logo
२०८१ बैशाख ७ शुक्रवार



पढ्दै कमाउँदै कार्यक्रमको निर्देशिका बन्ने क्रममै

शिक्षा |


पढ्दै कमाउँदै कार्यक्रमको निर्देशिका बन्ने क्रममै


काठमाडौं, मङ्सिर २६ गते । सरकारले ल्याएको आ व २०७८/७९ को प्रतिस्थापन विधेयकमा कक्षा १२ सम्मका विद्यार्थीलाई प्रोत्साहित गर्ने उद्देश्यले ‘पढ्दै कमाउँदै कार्यक्रम’ लागू गर्ने उल्लेख छ । तर, उक्त कार्यक्रमको निर्देशिका निर्माणको क्रममै रहेको शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयका प्रवक्ता दीपक शर्माले अहिले यससम्बन्धी निर्देशिका बनाउन छलफल भैरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘पढ्दै कमाउँदै कार्यक्रमको निर्देशिका तयार पार्ने विषयमा विज्ञहरुसँग छलफल गरेका छौँ। विज्ञको सुझावका आधारमा यसको निर्देशिका तयार पारी स्वीकृत भएपछि यो कार्यक्रम सबै प्रदेशका केही विद्यालयमा नमुनाको रुपमा यो आ.वमा लागू गरिनेछ ।
 
प्रभावकारी देखिएमा विस्तारै बढाउँदै लगिनेछ । ’ प्रतिस्थापन बजेटको ४१ नम्बर बुँदामा प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमूनाका रुपमा सुरुवात गरिने जनाइएको छ । तर, अहिलेसम्म यसबारेमा मन्त्रालयले कार्यविधि बनाई स्वीकृत गर्न सकेको छैन । बुधबार शिक्षामन्त्री देवेन्द्र पौडेलले नवलपरासीको एक विद्यालयको कार्यक्रममा पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी भइरहेको जानकारी दिनुभएको थियो ।
 
शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्नको लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’ लागू गर्ने तयारी भइरहेको बताउनुभएको थियो । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा,मानव विकास तथा स्रोत केन्द्रका प्रमुख चुरामणि पौडेलले यो कार्यक्रमको निर्देशिका तयार भएपछि सम्बन्धित विद्यालयमा तत्काल लागू गर्ने उहाँले बताउनुभयो ।
 
उहाँँले भन्नुभयो,‘यो कार्यक्रम फलदायी हुने हाम्रो आशा छ। अहिले यसको निर्देशिकामाथि छलफल भैरहेको छ ।उक्त निर्देशिका स्वीकृत भएपछि कार्यन्वयन गर्ने जिम्मा हाम्रो हो,त्यसलाई कार्यान्वयन गछौँ ।’ शिक्षाविद् डा.सुमन तुलाधरले यो कार्यक्रम सान्दर्भिक र समयसापेक्ष रहेको बताउनुभयो ।
 
यसले सिमान्तकृत तथा आयस्तर कमी भएको समुदायका विद्यार्थीका लागि यो कार्यक्रम फलदाई हुने उहाँले बताउनुभयो । पछिल्लो १० वर्षको शिक्षालाई हेर्दा सात–आठ कक्षा पढ्दा नै विद्यार्थीले विद्यालय छाड्ने परम्परा रहेकाले यसले त्यसलाई पनि रोक्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘हाम्रो समुदायमा जसले बढी पैसा आर्जन गर्न सक्छ उसलाई नै सम्पन्नशाली व्यक्तिको रुपमा हेरिन्छ।'
 
किशोरावस्थामा पुगेपछि पुरुष विद्यार्थीलाई कमाउनको लागि आग्रह गरिन्छ, यसकारण विद्यार्थीले विद्यालय छाड्ने गरेको देखिन्छ’ उहाँले भन्नुभयो ‘यो कार्यक्रमले आम्दानी पनि गर्न सकिने भएकाले विद्यार्थीले विद्यालय छाड्ने अवस्थाको पनि अन्त्य हुनेछ । यस्तै, शिक्षाविद् डा. मनप्रसाद वाग्लेले पनि यो कार्यक्रम प्राविधिक विद्यार्थीका लागि मात्र नमूनाको रुपमा नभई सार्वजनिक विद्यालयमा नै लागू गर्नु उपयुक्त हुने बताउनुभयो ।
 
विदेशी मोडेललाई नेपालमा लागू गर्न खोज्नु प्रशंसनीय भए पनि यसको कार्यान्वयन पक्ष बलियो हुनुपर्ने उहाँको तर्क छ । शिक्षालाई विद्यार्थीको सिपसँग जोड्नु राम्रो कुरा हो तर यसलाई प्राविधिक क्षेत्रमा मात्र नभई अन्य सामुदायिक विद्यालयमा पनि नमूनाको रुपमा लागू गर्नुपर्ने उहाँको तर्क छ ।
 
शिक्षाविद् डा.विनयकुमार कुशियैतले पनि कार्यक्रम राम्रो रहेकाले कार्यन्वयन पक्ष चुनौतीपूर्ण रहेको बताउनुभयो । पढ्दै कमाउँदै कार्यक्रमले विद्यार्थीलाई अप्रत्यक्ष रुपमा काम दिलाउनुपर्ने बताउनुहुन्छ । प्रत्यक्ष रुपमा काम लगाउँदा बालबालिका ऐन विपरित हुने भएकाले विद्यार्थीलाई अप्रत्यक्ष रुपमा कमाई गर्ने वातावरण सृजना गर्नु आवश्यक रहेको बताउनुभयो ।
 
 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?