logo
२०८१ बैशाख २३ आईतवार



पूर्व राजपरिवारबाट विद्यार्थीलाई सहयोग

शिक्षा |
प्रदेश |


पूर्व राजपरिवारबाट विद्यार्थीलाई सहयोग


गोविन्द शर्मा
बाँके, फागुन ७ गते । पूर्व राजपरिवारका सदस्यहरुले नेपालगञ्जमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्नुभएको छ । हिमानी कोषको आयोजनामा शनिबार नेपालगञ्जमा भएको कार्यक्रममा पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिङ र पूर्वशाहज्यादी दिलाशा राज्यलक्ष्मी राणाले तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पानी स्वतः प्रशोधन हुने बोतल र मास्क हस्तान्तरण गर्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाकाअनुसार नगरको हनुमान प्रा.वि., नेपाल राष्ट्रिय आधारभुत विद्यालय घरबारी टोली र पाटेश्वरी आधारभुत विद्यालयका ६०० विद्यार्थीलाई पानी स्वतः प्रशोधन हुने बोतल सहयोग गरेको हो । हिमानी कोषले यसअघि पनि नेपालगञ्जमा सिलाइकटाइ तालिम लिएका महिलालाई मेसिन सहयोग गरेको नगरप्रमुख राणाले भन्नुभयो ।

अहिले फेरि आधारभूत विद्यालयका विद्यार्थीको स्वास्थ्यलाई विचार गर्दै बोतल सहयोग गरेको राजपरिवारका सदस्यहरुले बताएका छन् । हिमानी कोषले पानीजन्य रोग न्यूनीकरणका लागि स्वतः प्रशोधन हुने बोतल ससाना विद्यार्थीलाई सहयोग गरिएको राणाले बताउनुभयो ।

“बोतलमा पानी आफै फिल्टर हुन्छ,”– हिमानी कोषका कार्यालय प्रमुख उत्तम निरौलाले भन्नुभयो, “यसबाट विद्यार्थीमा नियमित पानी पिउने बानीको विकास हुन्छ, प्रशोधित पानी हुने भएकाले शरीर पनि स्वस्थ रहन्छ ।”

कोषले पाइलट परियोजनाको रुपमा एक हजार २०० विद्यार्थीलाई यसखालको बोतल हस्तान्तरण गर्ने जनाएको छ । कोषले पूर्व वडामहामानी कोमल राज्यलक्ष्मीदेवी शाहको ७१ औं जन्मदिनको अवसर पारेर नेपालगञ्जमा ६०० जना विद्यार्थीलाई सो सामग्री हस्तान्तरण गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?