logo
२०८१ जेष्ठ ५ शनिवार



लमजुङमा बहुप्राविधिक शिक्षालयको भवन निर्माण सुरु

शिक्षा |
प्रदेश |


लमजुङमा बहुप्राविधिक शिक्षालयको भवन निर्माण सुरु


बेलिना थापा
लमजुङ, माघ १७ गते । लमजुङको राइनास नगरपालिका ८, कुसुण्डेचौरमा राइनास बहुप्राविधिक शिक्षालयको भवन निर्माण कार्य सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटीईभीटी) को आंगिक शिक्षालयको रुपमा रहेको बहुप्राविधिक शिक्षालयको एक कार्यक्रमबीच शिलन्यास भएको छ ।

राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले शिक्षालयको शिलान्यास गर्दै वर्तमान समयमा सीपमूलक र रोजगारमूलक शिक्षाको आवश्यकता परेको बताउनुभयो । अबको शिक्षा बेरोजगार सिर्जना गर्ने नभई रोजगारमा लाग्न सकिनेखालको हुनुपर्ने उहाँले बताउनुभयो ।

प्राविधिक शिक्षाले सीपसँगै रोजगारको अवसर दिने भएकाले प्राविधिक शिक्षाको महत्व रहेको उहाँको भनाई छ । नगरपालिकाले प्राविधिक शिक्षामा जोड दिएको उहाँले बताउनुभयो । बहुप्राविधिक शिक्षालयको भवन निर्माणपछि प्राविधिक शिक्षा अध्ययन गर्न चाहने युवायुवतीका लागि सहज हुने उहाँको भनाई छ ।

राइनास क्षेत्रको शैक्षिक गौरवको रुपमा रहेको राइनास बहुप्राविधिक शिक्षालयको भवन ३२ कोठे हुने बताइएको छ । सरकारको ४ करोड ३३ लाख रुपियाँमा भवन बनाउने सम्झौता भएको छ । शिक्षालयका प्रमुख इश्वरीचन्द्र देवकोटाकाअनुसार प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् (सीटीईभीटी) को नाममा रहेको २३ रोपनी जग्गा, स्थानीयले दिएको ८ रोपनी, राइनास नगरपालिकाले दिएको २ रोपनी र बीरभक्ति माविले भोगचलनको लागि दिएको २३ रोपनी गरी ५६ रोपनी जग्गामा भवन लगायत संरचना निर्माण हुन लागेको हो ।

भवन निर्माणको जिम्मा पृथ्वी बिसी जेभी काठमाडौंले लिएको उहाँले बताउनुभयो । भवन निर्माण कार्य ठेक्का सम्झौताअनुसार एक वर्षको रहेको छ । आगामी असार मसान्तमा निर्माण सक्न निर्माण कम्पनीलाई अनुरोध गरिएको देवकोटाले बताउनुभयो । राइनास प्राविधिक शिक्षालयले २०७७ असोज १५ गतेदेखि प्रशिक्षण सुरु गरेको हो ।

शिक्षालयबाट विद्यार्थीले ५० हजार रुपियाँ मात्र तिरेर अध्ययन गर्न पाउनेछन् । ५ हजार धरौटी राख्ने गरिएको छ । गरिब तथा किसान बर्गको छोराछोरीलाई लक्षित गरी शिक्षालयले अध्यापन गराउँदैआएको देवकोटाको भनाई छ । प्राविधिक जनशक्ति निर्माण गर्ने र आयआर्जनमा जोड्ने उद्देश्यसहित पठनपाठन भइरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?