logo
२०८१ बैशाख १४ शुक्रवार



सिन्धुलीमा सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै

शिक्षा |
प्रदेश |


सिन्धुलीमा सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै


बाबुराम देवकोटा
सिन्धुलीमाढी, फागुन ९ गते । सिन्धुली जिल्लामा यो बर्ष ४५ वटा सामुदायिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन हुनेभएको छ । साुमदायिक विद्यालयलाई प्रविधिमैत्री र पठनपाठन कार्यलाई सहज बनाउन सो कार्यक्रम अन्तर्गत ती विद्यालय सङ्घीय सरकारले छनौट गरेको शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जनाएको छ ।

उक्त एकाइका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनाेट भएका विद्यालयमा ईन्टरनेटसहितको कम्प्युटर प्रयोगशाला (आईसिटी ल्याब) सञ्चालन गरिने बताइएको छ । प्रयोगशाला सञ्चालन गर्न प्रतिविद्यालय ६ लाख ५० हजार रुपियाँका दरले बजेट उपलब्ध हुने शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत दुर्गाप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि आर्थिक वर्ष २०७८–७९ मा देशभरका चार हजार १५७ विद्यालय छनाेट भएकोमा सिन्धुली जिल्लाबाट ४५ वटा विद्यालय छनोटमा परेका छन् । नौवटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा सबैभन्दा बढी कमलामाई नगरपालिकामा १० वटा र सबैभन्दा थोरै घ्याङलेख गाउँपालिकाबाट दुईवटा विद्यालय छनोटमा परेको उहाँले जानकारी दिनुभयो ।

दुधौली नगरपालिकाबाट आठवटा, तीनपाटन गाउँपालिकाबाट छ वटा, फिक्कल गाउँपालिकाबाट छ वटा, गोलन्जोर गाउँपालिकाबाट चार वटा, सुनकोसी गाउँपालिकाबाट तीन वटा, मरिण गाउँपालिकाबाट तीन वटा र हरिहरपुरगढी गाउँपालिकाबाट तीन वटा विद्यालय छनाेट भएको कार्यालयले जनाएको छ ।

गतवर्ष पनि जिल्लामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५१ वटा विद्यालय छनाेट भएका थिए । कमलामाई नगरपालिका–२ भद्रकालीस्थित जनजागृति मावि निबुवाटारले पनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गतवर्ष आईसिटी ल्याब स्थापना गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद देवकोटाले विद्यालयको पठनपाठन कार्यलाई सहज र प्रविधिमैत्री बनाउने काम गरिएको जानकारी दिनुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १८ वटा डेक्सटप कम्प्युटर र आठ वटा ल्यापटप खरिद गरी पठनपाठनको व्यवस्था मिलाइएको देवकोटाले बताउनुभयो । विद्यार्थीलाई प्रयोगात्मक (प्राक्टिकल) कक्षा सञ्चालन गर्ने योजना रहेको प्रधानाध्यापक देवकोटाले जानकारी दिनुभयो ।

शिक्षा शाखा अधिकृत हितकुमारी पौडेल माध्यमिक तहका सबै विद्यालयमा कम्प्युटर ल्याब र इन्टरनेट पु¥याउने काम भइरहेको बताउनुभयो । विद्यालयमा इन्टरनेट जडानका लागि सङ्घीय सरकारको अनुदानमा १२ हजार रुपियाँ दिने काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाभित्र १८ वटा मावि र दुई निमाविमा कम्प्युटर ल्याब स्थापना भइसकेको छ । सबै २६ वटै माविमा इन्टरनेट जडानको अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?