logo
२०८१ बैशाख २३ आईतवार



जेठ १ देखि नयाँ शैक्षिक सत्र

शिक्षा |


जेठ १ देखि नयाँ शैक्षिक सत्र


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ५ गते । सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्रको पठनपाठन आगामी जेठ १ बाट सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले बुधबार मन्त्रालयले यसबारे निर्णय गरेको बताउँदै भन्नुभयो, “भर्नालगायतका प्रक्रिया आगामी वैशाखमा सक्ने र पठनपाठन जेठ १ बाट थालेर २०७९ साल चैत मसान्तभित्र सक्ने निर्णय भएको छ ।”

गत असारबाट नयाँ शैक्षिक सत्र सुरु भएको हो । गएको मङ्सिरबाट मात्र भौतिक उपस्थितिमा पठनपाठन हुँदै आएको थियो । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण शिक्षण संस्था पुनः एक महिना बन्द भए । आइतबारबाट पुनः शिक्षण संस्था नियमित भएका छन् ।

उहाँले चालू शैक्षिक सत्रको पठनपाठन आगामी चैत मसान्तसम्म जारी राख्ने, आगामी वैशाखमा कक्षा १० सम्मका सबै कक्षाका परीक्षा सञ्चालन गर्ने, नतिजा सार्वजनिक गर्ने, नयाँ भर्ना प्रक्रिया थाल्ने र पाठ्यपुस्तक व्यवस्थापन गर्ने गरी शैक्षिक योजनालाई मन्त्रालयले स्वीकृत गरेको बताउनुभयो । “स्थानीय तहले कक्षा ८ को परीक्षा आफ्नो अनुकूूल हुने गरी वैशाखमै सक्नुपर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।

यति बेला जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक छपाइ धमाधम गरिरहेको छ । आगामी शैक्षिक सत्रमा कक्षा ९ को नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइँदै छ । त्यसका लागि अनिवार्य पाँचमध्ये दुई विषयका मात्र पाठ्यपुस्तकको छपाइ रेडी कपी (पीआरसी) जनक शिक्षालाई उपलब्ध गराइएको छ । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि जनक शिक्षाले नै मतपत्र छाप्नेछ ।

जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिल झाले मतपत्र छाप्नुपर्ने भए पनि पाठ्यपुस्तक छपाइमा असर नपारिने बताउँदै भन्नुभयो, “कतिपय विषयका पीआरसी प्राप्त नभएकाले तिनको प्रतीक्षामा छौँ । ती समयमा प्राप्त भए आगामी वैशाख मध्यसम्ममा पाठ्यपुस्तक छापेर वितरण गरिसक्छौँ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?