logo
२०८१ बैशाख २० बिहीवार



ताप्लेजुङका २१ विद्यालयको पक्की भवन बन्ने

शिक्षा |
प्रदेश |


ताप्लेजुङका २१ विद्यालयको पक्की भवन बन्ने


चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन ४ गते । ताप्लेजुङका विभिन्न २१ वटा सामुदायिक विद्यालयको पक्की भवन बन्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत सो सङ्ख्यामा विद्यालयको चार र दुई कोठे पक्की भवन बन्ने भएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत पूर्वाधार संरचना निर्माण तथा आईसीटी ल्याब व्यवस्थापन कार्य गर्नेगरी देशभरका विद्यालयलाई छनोट गरेको बताइएको छ । मन्त्रालयको छनोटमा परेकामध्ये भवन संरचना अभाव रहेका ताप्लेजुङका २१ वटा विद्यालयको पक्की भवन बन्ने भएको छ ।

जिल्लाका १२ वटा विद्यालयको चारकोठे र नौवटा विद्यालयको दुईकोठे भवन बन्ने भएको छ । जसमा मेरिङ्देन गाउँपालिकामा सिंहकाली माध्यमिक विद्यालय, सुर्के माध्यमिक विद्यालय र जालपा आधारभूत विद्यालयको चार कोठे पक्की भवन बन्ने भएको छ । यस्तै, मैवाखोला गाउँपालिकामा महेन्द्र माध्यमिक विद्यालय, आठराई त्रिबेणी गाउँपालिकामा सरस्वती माध्यमिक विद्यालय र जलकन्या आधारभूत विद्यालयको चार कोठे भवन बन्ने भएको छ ।

त्यस्तै, फुङ्लिङ नगरपालिकाको युवावर्ष माध्यमिक विद्यालय, सिदिङ्वा गाउँपालिकामा इन्द्रावती आधारमूत विद्यालय साब्लाखु र फक्ताङ्लुङ गाउँपालिकामा सिँवा माध्यमिक विद्यालयको चार कोठे पक्की भवन बन्नेछ । पाथीभरा याङ्वरक गाउँपालिकामा थेचम्बु माध्यमिक विद्यालय, मिक्वाखोला गाउँपालिकामा बाल्देन माध्यमिक विद्यालय र सिरिजङ्घा गाउँपालिकामा दुर्गा माध्यमिक विद्यालयको चार कोठे भवन बन्नेछ ।

सोहीअनुसार फुङ्लिङ नगरपालिकामा शान्ति आधारभूत, बगरबारी आधारभूत, याङ्लिजुङ आधारभूत र फुङ्लिङ आधारभूत विद्यालयको दुई कोठे पक्की भवन बन्ने भएको छ । त्यस्तै सिदिङ्वामा आँगेपा आधारभूत विद्यालय, मिक्वाखोलामा ओझागाउँ आधारभूत, पाथीभरा याङ्वरकमा त्रिभुवन आधारभूत विद्यालयको पनि दुई कोठे भवन बन्ने भएको छ । सिरिजङ्घाको सुदाप आधारभूत विद्यालय र मैवाखोला गाउँपालिकाको जनकल्याण माध्यमिक विद्यालयको दुई कोठे भवन बन्ने बताइएको छ ।

पक्की भवन बन्नेगरी योजना छनोट भएपछि सम्बन्धित विद्यालयका प्रतिनिधिहरुले खुसी व्यक्त गर्नुभएको छ । सिदिङ्वा गाउँपालिका–४ साब्लाखुस्थित इन्द्रावती आधारभूत विद्यालयकी प्रधानाध्यापक अनिता इवारमले विद्यालय स्थापनाकालदेखि कच्ची जीर्ण भवनमा जोखिम मोलेरै पठनपाठन सञ्चालन गर्दैआएकोमा सरकारले भवन बनाउने भएपछि राहत मिलेको बताउनुभयो । आईसीटी ल्याब व्यवस्थापनका लागि पनि जिल्लाका १८ वटा विद्यालय छनोट भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?