logo
२०८१ जेष्ठ १ मंगलवार



दशैँमा पनि फस्टाएन चलचित्र उद्योग

मनोरञ्जन |


दशैँमा पनि फस्टाएन चलचित्र उद्योग



गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १८ गते । दशैँमा चलचित्र उद्योगलाई फाइदा पुग्ने विश्वास लिए पनि सिनेमा घरसम्म जान अल्छी मान्दैछन् दर्शक ।
मोबाइल, ल्यापटप लगायत डिजिटल उपकरणमा अनुकूल समयमा विभिन्न काम गर्दै चलचित्र हेर्न सहज बन्दै छ । पछिल्लो समय हलमा चलचित्र प्रदर्शन भएसँगै सामाजिक सञ्जालमा लिक भएपछि दर्शकहरू घरमा नै बसेर चलचित्र हेर्न रुचाउँदै छन् ।
सामाजिक सञ्जालमा लिक भएको फिल्म ‘भाइरल’ नै हुन्छ, नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दले बताउनुभयो । अहिले प्रविधिको विकाससँगै सिनेमा घरमा चलचित्र हेर्न जानुपर्छ भन्ने छैन । घरमा नै बसी बसी हेर्न पाइन्छ ।
विगत केही महिनादेखि खस्किएको चलचित्र उद्योग दशैँमा केही राम्रो हुने आशा गरिए पनि त्यति राम्रो नभएको उहाँको अनुभव छ । ‘रातो टीका निधारमा’ चलचित्रले दर्शकको मन तान्ने विश्वास थियो भन्दै चन्द भन्नुहुन्छ, ‘तर सो चलचित्र सिनेमा घरमा एक हप्ता पनि टिक्न सकेन ।’
यस्तै निर्माता राजीव श्रेष्ठले पनि आफूले लगानी गरेको चलचित्रलाई दर्शकले माया नगरेको गुनासो पोख्नुभयो । चलचित्र उद्योगमा लगानी गर्नु भनेको आपूm मात्र डुब्नु हो, जस्तो लाग्ने गरेको बताउँदै उहाँले थप्नुभयो, ‘जुन चलचित्र पनि युट्युबमा लिक हुन्छ, अनि सिनेमा घरमा दर्शक पुगुन् कसरी ?’
एक त समयको बचत, अर्को सहज पहँुच भएको छ डिजिटल प्लेटफर्म । फिल्म हलसम्म आउजाउको समय जोगिने, घरमा नै अन्य कार्य गर्दै, विश्राम गर्दै फिल्म हेर्न सकिने हुँदा हलसम्म दर्शकको आकर्षण घट्दै गएको हो ।
चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी हलहरू सुविधासम्पन्न भएपछि दर्शक हलमा जाने दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘‘हलमा एसीसहितको सुविधा हुने हो र टिकट दर बहुसङ्ख्यक नागरिकको पहुँचमा हुने हो भने एकैछिनका लागि गर्मी छल्न र आनन्दको अनुभूति गर्न दर्शक हलसम्म आउँछन् ।’’
एसी नहुने हलहरूले दर्शकलाई अनिवार्य रूपमा स्तरीय सेवा दिनुपर्ने अवस्था आइसकेको अधिकारीको भनाइ छ । फिल्म हेराइ सहज, सुविधाजनक र सस्तो हुनुपर्ने अनिवार्य शर्त जस्तै बनेको उहाँको मत छ ।
हल सञ्चालकहरूले आर्थिक हिसाब किताब पारदर्शी बनाई पूर्वाधारका लागि राज्यसँग सहुलियत माग गर्नुपर्ने उहाँले बताउनुभयो । अधिकारी भन्नुहुन्छ, ‘‘कारोबार प्रष्ट हुनुपर्छ, राज्यलाई कर तिरौँ । राज्यबाट सुविधा मागौँ । हल घाटामा गए राज्यले सहयोग गर्नुपर्छ ।’’
दर्शकले हलसम्म पुग्न अनेक कष्ट झेल्नुपर्छ । टिकट बुक गर्न र टिकटको मूल्य तिर्न सहज भए पनि हलसम्म पुग्न लामो समय लाग्छ । ट्राफिक जामलगायत कारणले लाग्ने समयभन्दा बढी समय फिल्म हेर्नकै लागि छुट्याउनुपर्ने हुन्छ । व्यस्त दैनिकीमा छोटो समयको फिल्मी मनोरञ्जनका लागि लामो समय खर्चनुपर्ने बाध्यता छ । डिजिटल प्लेटफर्म प्रयोग गरी आम्दानी गर्न सकिने बहस भइरहँदा दर्शक पनि डिजिटल प्लेटफर्ममा आकर्षित हुन
थालेका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?