logo
२०८१ असोज ८ मंगलवार



कक्षामा चिसो भएपछि बाहिर पठनपाठन

शिक्षा |


कक्षामा चिसो भएपछि बाहिर पठनपाठन
लालीगुराँस मावि लिप्नेमा खाली जग्गामा अध्ययन गरिँदै । तस्बिर - राजन रावत, हुम्ला



राजन रावत
हुम्ला, मङ्सिर २१ गते । कक्षा कोठामा पढ्नै नसक्ने गरी चिसो हुन थालेपछि एउटा विद्यालयका सम्पूर्ण कक्षाको पठनपाठन अन्नवाली थन्क्याएको खाली जग्गामा पठनपाठन हुने गरेको छ । साढे दुई घण्टा मात्र घाम लाग्ने सो विद्यालयमा चिसोबाट जोगिनकै लागि खुल्ला जग्गामा पढ्ने कार्य हुँदै आएको हो ।

जिल्लाको सर्केगार्ड गाउँपालिका– २ र ३ का विद्यार्थीहरुले पठनपाठन गर्दै आएको लालीगुराँस माध्यामिक विद्यालयका प्रधानाध्यापक कालीबहादुर महताराले कक्षामा चिसोले बसेर पढ्ने अवस्था नभएपछि खाली जग्गामा पढाउने कार्य भइरहेको बताउनुभयो । उहाँले विहान १० बजे लाग्ने घाम साढे एघार बजे नै अस्ताउने भएपछि त्यसपछिका कक्षा सबै खल्ला जग्गामा हुने गरेको बताउनुभयो ।

उहाँले घाम नलागेको दिन विद्यार्थी र शिक्षक मिलेर आगो बालेर पठनपाठन पनि गर्नु परिरहेको जानकारी दिनुभयो । माथिल्लो कक्षाका विद्यार्थीलाई चिसोले कठिन हुन थालेपछि साना कक्षाका नानीहरु सुरुमै बाहिर बस्ने गर्नुहुन्छ ।

कक्षा सातमा अध्ययनरत छात्रा सरस्वती फडेराले चिसोले कक्षामा बस्नै नसक्ने अवस्था रहेको बताउनुभयो । चिसो हुने भए पनि बाहिर खाली जग्गामा ढुङ्गा बिछ्याएर विद्यार्थी बस्दै आउनुभएको छ भने शिक्षकले कुर्ची प्रयोग गर्नुहुन्छ । कक्षा एक देखि दशसम्म पठनपाठन हुने उक्त विद्यालयमा २७५ जना विद्यार्थीहरु रहनुभएको छ ।

उक्त विद्यालय कर्णाली नदीको तिरमा रहेको खोचमा भएको कारण वर्षेनी मङ्सिर महिनापछि यसरी पढाउनु पर्ने वाध्यता रहेको छ । हुम्लाको यो विद्यालय मात्र होईन जाडो महिनामा अधिकांश विद्यालयमा चिसो कै कारण कक्षा कोठा बाहिरै पढाउनु पर्ने अवस्था रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?