logo
२०८१ असोज ८ मंगलवार



परीक्षा बोर्ड अध्यक्षका लागि १५ जनाको आवेदन

शिक्षा |


परीक्षा बोर्ड अध्यक्षका लागि १५ जनाको आवेदन



गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १६ गते । राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्ष पदका लागि १५ जनाले दरखास्त दिनुभएको छ । अध्यक्ष सिफारिस समितिले सूचना आह्वान गरेपछि उहाँहरुले दरखास्त दिनुभएको हो ।

दरखास्त दिनेहरुमा पूर्व सचिवद्धय डा. महाश्रम शर्मा र लक्ष्मीराम पौडेल, बोर्डकै अनुसन्धान, गुणस्तर तथा शासकीय सुधार महाशाखाका प्रमुख डा. रामचन्द्र पाण्डे पनि हुनुहुन्छ । वीरवंश बैठा, सुदर्शन पौडेल, कृष्णप्रसाद आचार्य, प्रा.डा. घनश्याम भट्टराई, डा. बाबुराम खनाल, जुद्धबहादुर पुन, डा. घनश्याम ठाकुरले पनि आवेदन दिनुभएको छ । प्रा.डा. शोभाखर कँडेल, दयामान कर्माचार्य, हरेराम शर्मा फुँयाल, दुर्गाप्रसाद पाण्डे र प्रा.डा. महानन्द चालिसेले पनि अध्यक्षका लागि आवेदन हालेको अध्यक्ष छनौट समितिले जनाएको छ ।

अध्यक्षका लागि शिक्षा तथा परीक्षाको क्षेत्रमा १२ वर्षको अनुभव भएका र कुनै पनि राजनीतिक दलको सदस्य नभएको व्यक्तिले दरखास्त दिन पाउने कानुनी व्यवस्था छ । शिक्षा क्षेत्रको अनुभव भने पनि प्राध्यापनमा १२ वर्ष बिताएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । दरखास्त दिने व्यक्तिले बोर्डको नेतृत्व गर्ने सम्बन्धि अवधारणापत्र र चार वर्षको व्यवसायिक कार्ययोजना पनि पेश गर्नुपर्ने प्रावधान छ । बोर्ड अध्यक्षका लागि उमेरको हदबन्दी छैन । प्राप्त दरखास्तलाई मन्त्रालयले लोकसेवा आयोगमा पठाएको छ ।

बोर्ड अध्यक्ष छनोटको लागि लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्था अनुसार आयोग अध्यक्ष माधवप्रसाद रेग्मीको संयोजकत्वमा प्राध्यापक डा. लेखनाथ शर्मा र मीना गुरुङ सदस्य रहेको समिति गठन भएको थियो ।

दरखास्त दिनेहरुको अवधारणापत्र र कार्ययोजनाको समेत मूल्याङ्कन गरेर छनोटका लागि एक जनाको नाम सरकारलाई बुझाउने नेपाल खुल्ला विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहनुभएका सिफारिस समितिका सदस्य प्राध्यापक डा. लेखनाथ शर्माले बताउनुभयो । कक्षा १२ सम्मको शिक्षा विद्यालय संरचनामा गाभिएपछि तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद खारेज भएर परीक्षा बोर्ड गठन भएको हो । बोर्डका पहिलो अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको चार वर्षे कार्यकाल केही समयअघि सकिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?