logo
२०८० चैत्र १६ शुक्रवार



झाेला पाएपछि खुशी छन् भसराज माविका बालबालिका

शिक्षा |
प्रदेश |


झाेला पाएपछि खुशी छन् भसराज माविका बालबालिका


माला कर्ण
कल्याणपुर, फागुन ३० गते । सधै हातमा किताव कपी बोकेर स्कुल आउने गर्नुभएकी परिधि चौधरी सोमबार स्कुल आउँदा झाेलामा किताव कपी लिएर हाँस्दै कक्षाभित्र प्रवेश गर्नुभयो । हिजोसम्म हातमै किताव लिएर आउँदा बोक्न समस्या भए पनि झाेला पाएपछि सुरक्षित र सजिलो तरिकाले स्कुल पुग्दा खुशी लागेको उहाँको भनाइ छ ।

परिधि मात्र होइन, विद्यालयका कक्षा २ मा अध्ययनरत रोकसार खातुन पनि निकै खुशी हुनुहुन्छ । किनकि रोकसारका छिमेकीका बालबालिका झाेला बोकेर सधै कल्याणपुरको बोर्डिङ्ग स्कुल पढन जान्छन् । उहाँसँग ब्याग नभएर सधैँ हातमा त कहिले प्लास्टिकको झोलामा किताब कपी बोकेर स्कुल आउनुहुन्थ्यो । अब झाेला भएपछि आफू पनि झाेलामा किताव कपी बोकेर आएको रोकसारले बताउनुभयो ।

परिधि र रोकसार मात्र नभई सो विद्यालयका कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थी सोमबार झाेला बोकेर स्कुल आए । विद्यार्थीलाई खुशी देखेर विद्यालयका शिक्षक शिक्षिका पनि खुशी हुनुभयो । विद्यालयका लेखापाल भगवतीप्रसाद चौधरीका अनुसार विद्यार्थीले पाएको झाेलाले विद्यालयप्रति आकर्षण बढनुको साथै विद्यार्थीमा हौसला बढेको छ ।

लायन्स क्लब अफ काठमाडौंं डाउन टाउनको सहयोगमा लायन्स क्लब अफ खडकनगर सप्तरीले सोमबार भवानीप्रसाद, सकल प्रसाद, रामप्राद जनता माध्यमिक विद्यालय कल्याणपुरका कक्षा १ देखि ५ सम्मका एक सय ४४ जना विद्यार्थीलाई झाेला वितरण गरेको छ ।

झाेला वितरण कार्यक्रममा लायन्स क्लब खडकनगरका सल्लाहकार एंव मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्णले विद्यार्थीलाई अनुशासित र मिहनेती हुन आग्रह गर्नुभयो । विद्यार्थीलाई  दिइएको झाेलाले उनीहरुमा शिक्षाप्रति थप उर्जा बढने र निजी विद्यालयको जस्तै अनुभव विद्यार्थीले गर्ने उहाँले बताउनुभयो । लायन्स क्लब एक विशुद्ध समाजिक सेवामा समर्पित संस्था रहेकाले यसको ज्ञान र सेवामूलक कार्य सबैको लागि आवश्यक रहेको बताउनुभयो ।

लायन्स क्लब अफ खडकनगर सप्तरीको पहलमा आएको झाेला वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रोहितप्रसाद सिंह, लायन्स क्लब अफ खडकनगरका उपाध्यक्ष शत्रुधनप्रसाद साह अजाद, सचिव ध्रुबकुमार मण्डल, लायन्स क्लब सदस्य एंव नेकपा माओवादी केन्द्र खडक नगरपालिकाका अध्यक्ष जयप्रकाश चौधरीलगायतको सहभागिता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?