logo
२०८१ जेष्ठ २ बुधवार



नेपाली चलचित्र बजार: दशैँ आयो आशा थपियो

मनोरञ्जन |


नेपाली चलचित्र बजार:  दशैँ आयो आशा थपियो


गोरखापत्र समाचारदाता

काठमाडौंँ, असोज ९ गते । पछिल्लो समय चलचित्र बक्स अफिस सङ्कलनमा लगातार घाटा बेहोरिरहेको चलचित्र उद्योगले दशैँ आएपछि केही राहत भएको छ । आशा गरिएका चलचित्र पनि दर्शकले मन नपराएपछि चलचित्र उद्योग नै निराशामा परिणत भएको थियो । गत शुक्रबार चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले प्रदर्शन आएसँगै व्यापार अहिले माथि उठेको छ ।
दशैँका लागि छ माया छपक्कै, रातो टीका निधारमा, घामड शेरे, लभ डायरिज र हिरो नं. वान प्रदर्शनीमा आउने भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई भन्नुहुन्छ, “चलचित्र चल्न पनि चाडपर्व आउनुपर्छ जस्तो लाग्छ, अब दशँैमा प्रदर्शनी हुने चलचित्रले राम्रो व्यापार गर्ने आशा गरौँ । ”
गत वर्षको दशैँमा प्रदर्शनमा आएको सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा ३’ले १८ करोड रुपियाँको व्यापार गरेको थियो तर करिब छ महिनाको समयावधिमा चलचित्रहरूले दर्शक तान्न सकेका थिएनन् । हरेक साताको शुक्रबार प्रदर्शनमा आएका चलचित्रले पोस्टरको पैसासमेत उठाउन नसक्दा सिनेमा क्षेत्रै धराशयी हुने अवस्थामा पुगेको हो कि भन्ने चिन्ता चलचित्रकर्मीमा थियो । फलस्वरूप यस वर्ष चलचित्र निर्माणमा नै करिब एक तिहाइले कमी आएको छ ।
चलचित्र समीक्षक समाजका विष्णु शर्माले नयाँ वर्षमा प्रदर्शनमा आएको चलचित्र मेरो हजुर ३, दाल भात तरकारी र जात्रै जात्राले समीक्षा र व्यापारमा राम्रो छाप छाडे पनि अरू चलचित्रले भने राम्रो व्यापार गर्न नसकेको जानकारी दिनुभयो । उहाँले प्रायः चलचित्रलाई भित्तामा टाँसेको पोस्टरको पैसासमेत उठाउन कठिन परेको बताउनुहुन्छ ।
वितरक÷निर्माता सुनील मानन्धरले अहिले कुनै चलचित्रले वितरकको पैसा मात्र उठायो भने पनि त्यसलाई हिट मान्नुपर्ने अवस्था आएको बताउँछन् । उहाँ भन्नुहुन्छ, “नेपाली चलचित्र हलमा चल्नै छाडेका छन् । अब दशैँ आयो केही आशा थपिएको छ । ”
चलचित्रको व्यापार राम्रो रहेको गलत रिपोर्ट आउँदा नयाँ निर्माताहरू पनि आएर फस्ने अवस्था रहेको मानन्धरले बताउनुभयो । नेपाली चलचित्रमा पात्र फेरिए पनि कथा उही छ, उहाँ थप्नुहुन्छ, “मैले यो क्षेत्रमा काम गरेको दुई दशक भयो, पहिले जुन कथामा फिल्म बन्थ्यो, अहिले पनि त्यही कथामा बनिरहेको छ, फरक भनेको कलाकार मात्र हुन् । यसले गर्दा पनि चलचित्र चल्न छाडेको हो । ”
नेपाली फिल्मको कथा र मेकिङ नै कमजोर रहेको फिल्मकर्मीहरूको मत रहेको छ । अब फिल्म मेकरले निर्माणमै गुणस्तरमा ध्यान दिन आवश्यक छ, उहाँले प्रस्ट पार्नुभयो ।
यता अध्यक्ष भट्टराईले विदेशी र नेपाली चलचित्रसँगै प्रदर्शन हुनाले पनि व्यापारमा असर पर्ने जानकारी दिनुभयो । उहाँले राम्रो चलचित्र राम्रै व्यापार रहेको अनुभव सुनाउँदै दर्शक रिझाउने कथावस्तु नभएका कारणले दर्शकको आकर्षण घटेको हुन सक्ने जानकारी दिनभयो । “दर्शक हलमा जिज्ञासा र उत्सुकता लिएर जाने र चलचित्र कथावस्तु एउटै प्रकारको हुँदा नराम्रो असर पर्न सक्छ । अब दशैँको अवसरमा राम्रो ब्यानरको चलचित्र प्रदर्शनी हुने कारण नेपाली चलचित्र उद्योगमाथि जाने आशा राखेका छौँ”, भट्टराईले बताउनुभयो ।
निर्माता तथा नेपाली चलचित्र प्रथम नायिका भुवन चन्दले चलचित्रको नियम र कानुनको राम्रो पालना नभएर पनि सिनेमा चल्न छोडेको बताउनुभयो । दर्शकले कस्तो खालको चलचित्र मन पराउँछन् भन्ने टुङ्गो नै छैन । दर्शकलाई चित्त बुझ्ने फिल्म नबनेकाले चलचित्रको व्यापार घटेको हुनुपर्छ । यो दशैँमा ठूलो ब्यानरको चलचित्र आउने तयारीमा छ, अब अलि राम्रो हुने आशा छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?