logo
२०८१ बैशाख ८ शनिवार



छत्तीस करोडमा पुस्तकालय बन्दै

शिक्षा |


छत्तीस करोडमा पुस्तकालय बन्दै


गोरखापत्र समाचारदाचा

काठमाडौँ, चैत २ गते । सरकारले त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्चशिक्षा सुधार केन्द्रका रूपमा विकास गर्नेभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्चशिक्षामा रहँदै आएको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया र विश्वविद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी विश्वविद्यालयलाई सुधार केन्द्र बनाउन मन्त्रालयमा छलफल भइरहेको जानकारी दिनुभयो । मङ्गलबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री पौडेलले भन्न्ुभयो, “सरकारले उच्चशिक्षालाई आमूल रूपमा सुधार गर्ने सङ्कल्प गरेको छ, उच्चशिक्षा सुधारका लागि त्रिभुवन विश्वविद्यालयले अग्रसरता देखाउनुपर्ने बेला भएको छ । ”

उच्चशिक्षाको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया, त्रिभुवन विश्वविद्यालयको भौतिक निर्माण, कोषलाई परिमार्जन गरेर सेन्टर अफ एक्सिलेन्सीका रूपमा अगाडि बढाउने गरी शिक्षा मन्त्रालय छलफलमा लागेको पौडेलले जानकारी दिनुभयो । भारत सरकारको सहयोगमा पुस्तकालय भवन निर्माण हुन लागेको हो । कुल ३६ करोड ११ लाख ६६ हजार २९१ रुपियाँ लागतमा पुस्तकालय भवन निर्माण हुन लागेको हो । भवन १५ महिनामा हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको शैक्षिक पूर्वाधारका निम्ति भारत सरकारले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । “त्रिभुवन विश्वविद्यालयको पुस्तकालय भवन निर्माणको शिलान्यास गर्न पाउँदा खुसी लागेको छ,” उहाँले भन्नुभयो, “भारत सरकारको पुनर्निर्माण परियोजनाअन्तर्गत अनुदान प्रणालीमा निर्माण हुन लागेको यो सबैभन्दा ठूलो लगानी हो । ”

भारतले नेपाललाई शिक्षा क्षेत्रमा ५० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग गरेको छ । पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठले २०१६ सालमा स्थापित पुस्तकालयमा हाल चार लाख ३० हजार पुस्तक, चार लाख ५० हजारभन्दा बढी ई–बुक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेसन तथा जर्नल र म्यागजिन भएको जानकारी दिनुभयो । पुस्तकालय निर्माणपछि घरमै बसेर २४ सै घण्टा अध्ययन गर्न सकिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?