logo
२०८१ बैशाख ७ शुक्रवार



विद्यालयको खाजाले विद्यार्थी विद्यालयमा टिक्न थाले

शिक्षा |
प्रदेश |


विद्यालयको खाजाले विद्यार्थी विद्यालयमा टिक्न थाले


नवीन शिशिर विक
बागलुङ, फागुन २३ गते । काठेखोला गाउँपालिका –३ धम्जा माझकटेराको निर्मल प्रा.वि.मा विगत तीन वर्षअघि १२ जना विद्यार्थी थिए । विद्यार्थी सङ्ख्या घटेपछि विद्यालय पायक पर्ने अर्काे विद्यालयसँग गाभिनुपर्ने बाध्यता आयो । भूगोलको दृष्टिले विद्यालय मर्ज गर्न कठिन परेको परिस्थितिमा विद्यालयले विद्यार्थी आकर्षण गर्ने नयाँ योजना बनाएर विद्यार्थीलाई विद्यालयमा खाजा खुवाउन थाल्यो ।

विद्यार्थी आकर्षण गर्न विद्यालयमा निजी विद्यालयका पाठ्यक्रम प्रयोग, अङ्ग्रेजी माध्यमबाट पठनपाठन, विद्यालयमा बालबालिकालाई निःशुल्क खाजा खुवाउने योजना तयार र कार्यान्वयनमा आएपछि अहिले विद्यार्थी टिक्ने र थपिने क्रम जारी छ । दुई वर्षको अवधिमा विद्यार्थी सङ्ख्या ५० पुगेको निर्मल प्राविका शिक्षक प्रेमप्रसाद शर्माले जानकारी दिनुभयो ।

विद्यालयमा खाजा कार्यक्रम लागु हुनुअघि १ बजेपछि साना बालबालिका विद्यालयमा टिकाउन कठिन हुनेगरेको शिक्षकको भनाइ छ । विद्यालयमै अर्गानिक खाजा कार्यान्वयन भएपछि साना बालबालिका पनि विद्यालय समय अवधिभर बस्न थालेका उहाँहरुको भनाइ छ । सरकारले विगत दुई वर्षदेखि विद्यालय खाजा कार्यक्रम सुरु गरेको छ । सरकारले प्रतिविद्यार्थी दैनिक १५ रुपियाँका दरले खाजाखर्च उपलब्ध गराउने प्रधानाध्यापक अविराम थापाले बताउनुभयो ।

विद्यालयमा खाजा तयार गर्न एक जना सहयोगी कर्मचारी राखिएको छ । सहयोगी कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन प्रतिविद्यार्थी एकसय रुपियाँको दरले अभिभावकसँग मासिक सहयोग लिनेगरेको प्रअ थापाले बताउनुभयो । विद्यार्थीलाई दाल भात, आलु, फर्सी, भुजा, चिउरा, रोटीजस्ता परिकार खाजाको रुपमा दिने गरिएको उहाँले बताउनुभयो ।

खाजा कार्यक्रम लागु भएपछि विद्यालयमा जंकफुड पूर्णरुपमा निषेध भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर खत्रीले बताउनुभयो । अभिभावकलाई पनि आर्थिक बोझ कम भएको विद्यालयको बुझाइ छ । एक जना विद्यार्थीले दैनिक २० देखि ५० रुपियाँसम्म खाजामा खर्च गर्दैआएका थिए । भोकले पढ्न मन नगर्ने, घरमा खाजा खान जाने, घर गएपछि फर्केर नआउनेजस्ता समस्या विद्यालयमा खाजा कार्यक्रम सुरु भएपछि समाधान भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?