logo
२०८१ असोज ८ मंगलवार



आर्थिक हैसियत भएका सीमित वर्गको मात्र त्रिवि हुन नहुने : प्रम देउवा

शिक्षा |
मुख्य समाचार |


आर्थिक हैसियत भएका सीमित वर्गको मात्र त्रिवि हुन नहुने : प्रम देउवा


 

काठमाडौं, पुस ५ गते । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र त्रिभुवन विश्वविद्यालय हुन नहुने बताउनुभएको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।

उहाँले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको उल्लेख गर्नुभयो । ‘शिक्षा सबैका लागि हुनुपर्छ । आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र हुनुहुँदैन भन्ने सरकारको मान्यता छ । सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्छ,’ उहाँले भन्नुभयो । त्यस्तै दीक्षित विद्यार्थीहरुलाई जीवन र परिवारको भविष्य निर्माण गर्दै मुलुकका लागि सुयोग्य नागरिक बन्न प्रेरित गर्नुहुँदै प्रधानमन्त्री देउवाले दीक्षित विद्यार्थीले सचेत र शिष्ट नागरिक बन्दै राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

समारोहमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललगायतले सम्बोधन गर्नुभयो । त्यस्तै त्रिविबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरूमा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी सर्वप्रथम हुने उत्कृष्ट २१ विद्यार्थीलाई २९ विधामा पदक एवं पुरस्कार वितरण गरिएको छ । जसमा उत्कृष्ट १३ जना छात्रा र ८ जना छात्र रहेका छन् । उत्कृष्टमध्ये दुई जना उपदेश सुवेदी र प्रमोद नेपालले जनही तीन वटा पदक प्राप्त गर्नुभएको छ । सुवेदीले चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ स्वर्णपदक र रामप्रसाद मानन्धर स्वर्णपदक प्राप्त गर्नुभएको छ भने नेपालले तारापद चौधरी पदक, खगेन्द्रमानसिंह प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार प्राप्त गर्नुभएको छ ।

यसैगरी, चार जनाले दुई/दुई वटा पदक एवं पुरस्कार प्राप्त गर्नुभएको छ भने १५ जनाले एक–एक वटा पदक एवं पुरस्कार प्राप्त गर्नुभएको छ । उत्कृष्ट सूचीमा रहेका विद्यार्थीहरू सृष्टि न्यौपाने, विवेकराज भट्टराई, प्रतीक्षा सिंह र मन्दिरा न्यौपानेले जनही दुई वटा पदक एवं पुरस्कार प्राप्त गर्नुभयाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?