logo
२०८१ बैशाख २२ शनिवार



शिक्षकलाई ५० हजार प्रोत्साहन भत्ता प्रदान

शिक्षा |
प्रदेश |


शिक्षकलाई ५० हजार प्रोत्साहन भत्ता प्रदान


अमरराज नहर्की
तनहुँ, माघ २८ गते । तनहुँको भानु नगरपालिकाले स्वेच्छिक अवकाश हुने शिक्षकलाई ५० हजार प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ । शिक्षक दरबन्दी मिलानमा समस्या देखिए पछि नगरपालिकाले प्राथमिक तहका शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो ।

राजीनामा स्वीकृत भएपछि अवकाश गर्ने शिक्षकलाई ५० हजार प्रोत्साहन भत्ता प्रदान गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकामा प्राथमिक तहमा १०० जना शिक्षक दरबन्दी बढी रहेको र शिक्षक दरबन्दी बढी हुँदा नेपाल सरकारलाई आर्थिक भार परेकाले प्रोत्साहन भत्ता दिएर सम्मानजनक विदाई गर्ने गरिएको नगर शिक्षा अधिकारी धु्रवराज पौडेलले बताउनुभयो ।

सम्मानजनक विदाई कार्यक्रम अन्तर्गत ऐच्छिक अवकाश लिनेलाई नगरपालिकाको आन्तरिक स्रोतबाट ५० हजार नगद प्रोत्साहन रकम १३ जना शिक्षकलाई ६ लाख ५० हजार रुपियाँ प्रदान गरिसकिएको पौडेलले जानकारी दिनुभयो । एक जना शिक्षक बराबर नेपाल सरकारलाई वार्षिक चार लाख रुपियाँभन्दा बढी आर्थिक भार पर्ने गरेको छ ।

अवधि पुगेका शिक्षकलाई अवकाश गर्न प्रोत्साहन गर्नेजस्ता कार्यलाई प्राथमिकता दिइएको पौडेलले बताउनुभयो । विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी बढी हुँदा शिक्षकको व्यवस्थापन गर्न ‘सम्मानजनक शिक्षक विदाई कार्यक्रम छनोट गरी वजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

नगर शिक्षा अधिकारी पौडेलकाअनुसार प्राथमिक तहमा १७९ दरबन्दी रहेकोमा १०० बढी भएपनि निम्नमाध्यामिक तथा माध्यमिक तहमा भने शिक्षक सङ्ख्या कम छ । निम्नमाध्यामिक विद्यालयमा ११५ जना शिक्षक चाहिनेमा ८९ मात्रै भएकाले २६ दरबन्दी कम रहेको छ । माध्यामिक तहमा १११ चाहिनेमा ९० जना मात्रै भएकोले २१ शिक्षक कम रहेको उहाँको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?