logo
२०८१ जेष्ठ १ मंगलवार



चलचित्र व्यापारको तथ्याङ्क निर्माताको मोबाइलमै

मनोरञ्जन |


चलचित्र व्यापारको तथ्याङ्क निर्माताको मोबाइलमै


गोरखापत्र समाचारदाता

काठमाडौंँ, भदौ १० गते । देशैभर बक्स अफिस जडान भएसँगै वास्तविक तथ्याङ्क पनि आउन थालेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बक्स अफिसको ‘रियल टाइम डाटा’ आउन थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देशैभर बक्स अफिस जडान काम सकिसकेको छ । तथ्याङ्क आउन पनि थालेको छ । ”
निर्माताहरूले पनि आफ्नो मोबाइलमार्फत सबै तथ्याङ्क ‘लाइभ डाटा’ अनलाइनमार्फत हेर्न सक्ने जानकारी दिनुभयो । लामो समयदेखि बहसमा रहेको बक्स अफिस तयारीका लागि एक वर्षको समय लिएर देशभर लागू गरिएको छ । बक्स अफिसको प्राविधिक पक्ष हेर्नुहुने प्राविधिक सुनील नेपालीका अनुसार बक्स अफिसका कारण निर्माताले सबै तथ्याङ्क ‘लाइभ डाटा’ अनलाइनमार्फत हेर्न सक्ने छन् । यसका लागि सेवाग्राहीले विकास बोर्डबाट युजर आइडी र पासवर्ड लिएको हुनुपर्छ ।
उहाँले बक्स अफिसको एप बन्न एक महिना लाग्ने जानकारी दिँदै अहिले अनलाइनमार्फत मोबाइलमा नै सबै तथ्याङ्क हेर्न सकिने बताउनुभयो । बक्स अफिस हलहरूमा फिल्म लागेपछि आर्थिक कारोबारको हिसाब पारदर्शी बनाउने प्रणाली हो । यो प्रणाली लागू भएपछि सबै हलले विद्युतीय उपकरणबाट मात्र टिकटको कारोबार गर्नुपर्छ । हलहरूले गर्ने सम्पूर्ण आर्थिक कारोबारको रिपोर्ट ‘इन्टरनेट’को माध्यमबाट केन्द्रीय ‘डाटाबेस सर्भर’मा जम्मा हुन्छ ।
उक्त सर्भरको नियमन भने गभर्मेन्ट इन्ट्रिग्रेटेड डाटा सेन्टर (जीआईडीसी)ले गर्छन् । यो प्रणाली जडान भएपछि कुन हलमा कति टिकट बिक्री भयो भनेर आधिकारिक तथ्याङ्क तत्काल लिन सकिन्छ । आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि उपत्यकामा बक्स अफिस लागू गरिएको थियो । गत जेठ १८ गतेबाट प्रदेश नं. २ बाट थालनी गरियो भने आर्थिक वर्ष २०७६/७७ को सुरुआतसँगै देशैभर बक्स अफिस प्रणाली लागू गर्ने चलचित्र विकास बोर्डले जनाएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?