logo
२०८१ बैशाख २३ आईतवार



शिक्षामा बजेट बढाउन आग्रह

शिक्षा |
राष्ट्रिय |


शिक्षामा बजेट बढाउन आग्रह


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १४ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक सुधारका लागि बजेट वृद्धि गर्ने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनारायण पौडेलसँग शुक्रबार छलफल गर्नुभएको छ ।
छलफलका क्रममा शिक्षामन्त्री पौडेलले विद्यालय शिक्षा, उच्चशिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रमा आवश्यक बजेट अभाव भएको भन्दै शिक्षामा कुल राष्ट्रिय बजेटको २० प्रतिशत पु-याउन आग्रह गर्नुभयो ।

उहाँले सबै माध्यमिक विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला र सूचना तथा प्रविधि, सबै शिक्षकका लागि तालिमको व्यवस्था, विपन्न छात्रवृत्तिको दायरा र रकममा वृद्धि, सात प्रदेशमा नमुना आवासीय केन्द्रीय विद्यालय स्थापना, विद्यालयको नक्साङ्कन, अङ्ग्रेजी, गणित र विज्ञानका लागि तीन हजार शिक्षकका लागि दरबन्दी सिर्जनालगायतका कार्यक्रम मन्त्रालयले योजनामा राखेको बताउनुभयो ।

उहाँले बालविकास शिक्षाका सहजकर्तालाई तलब भत्ता केन्द्रबाट उपलब्ध गराउने, अस्थायी र उमेर हद नाघेका शिक्षकका लागि गोल्डेन हेन्डसेक कार्यक्रम लागू गर्ने मन्त्रालयको योजना रहेको पनि बताउनुभयो ।
योजना आयोगका उपाध्यक्ष डा. पौडेलले शिक्षामा गत आर्थिक वर्षको भन्दा बजेट थप गर्ने जानकारी दिँदै भन्नुभयो, “शिक्षामा बजेट थप गर्ने विषयमा सहमत छु । शिक्षामा बजेट थपिँदा सुदूरपश्चिम, कर्णालीका विद्यालयको गुणस्तर पनि वृद्धि हुनपर्छ । ”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?