logo
२०८१ असोज ८ मंगलवार



शिक्षा ऐन द्रुत मार्गबाट ल्याइने

शिक्षा |


शिक्षा ऐन द्रुत मार्गबाट ल्याइने



गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ९ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले द्रुत मार्गबाट सङ्घीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा मन्त्री पौडेलले यस्तो जानकारी दिनुभएको हो । ऐन ल्याउन मन्त्रालयलाई सकारात्मक सहयोग गर्न पनि उहाँले समितिका सदस्यहरूसँग अनुरोध गर्नुभयो ।
शिक्षामन्त्री पौडेलले भन्नुभयो, “सङ्घीय शिक्षा ऐन, प्राविधिक तथा व्यावसायिक शिक्षा ऐन र उच्च शिक्षासम्बन्धी ऐन ल्याउन नसक्दा शिक्षामा नकारात्मक असर परिरहेको छ । कसरी यी ऐन छिटो ल्याउन सकिन्छ भन्ने विषयमा मन्त्रालय गम्भीर भएर छलफलमा जुटेको छ । ”

पूर्वशिक्षामन्त्रीहरूले गरेको कामलाई निरन्तरता दिँदै ऐनका विषयमा सरोकारवाला पक्षसँग छलफल भइरहेको बताउनुभयो । उहाँले ऐन ल्याउने विषयमा सरोकारवाला पक्ष र विज्ञका कुरा बाहेक अन्य व्यक्तिको दबाब स्वीकार्य नहुने पनि स्पष्ट पार्नुभयो ।

बैठकमा पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा सुधारका लागि विगतमा भएका कामलाई पनि स्वीकार गर्नुपर्ने बताउनुभयो । समितिका सदस्य खगराज अधिकारी, अञ्जना विसुङ्खेलगायतले परम्परागत शिक्षालाई प्रविधिसँग जोड्न सुझाव दिनुभयो । समितिकासदस्य विद्या भट्टराईले प्राविधिक धार (९–१०)लाई व्यवस्थित गरी प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?