logo
२०८१ बैशाख १४ शुक्रवार



मर्स्याङ्दी गाउँपालिकाद्वारा ३३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

शिक्षा |


मर्स्याङ्दी गाउँपालिकाद्वारा ३३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान


बेलिना थापा
लमजुङ, फागुन १९ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को कार्यक्रमअन्तर्गत प्राविधिक शिक्षा अध्ययन गर्दै गरेका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले छात्रवृत्ति प्रदान गर्नुभएको हो ।

प्राविधिक शिक्षा पढ्दै गरेका गरिब, जेहेन्दार, अनुशासित विद्यार्थीहरुका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । प्राविधिक शिक्षा पढ्ने जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहज बनाउन र थप प्रोत्साहन गराउन छात्रवृत्ति प्रदान गरिएको अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

आवेदन माग गर्दा धेरै विद्यार्थीको आवेदन परेकाले आगामी वर्षमा धेरै बजेट विनियोजन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । यस वर्ष पाँच लाख रुपियाँ विनियोजन गरिएकोमा बजेट कम भएको महसुस भएकाले यसका लागि बढी बजेट आवश्यक पर्ने बताउनुभयो ।

आवेदन खुलाएकोमा ३३ जना विद्यार्थीले आवेदन दिएका थिए । सबैलाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । डिप्लोमा अध्ययनरत विद्यार्थीलाई प्रति विद्यार्थी १५ हजार रुपियाँ र स्नात्तक अध्ययनरत विद्यार्थीलाई प्रति विद्यार्थी २० हजार रुपियाँ प्रदान गरिएको गाउँपालिका अध्यक्ष गुरुङका स्वकीय सचिव सरोज गुरुङले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष होमबहादुर विक, प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्याल, शिक्षा शाखा प्रमुख राजीव सुवर्णकारलगायतको उपस्थिति थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?