःख गरेर थेसिस लेखेका हुन्छन् तर हार्ड कपीहरु राख्नको लागि ठाउँ नै अभाव हुन्छ । त्यसकारण पुराना थेसिसलाई उद्योगमा केही रकम लिगेर बेच्ने गरिएको साँचो हो,’ उहाँले भन्नुभयो ।

यसरी बेच्दा केही रकम पनि आउने र सो रकम विश्वविद्यालयलाई नै हुनाले पुराना थेसिस बेच्नुलाई गलत रुपमा लिन नहुने उहाँ बताउनुहुन्छ । अब थेसिसहरुलाई ई–लाइब्रेरी बनाएर राख्ने बताउनुभयो । ‘विद्यार्थीले दुःखले तयार पारेको थेसिस बेच्नु त पक्कै पनि राम्रो होइन ।

अब यस्तो हुन नदिन नीति नै बनाएर थेसिसलाई सफ्ट कपी बनाएर ई–लाईब्रेरी बनाएर राख्ने हाम्रो योजना छ’, उहाँले भन्नुभयो ‘केही थेसिसलाई त अहिले पनि पिडिएफ फाइल बनाएर राखेका छौँ ।’ थेसिसहरु विद्यार्थीले धेरै मिहिनेतका साथ बनाउने हुँदा यस्ता थेसिसहरु सुरक्षित राख्नुपर्ने उहाँको तर्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?