logo
२०८१ बैशाख १४ शुक्रवार



आन्दोलन नगर्न शिक्षामन्त्रीको आग्रह

शिक्षा |
राष्ट्रिय |


आन्दोलन नगर्न शिक्षामन्त्रीको आग्रह


गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ३ गते । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा बन्द, हडताल तथा आन्दोलनका गतिविधि नगर्न प्राध्यापकहरूलाई आग्रह गर्नुभएको छ । नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग बुधबार मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले ससाना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक मर्यादाअनुरूप माग प्रस्तुत गर्न पाइन्छ तर लामो समयसम्म पढाइ अवरुद्ध हुने गरी विश्वविद्यालयमा गरिएको हडताल रोक्नु प-यो ।”

लामो समयदेखि आंशिक प्राध्यापक तथा विभिन्न विद्यार्थी सङ्गठनको आन्दोलनका कारण पछिल्लो समय त्रिभुवन विश्वविद्यालय ठप्प छ । सबै विश्वविद्यालयका सेवा आयोगहरूमा एकरूपता कायम गरिने पौडेलले बताउनुभयो ।
प्राध्यापकका सेवासुविधा सम्बन्धमा सबै राष्ट्रसेवकलाई एउटै मापदण्ड बनाएर अघि बढ्ने योजनामा रहेको मन्त्री पौडेलले सो अवसरमा जानकारी गराउनुभयो ।

विश्वविद्यालयहरूले समस्या परेको बेला मन्त्रालयमा आउने तर अरू जिम्मेवारी, अनुशासन र नियमन सुधारका अवस्थामा स्वायत्त भएको भन्ने गरिएकोप्रति मन्त्री पौडेलले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “विश्वविद्यालयमा नियमन संयन्त्र र स्वायत्तताको स्पष्ट खाका तयार गर्नुपर्ने भएको छ ।” उहाँले त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयका रूपमा विकास गर्ने तयारी रहेको जानकारी दिनुभयो । नेपाल प्राध्यापक सङ्घका तर्फबाट बुद्धबहादुर थापाले प्राध्यापकहरूको मर्यादाक्रम २०७४ सालको मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएर राजपत्रमा निस्किसकेकाले कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?